
काठमाडौं, २७ आषाढ । नबिल बैंकले युनाइटेड फाइनान्स प्राप्ति गरेर आजबाट एकीकृत कारोबार शुरु गरेको छ।
नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेलले एक कार्यक्रमकाबीच एकीकृत शुभारम्भ गर्नुभएको छ ।
नेपाल राष्ट्र बैंकले गत १८ गते अन्तिम स्वीकृति दिएपछि आजबाट एकीकृत कारोबार भएको हो। नबिल बैंकको नामबाटै एकीकृत कारोबार सुरु भएको छ।
नबिलले युनाइटेडलाई १ं००ः ३५ को स्वाप अनुपातमा प्राप्ति गरेको हो। युनाइटेड फाइनान्सको सय कित्ता सेयरबराबर नबिलको ३५ कित्ता कायम गरी नबिलले युनाइटेडलाई प्राप्ती गरेको हो ।
नबिल बैंकले पहिलोपटक संस्था प्राप्ति गरेको हो। नबिल र युनाइटेड दुवै विदेशी संयुक्त लगानीका वित्तीय संस्था हुन्।
नबिलमा ५० प्रतिशत लगानी विदेशी छ भने युनाइटेडमा भारतको मुथूट फाइनान्सको लगानी छ। नबिलमा जस्तै युनाइटेडमा पनि चौधरी समूहको लगानी छ।
युनाइटेडमा वसन्त चौधरीको लगानी छ।
नबिलको मर्जरअघि चुक्ता पुँजी १३ अर्ब ४८ करोड रुपैयाँ थियो। साबिकको युनाइटेड फाइनान्सको १ अर्ब ४ करोड थियो। अब युनाइटेडको पूँजीबाट नबिलमा ३६ करोड ४२ लाख रुपैयाँ थपिएर पूँजी १३ अर्ब ८४ करोड ४४ लाख रुपैयाँ पुगेको छ।
अहिले नबिलको जगेडा कोष १७ अर्ब ५२ करोड ६८ लाख रुपैयाँ थियो र युनाइटेडको ६१ करोड ९१ लाख रुपैयाँ थियो। शेयर आदानप्रदान अनुपातबाट अर्को ६७ करोड ६५ लाख रुपैयाँ पनि जगेडा कोषमा थपिएको छ। नबिलको अहिले जगेडा कोष १८ अर्ब ८२ करोड २५ लाख रुपैयाँको भएको छ।
नबिलको सम्पत्तिमा युनाइटेडको ८ अर्ब ३७ करोड निक्षेप थपिएर छ भने २ खर्ब १६ अर्ब ७० करोड पुगेको छ भने कर्जा ६ अर्ब २७ करोड थपिएर २ खर्ब नाघेको छ।