
काठमाडौँ, १६ साउन । ऐतिहासिक काष्ठमण्डप मन्दिरको मूल गजुर भित्र्याइएको छ । काष्ठमण्डप पुनःनिर्माणका क्रममा धुरीमा राखिने गजुर बिहीबार एक धार्मिक कार्यक्रमबीच भित्र्याइएको हो । काष्ठमण्डपसँगैको श्रीखण्डतरुमुल महाविहारभित्र तीन दिनसम्म गुप्त तान्त्रिक पूजा गरी उक्त गजुरलाई भित्र्याइएको हो ।
गजुर काष्ठमण्डपभित्र बिसाइसकेपछि सिँख्वःमूबहाःया पण्डित प्रा.यज्ञमानपति वज्राचार्यको नेतृत्वमा सोही बहालका गुर्जुले चर्या नृत्यसहित प्रतिस्थापन पूजा गर्नुभएको थियो ।
सालको काठबाट बनाइएको गजुरमा १३ चक्की छन् । यसलाई तामाको पाताले लेपन गरेर धुरीमा स्थापना गरिने काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिनुभयो । अध्यक्ष शाक्यका अनुसार यही साउन महिनाभित्रै गजुरलाई काष्ठमण्डपमा स्थापना गरिनेछ ।
“काम सकिने चरणमा पुगेको छ”, उहाँले भन्नुभयो, “यसलाई धुरीमा स्थापना गरेपछि काष्ठमण्डप पुनःनिर्माण सम्पन्न हुनेछ ।” विसं २०७२ को वैशाख १२ गते आएको भूकम्पले काष्ठमण्डप पूर्णरुपमा क्षति भएको थियो । सातौं शताब्दीमा निर्माण गरिएको यस सम्पदा पुनःनिर्माणको लागि काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोग गरेको छ ।
पुनःर्निर्माणको काम समितिले २०७५ को वैशाखदेखि शुरु गरेको हो । निर्माणको लागि कामपाले हालसम्मममा रु ११ करोड ५० लाख दिइसकेको छ । गजुर छानोमा राख्नुअघि विधिवत्रूपमा पुनःएक दिनको पूजा कर्म बाँकी छ । उक्त सम्पदा पुनःनिर्मणका लागि जम्मा १७ हजार ५८ क्युफिट काठ आवश्यक पर्दछ । केही यस अघिकै पुराना काठको प्रयोग भए पनि नयाँ केही काठ भने टिम्बर कर्पोरेसन अफ नेपालसँग लिखित सम्झौता गरी ल्याइएको हो ।