Prakash Adhikari July 25, 2021

काठमाडौं, १० साउन । कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तलाई बलात्कारपछि निर्ममतापूर्वक हत्या गर्ने अपराधीलाई पक्राउ गरी कानूनको कठघरामा उभ्याउन प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री र प्रहरी महानिरीक्षकलाई निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री देउवाले आज गृहमन्त्री बालकृष्ण खाँण र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई आफ्नो निवासमा बोलाएर हत्याराको खोजीमा हालसम्म भएको जानकारी लिदैं दोषीलाई शीघ्र पक्रेर कानूनको कठघारामा उभ्याउन निर्देशन दिनुभएको हो ।

तीन बर्ष अगाडि २०७५ साउन १० गते बेपत्ता भएकी निर्मला दोस्रो दिन भीमदत्त नगरपालिका–१८ को महेन्द्रनगर उल्टाखाम सडक खण्ड छेउको उखुबारीमा मृत अवस्थामा भेटिनुभएको थियो।

निर्मलाको मृत शरीरबाट भेजाइनल स्वाव परीक्षण गरेर लाशको पोष्टमार्टम गर्दा बलात्कारपछि हत्या गरिएको पत्ता लागेको थियो ।

निर्मलाको हत्यारा पत्ता लागउनका लागि नेपाल प्रहरी र सरकारी तवरबाट केन्द्रदेखि जिल्लासम्म विभिन्न छानवीन टोलीहरु परिचालन गरिए पनि पूर्ववर्ति सरकार हत्यारो पत्ता लगाउन असमर्थ भएको थियो ।

निर्मलाको हत्या भएको तेस्रो बर्षमा पीडित आफन्तहरुले आइतबार महेन्द्रनगरमा र्याली निकालेर प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई छिटो भन्दा छिटो हत्यारा पत्ता लगाई कडाभन्दा कडा कारबाही गर्न माग गरेका थिए ।

र्याली पछि निर्मलाका बुवा यज्ञराज र कान्छी आमा लक्ष्मीले प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेलाई ज्ञापनपत्र बुझाउनुभएको थियो।

महेन्द्रनगरको मदन चोकमा भेला भएका महिला अधिकारकर्मी र आफन्तहरु र्‍यालीसहित महेन्द्रनगर बजार परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाए पछि र्‍याली समापन गरिएको थियो ।

Share Now

Leave a comment.