
टोकियो(जापान) १७ फागुन । उच्च शिक्षाका लागि जापानी विश्वविद्यालयमा भर्ना भएका विद्यार्थीहरुमा पढ्ने बानी घट्दै गएको देखिएको छ ।
नेशनल फेडेरेसन अफ युनिभर्सिटी कोअपरेटिभ एसोसिएसनले फेब्रुअरी २६ मा सार्वजनिक गरेको एक सर्भेक्षण प्रतिवेदनमा जापानी विश्वविद्यालयका आधाभन्दा बढि विद्यार्थीले अध्ययन नै नगर्ने गरेको देखिएको छ ।
सर्वेक्षणमा विद्यार्थीलाई पढाइका लागि दैनिक कति समय छुट्याउर्छौ भनेर सोधिएको प्रश्नको उत्तरमा ५३.१ प्रतिशतले शून्य अर्थात समय नै नछुट्टयाएको उत्तर दिएका छन् ।
जापानमा सन २००४ देखि आवधिक रुपमा यस्तो सर्भेक्षण गर्न थाएिको हो । नपढ्ने प्रवृत्तिको यो दर पहिलो पटक ५० प्रतिशत माथि गएको हो ।
गत वर्ष अक्टोबर र नोभेम्बरमा जापानका ३० विश्वविद्यालयमा यो सर्भेक्षण गरिएको थियो ।
महिला तथा पुरुषगरी १० हजार २१ जनाले यस प्रश्नको उत्तर दिएका थिए ।
सर्भेक्षणमा सहभागीमध्ये १०.२ प्रतिशतले दैनिक ३० मिनेटभन्दा कम समय पढाइमा विताउने गरेको , १७ प्रतिशतले एक घण्टा र १३ प्रतिशतले बढिमा दुइ घण्टा पढ्ने गरेको बताएका छन् ।
जापानी विद्यार्थीहरुले औषतरुपमा दैनिक २३.६ मिनेट पढाइमा विताउने गरेको भेटिएको छ ।
पाँच वर्ष अघि ३४.५ प्रतिशतले पढाइ नै नगरेको तथ्यांक अहिले १८.६ ले बृद्धि भएको हो ।