Prakash Adhikari July 30, 2021

काठमाडौँ, १५ साउन ।  नेपाली काङ्ग्रेसले दार्चुलाको खलङ्गा आउँदै गर्दा तुइनबाट महाकाली नदी तर्ने क्रममा एक नेपाली युवा नदीमा वेपत्ता भएको घटनासँग सम्बन्धित प्रश्नप्रति सरकारको ध्यानाकर्षण गराएको छ ।

भारतीय एसएसबीका जवानले तुइन काटिदिएका कारण घटना भएको समाचार सार्वजनिक भएपश्चात जिल्ला पार्टी सभापति ललितसिंह बोहरा र अन्य नेतृत्व तहले स्थानीयरूपमा गरेको थप सम्पर्क पश्चात सोही विवरण केन्द्रमा प्राप्त भएको काङ्ग्रेसले जनाएको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत नदी तर्ने क्रममा तुइन काटिदिएपछि ३५ वर्षीय युवा जयसिंह धामी नदीमा खसेर बेपत्ता भएको घटना अत्यन्तै दुःखद मात्रै होइन अमानवीय र अत्यन्तै आपत्तिजनक भएको उल्लेख गर्नुभएको छ ।

घटनाको सम्पूर्ण वास्तविकता सार्वजनिक गर्न, भारतीय पक्षसँग यसबारेमा सम्वाद गर्न, आफ्नो नागरिकलाई न्याय दिलाउन, सम्बन्धित परिवारजनलाई राहत दिन/दिलाउन पार्टीका तर्फबाट उहाँले सरकारसँग माग गर्नुभएको छ । आफ्नो नागरिकको जीवन सुरक्षा गर्ने दायित्व बोकेको सरकारले यसलाई अत्यन्तै गम्भीरतापूर्वक लिएर आवश्यक गम्भीर पहलकदमी गर्ने प्रवक्ता शर्माले विश्वास लिनुभएको छ ।

Share Now

Leave a comment.