काठमाडौं, ९ आषाढ । बुधबार अपरान्हसम्म नेपालमा थप २ हजार ४ सय २१ जनामा कोरोनाभाइरस सङ्क्रमण देखा परेको छ भने विगत २४ घण्टामा जीवन गुमाउनेहरुसहित यस अगाडि केन्द्रीय तथ्यांकमा समाविष्ट हुन छुटेकाहरु गरी थप ८१ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मृतक मध्ये पछिल्लो २४ घण्टामा थप ५२ जना सङ्क्रमितको मृत्यु भएको र विभिन्न मितिमा मृत्यु भएर तथ्यांकमा समाविष्ट हुन छुटेकाहरुको २९ रहेको छ ।
मन्त्रालयका अनुसार विगत २४ घण्टामा १२ हजार ४ सय १४ जनाको पीसीआर र एन्टिजन परीक्षण गरिएको थियो।
सो अवधिमा ३ हजार ५ सय ५८ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।
यससँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ६ लाख ५६ हजारभन्दा बढी भएको छ भने मृतकको सङ्ख्या ८ हजार ८ सय ९४ पुगेको छ।
केही सातायता काठमाडौं उपत्यका र देशभरि फेला पर्ने सङ्क्रमितको सङ्ख्या ओरालो लागेको तथ्याङ्कले देखाउँछ।
मन्त्रालयका अनुसार विगत २४ घण्टामा भक्तपुरमा ५७, ललितपुरमा ९४ र काठमाडौंमा ३ सय ४६ गरी उपत्यकामा कुल ४ सय ९७ जनामा कोभिड पुष्टि भएको हो।
मन्त्रालयका अनुसार अहिले देशभरि ५० हजार ५ सय २० जनामा सक्रिय सङ्क्रमण छ।
तीमध्ये ४७ हजार २ सय ८६ जना घरमै छन् भने ३ हजार २ सय ३४ जना संस्थागत आइसोलेशनमा भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये अहिले ७ सय ३४ जना र आईसीयूमा २ सय १३ जना भेन्टिलेटरमा छन्।
भारतको अवस्था
भारत सरकारका अनुसार अहिलेसम्म तीन करोडभन्दा बढी मानिसमा कोभिड पुष्टि भइसकेको छ।
नेपालसँग सीमा जोडिएको भारत कोरोनाभाइरसबाट अतिप्रभावित देशको सूचीमा अमेरिकापछि दोस्रो स्थानमा छ।
त्यहाँ कोभिडबाट मृत्यु हुने मानिसको सङ्ख्या ३ लाख ९० हजार नाघेको छ। तर केही सातादेखि दैनिक पुष्टि हुने सङ्क्रमितको सङ्ख्या घटेको देखिन्छ।
सबैभन्दा बढी सङ्क्रमित महाराष्ट्र राज्यमा छन् जहाँ ५९ लाख ८७ हजार जनाभन्दा बढी सङ्क्रमित छन्।
नेपालसँग जोडिएका राज्यमध्ये उत्तर प्रदेशमा १७ लाख चार हजार, पश्चिम बङ्गालमा १४ लाख ८५ हजार, बिहारमा सात लाख २० हजार र उत्तराखण्डमा ३ लाख ३८ हजारभन्दा केही बढी मानिस कोभिडबाट पीडित छन्।
- भारतमा बुधवार बिहानसम्मको तथ्याङ्क
- निकोः २,८९,९४,८५५ (९५.५६ प्रतिशत)
- सक्रिय सङ्क्रमणः ६,४३,१९४ (२.१४ प्रतिशत)
- मृत्युः ३,९०,६६० (१.३० प्रतिशत)
(बीबीसीबाट)


















