Prakash Adhikari February 26, 2018

काठमाडौँ, १४ फागुन(रासस) । नवनियुक्त अर्थमन्त्री डा युवराज खतिवडाले संविधानमा उल्लेख भएका मौलिक हक र राज्यका निर्देशक सिद्धान्तमा उल्लेख भएका आर्थिक विषयलाई कार्यान्वयन गरेर अगाडि बढ्ने बताउनुभएको छ ।

मन्त्रालयमा आज पदबहालीपछि आयोजित समारोहमा उहाँले भन्नुभयो, “संविधानको मर्म र भावनाअनुसार मुलुकको आर्थिक क्षेत्र अगाडि बढ्नेछ ।”

अर्थमन्त्री डा खतिवडाले वाम गठबन्धनका तर्फबाट जनतासमक्ष गरेका प्रतिबद्धतालाई कार्यान्वयन गरेर लैजानु आफ्नो दायित्व भएको उल्लेख गर्दै राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई पनि सँगसँगै लैजाने बताउनुभयो ।

संविधानले लोककल्याणकारी राज्य हुँदै समाजवादउन्मुख हुँदै गर्दा संविधानप्रदत्त लोककल्याणकारी राज्यको भूमिकालाई अग्रणी नेतृत्व दिने जिम्मेवारी लिने क्रममा निजी, सहकारी र सामुदायिक क्षेत्रसँग परिपूरकताका आधारमा सहकार्य गरेर अगाडि बढ्ने उहाँले बताउनुभयो ।

अर्थमन्त्री डा खतिवडाले आर्थिक समृद्धि र गरिबी निवारणमा अवरोध गर्ने सरकारी वित्त व्यवस्थापनमा देखिने अनुशासनहीनताको अन्त्य गर्नुपर्ने जोड दिदैं “सरकारी वित्त प्रणालीमा हामी अनुशासन कायम गराउँछौं र खर्चको प्रभावकारितामा अघि बढ्छौँ,” भन्नुभयो ।

वित्तीय प्रणालीमा स्थायित्व ल्याउनुपर्ने उल्लेख गर्दै उहाँले साधन र स्रोतलाई उत्पादन क्षेत्रमा केन्द्रित गर्नुपर्ने बताउनुभयो ।

अर्थमन्त्री डा खतिवडाले देशमा देखिएको आर्थिक समस्या आन्तरिक कारणबाट भएको उल्लेख गर्दै वित्तीय प्रणालीका संरचनात्मक समस्यालाई सुधार गरेर वित्तीय स्थायित्व ल्याउँछौँ भन्नुभयो ।

उच्च आर्थिक वृद्धिको इञ्जिन निजी क्षेत्र भएकाले आन्तरिक तथा बाह्य क्षेत्रलाई परिचालन गरेर परिकल्पना गरेका विकासका आयोजना र पूर्वाधारलाई अगाडि बढाउने बताउँदै उहाँले व्यापार लगानी र प्रविधि हस्तान्तरणका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक हुने स्पष्ट पार्नुभयो ।

अर्थमन्त्री डा खतिवडाले वैदेशिक सहायतालाई राष्ट्रिय अनुकूल ठूलोरुपमा परिचालन गर्नुपर्ने बताउँदै मानिसको क्षमताको पहिचान संकटकै बेला हुने भएकाले आफूले क्षमता प्रदर्शन गरेर समस्यालाई समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नरको जिम्मेवारी सम्हालीसक्नुभएका डा खतिवडा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिरपरिचित अर्थशास्त्री हुनुहुन्छ ।

समारोहमा अर्थमन्त्रीलाई स्वागत गर्दै अर्थ सचिव शंकरप्रसाद अधिकारीले अर्थमन्त्रीमा डा खतिवडाको नियुक्तले सरकारले अर्थतन्त्र अब कसरी अगाडि बढ्छ भन्ने स्पष्ट सन्देश दिएको उल्लेख गर्दै आगामी दिनमा मुलुक समष्टिगत आर्थिक स्थायित्वतर्फ अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “अबको सरकारको लक्ष्य आर्थिक वृद्धिदर र सामाजिक न्याय नै हो, त्यसलाई अगाडि बढाउनुपर्छ ।”

अर्थ सचिव अधिकारीले संघ र प्रदेशबीचको साझा बुझाइमा संघीयतालाई अगाडि बढाउनुपर्ने चुनौती रहेको पनि बताउनुभयो ।

सो अवसरमा राजश्व सचिव शिशिरकुमार ढुंगानाले अर्थमन्त्री डा खतिवडाको कार्यकालमा मन्त्रालय व्यावसायिकरुपमा अगाडि बढ्ने विश्वास व्यक्त गर्दै विद्यमान आर्थिक अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।

आजै पदबहाली गर्नुभएका नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडाले बैशाख १ गतेबाट इ-पेमेन्ट लागू गर्ने प्रस्ताव सदर गर्ने निर्णयमा हस्ताक्षर गर्नुभएको थियो ।

Share Now

Leave a comment.