Prakash Adhikari August 29, 2021

काठमाडौं, १३ भाद्र। श्रीलंकन एयरलाइन्सले देशको राजधानी कोलम्बोबाट सिधा नेपालको नेपालमा राजधानीमा हवाई उडान गर्ने अनुमति प्राप्त गरेको छ ।

नागरिक उड्डयन प्राधिकरणले पहिलो चरणमा २ वटा उडान भर्नका लागि अनुमति प्रदान गरेको हो ।

नेपालमा हवाई उडानका लागि लामो समयदेखि गरेको श्रीलंकन एयरलाइन्सको प्रयास अहिले आएर सफल भएको क्यानको भनाइ छ ।

‘पछिल्लो ८÷९ महिनादेखि नेपालमा उडानका लागि श्रीलंकन एयरलाइन्सले अनुमति माग गरेको थियो । अहिले मात्रै स्वीकृत गरिएको छ,’ क्यानले जानकारी दिएको छ ।

क्यान अनुसार एयरलाइन्सले एयरबस ३३३, ३२१ र ३२० विमानमध्ये कुनै एक विमानबाट उडान भर्नेछ ।

क्यानले हाललाई शुरुमा २ वटा उडान अगष्ट ३१ मा पहिलो उडान र सेप्टेम्बर ४ मा दोस्रो उडानका लागि अनुमति प्रदान गरको छ ।

शुरुमा हुने २ वटा हवाई उडानको सेक्युरिटी एसेसमेन्टपछि नियमिततर्फ थप उडानका लागि अनुमति प्रदान गरिनेछ ।
क्यानका अनुसार श्रीलंकाको बन्दरानायके अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भइ मंगलबार र शनिबार विहान ९ः४० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण हुने र सोही विहान १०ः४० बजे त्यसतर्फ प्रस्थान गर्ने तालिका रहेको छ ।

श्रीलंकन एअरलाइन्सलाई क्यानले नियमित उडानको लागि२०६१ सालमा पनि अनुमति दिएको थियो । तर पहिलो उद्घाटन उडान गर्ने दिन भदौ १६ गते नै वैदेशिक रोजगारीका लागि इराक पुगेका १२ जना नेपालीको त्यहाँको सुन्नी अतिवादी संगठन इस्लाम अल सुन्ना समूहले निर्ममतापूर्वक हत्या गर्योे ।

राजधानी काठमाडौ लगायत मुख्य शहरहरुमा भएका वैदेशिक रोजगार कम्पनी र तिनका एजेन्टहरुमाथि खोजी खोजी आक्रमण भयो । देशमा कर्फ्यु लाग्यो । नेपालको सुरक्षा अवस्था खराब हुन गएकोले नेपालको कार्यालय खोल्ने र समुद्घाटन उडान गर्ने कार्यक्रम स्थगित भयो । मुख्य पर्यटकीय सिजनमा भएको त्यो त्रासदीपूर्ण घट्नापछि १७ बर्षसम्म स्थगित हुनपुगेको श्रीलंका र नेपाल जोड्ने श्रीलंकन एअरलाइन्सको प्रयास बल्ल साकार हुन लागेको छ ।

श्रीलंकन एअरलाई नेपालमा नियमित उडान गरी दुई देशबीच पर्यटकीय सम्बन्ध निकट बनाउन पर्यटन व्यवसायी जय देवानले निरन्तर प्रयास गर्नुभएको थियो ।

Share Now

Leave a comment.