Prakash Adhikari February 27, 2018

 

काठमाडौं, १५ फागुन । नेपालमा पेट्रोलियम पदार्थ ल्याउने क्रममा बीच बाटोबाटै भारततर्फ तस्करी हुने घटना बढेको भन्दै आयल निगमले चेतावनी दिएको छ।

नेपालमा भन्दा भारतमा मूल्य बढी भएकाले भारततर्फ पेट्रोलियम पदार्थको तस्करी हुन थालेको अधिकारीहरू बताउँछन्।

ट्याङ्कर धनीहरूले नै मिलेमतो गरी भारतमा पेट्रोलियम पदार्थ बेच्ने गरेको भनिएकोबारे छानबिन थालिएको निगमका अधिकारीहरूले बताएका छन्।

पहिलो चरणमा ट्याङकर व्यवसायी र सम्बन्धित पेट्रोल पम्प व्यवसायीसँग लिखित जवाफ मागिएको निगमको पूर्वाञ्चल क्षेत्रीय प्रमुख भानुभक्त खनालले बताए।

 

स्पष्टीकरण
उनले भने, “सत्यतथ्य विवरण पेश गर्न भन्दै सम्बन्धित ट्याङ्कर धनीलाई स्पष्टीकरण काटेका छौँ। उनीहरूले बेचेको हो वा होइन हामीले हेर्दैछौँ।”

भारतीय बजारमा अहिले नेपालको विक्री मूल्यभन्दा पेट्रोलमा प्रतिलिटर २२ रुपैयाँ र डिजेलमा २८ रुपैयाँ बढी छ।

भारतमा भन्दा नेपालमा पेट्रोलियम पदार्थ सस्तोमा पाइन्छ।

त्यसको फाइदा उठाउन विभिन्न तरिकाबाट खासगरी डिजेलको तस्करी हुन थालेको बताइन्छ।

ट्याङ्करको तौल जोख्ने काँटाको अभाव र सीमा सुरक्षाकर्मीसँग समन्वय गर्न नसकिएको कारण तस्करी रोक्न समस्या भएको अधिकारीहरू बताउँछन्।

सुरक्षा
तर बजारमा सामान्य अवस्थामा भन्दा पेट्रोलियम पदार्थको माग बढ्न थालेपछि तस्करी रोक्न देशभरकै मुख्य नाकामा सुरक्षा व्यवस्था कडा पारिएको आयल निगमले जनाएको छ।

आयल निगम अमलेखगञ्जका प्रमुख प्रदीप यादवले भने, “जाने बेला र आउने बेला पनि सशस्त्र प्रहरीले अनिवार्य जाँच गर्ने व्यवस्था छ। वीरगञ्ज-रक्सौल नाकाबाट ठूलो परिणाममा पेट्रोल बाहिर गएको छैन।”

भारतमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएका बेला तस्करी हुने घटना विगतमा पनि हुने गरेको थियो।

तस्करी हुँदा माग व्यवस्थापन गर्न नसकेर आपूर्तिमा समस्या हुने गरेको निगमका अधिकारीहरू बताउँछन्।

Share Now

Leave a comment.