दुबाई(संयुक्त अरब इमिरेट्स), १३ कार्तिक । टी २० विश्वकप क्रिकेटको शुक्रबार भएको दोस्रो खेलमा पाकिस्तानले प्रतिस्पर्धी अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको छ । यो जित संगै आफूले खेलेको तीनवटै खेलमा विजयी बनेको पाकिस्तान समूह २ मा ६ अंकसहित शीर्षस्थानमा पुगेको छ ।
दुबई अन्तर्राष्ट्रिय मैदानमा अफगानिस्तानले दिएको १ सय ४८ रनको लक्ष्य पाकिस्तानले एक ओभर बाँकी रहँदै ५ विकेट गुमाएर हासिल गरेको थियो।
पाकिस्तानको जितमा कप्तान बाबर आजमले ५१ रन, फखर जमानले ३० रन, शोयब मलिकले १९ रन बनाए भने आसिफ अलिले अविजित २५ रन बनाए। ओपनर मोहम्मद रिजवान ८ रन बनाउदा तेश्रो ओभरमा मुजिब उर् रहमानबाट क्याच आउट भएका थिए।
पाकिस्तानलाई रोक्ने क्रममा अफगानिस्तानका रशिद खानले दुई तथा विकेट , नाभिन उल हक , मुजिब उर् रहमान र मोहम्मद नाबीले समान एक एक विकेट लिए।
यस अघि टस जितेर ब्याटिंग रोजेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो। उसको लागि गुल्बदिन नैबले मोहम्मद र मोहम्मद नाबीले अविजित रहँदै समान ३५ रन बनाए। यस्तै नजीबुल्लाह जद्रानले २२, करिम जनतले १५ तथा रहमनुल्लाह गुर्बज र अस्घर अफ्घानले समान १० । १० रन बनाए।
अफगानिस्तानलाई रोक्ने क्रममा पाकिस्तानका बलर इमाद वासिमले २ विकेट लिए भने, शाहिन अफ्रिदी , हरिस रौफ , हसन अली र शदाब खानले समान एक एक विकेट लिए।
लगातारको तेस्रो जितपछि पाकिस्तान सुपर १२ चरणको समुह ‘२’ अंकतालिकामा ६ अंकसहित शीर्ष स्थानमा कायमै रहेको छ।
प्रतियोगिता अन्तर्गत पाकिस्तानले आगामी खेल नामिबियासंग नोभेम्बर २ तारिखमा तथा अफगानिस्तानले नामिबियासंग अक्टोबर ३१ तारिखमा खेल्नेछ।


















