Prakash Adhikari June 23, 2021

काठमाडौं, ९ आषाढ । नेपाल सुुनचादी, रत्न तथा आभूषण महासंघले निषेधाज्ञा खुकुलो भएसंगै सुनचाँदीको आयात र बैंकबाट हुने बिक्रीको परिमाण बढाउन माग गरेको छ ।

महासंघका महासचिव किसान सुनारले आषाढ ८ गते मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै उपत्यकाका जिल्ला प्रशासन कार्यालयले सोही दिनदेखि तोकिएको दिन र समयमा सुन, चाँदी, रत्नका गहना र आभुषणहरुका पसल खोल्न दिएकोले अब बजार सुचारु बनाउन सुनको कोटा बढाउन माग गर्नुभएको छ ।

लामो समय पश्चात बजार खुलेको र निकट भविष्यमा नै प्रमुख चाड–पर्वहरु आउने भएकोले विगतमा विक्री–वितरण नभएको सुनको परिमाण समेतलाई मनन गर्दै नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले दैनिक ३० के.जी. सुन विक्री वितरणको अविलम्ब व्यवस्था गर्न नेपाल राष्ट्र बैंक समक्ष अनुरोध गरेको छ ।

साविकमा नेपालमा दैनिक २० के.जी. सुन विक्री वितरण हुँदै आएको थियो ।

गत बैशाख १६ गतेदेखि काठमाडौं उपत्यका र त्यसपछि हरेक जिल्ला प्रशासन कार्यालयले जिल्लामा कोरोना संक्रमितको संख्या र संक्रमण विस्तारको स्वरुप हेरेर निषेधाज्ञा लगाएकोले नेपालमा सुन,चाँदी,रत्न र आभूषणको बजार पनि प्रभावित भएको थियो ।

Share Now

Leave a comment.