Prakash Adhikari November 4, 2021

काठमाडौं, १८ कार्तिक ।  महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्मजयन्तीका अवसरमा आज अनामनगरमा नागार्जुन साहित्यिक प्रतिष्ठानले काव्य गोष्ठीको आयोजना गरेको छ ।

महाकवि देवकोटाको व्यक्तित्व चर्चा, उहाँको ‘भिखारी’ शीर्षकको कविता वाचन र अन्य कविहरुका कविता वाचनसहित सम्पन्न गोष्ठीमा वरिष्ठ समालोचक प्रा डा बद्रीविशाल पोखरेलले महाकवि देवकोटालाई नयाँ पुस्ताले गहनरुपमा पढ्न र बुझ्न आवश्यक रहेको बताउनुभयो । उहाँले तत्कालीन व्यवस्थाले उहाँलाई जनताका पक्षमा लागेका नाममा नेपाल प्रज्ञा प्रतिष्ठानबाट उपलब्ध हुनुपर्नै तलब सात महिनासम्म निकासा नभएका जस्ता पीडादायी अवस्था उजागर हुनुर्ने भनाइ राख्नुभयो ।

कार्यक्रममा शिवप्रसाद आचार्य, वैरागी जेठा, प्रकाश सिलवाल, चेतनाथ धमला, माधव निर्दाेष, यशोदा अधिकारी, शिवहरि पाण्डेलगायतले रचना प्रस्तुत गर्नुभएको थियो । केही स्रष्टाले भर्चुअलरुपमा रचना प्रस्तुत गर्नुभएको थियो । सोही अवसरमा आगामी मङ्सिरमा लोकतान्त्रिक साहित्यिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको संस्था नागार्जुनको अधिवेशन तयारीका लागि संस्थापन अध्यक्ष जेठाका अध्यक्षतामा पाँच सदस्यीय समिति गठनको घोषणा गरिएको थियो ।

महाकविको साहित्यिक योगदानबारे चर्चा

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औँ जन्मजयन्तीका अवसरमा देवकोटाको साहित्यिक योगदानको चर्चा एवं कविगोष्ठीलगायतका कार्यक्रम गरिएका छन् । साहित्यिक पत्रकार सङ्घ र कमलपोखरी छठपूजा समाजको संयुक्त आयोजनामा बुधबार कमलपोखरीमा साहित्यिक कार्यक्रम सन्पन्न भएको छ ।

कार्यक्रममा वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकारले देवकोटाको योगदानको स्मरण गर्दै कमलपोखरी क्षेत्रको विकासबारे प्रकाश पार्नुभयो । वरिष्ठ नाट्यकर्मी अशेष मल्लले नेपाली साहित्यमा देवकोटाको योगदान अविस्मरणीय भएको बताउँदै नेपालले विश्वमा देखाउनसक्ने ती विशेष कुरामा सगरमाथा, बुद्ध र देवकोटा रहेको उल्लेख गर्नुभयो ।

कवि एवं समालोचक प्रमोद प्रधानले नेपाली साहित्यमा सबैभन्दा बढी विद्यावारिधि गरिएको र सबैभन्दा बढी पुस्तक लेखिएका साहित्यकार सम्भवतः देवकोटा नै भएको बताउनुभयो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय उपाध्यक्ष बाबा बस्नेतले देवकोटाको सम्झनाले नेपाली साहित्यकारले गौरवबोध गर्ने गरेको धारणा राख्नुभयो ।

सो अवसरमा सर्जक नरेन्द्रबहादुर श्रेष्ठ, नियात्राकार युवराज नयाँघरे, दामोदर पुडासैनी, मन्जिला अनिल, गीता कार्की, शान्ति रिसाल, शशी रिमाल, शशी थापा, मुरारी सिग्देल, नीता श्रेष्ठ, पारु तिमिल्सिना, एलिशा ढुङ्गानालगायतले कविता वाचन गर्नुभएको थियो ।

सङ्घका अध्यक्ष राधेश्याम लेकालीले आगामी दिनहरूमा पनि सङ्घले यस्ता कार्यक्रम गर्ने जानकारी दिनुभयो । जयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले बुधबार कमलादीमा विशेष कार्यक्रमको आयोजना गरेको थियो भने कौशिकी साहित्य प्रतिष्ठानले पुस्तक विमोचनको कार्यक्रम आयोजना गरेको थियो ।

कवि–साहित्यकारले मान्छेलाई बदल्न सक्नुपर्छः प्रा डा ज्ञवाली

कपन साहित्य समाजले आज आयोजना गरेको लक्ष्मीजयन्ती विशेष कविगोष्ठी, २०७८ मा नेपाली समाजले भोग्नुपरेको पारिवारिक बिखण्डन तथा श्रम र बौद्धिक पलायनप्रति चिन्ता व्यक्त गरिएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औँ जन्मजयन्तीका उपलक्ष्यमा समाजको भवन, यात्री स्मृति कक्षमा बिहान आयोजित कार्यक्रममा साहित्यकार– कविहरूलाई पतनोन्मुख समाजको चेतना उठाउनका लागि योगदान दिन आग्रह गर्नुभयो ।

साहित्यकार प्रा डा रामप्रसाद ज्ञवालीले महाकवि देवकोटाले दलित, जनजाति र महिला उत्पीडनका विपक्षमा अभिव्यक्ति दिएको स्मरण गराउँदै साहित्यकारहरू देश र मानवाप्रति गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “हामी व्यक्तिवादी भयौँ, राजनीतिक नेतृत्वमा म चिन्तन हावी भयो, कम्युनिष्टहरु बुर्जुवा भए, अब कवि–साहित्यकारले आफूलाई मात्र उठाउन हैन, मान्छेलाई बदल्न सक्नुपर्छ ।”

साहित्यकार मित्रलाल पंज्ञानीले बौद्धिक जनशक्तिलाई विदेशतिर धकेल्ने शिक्षा प्रणालीमा सुधार हुनुपर्ने बताउनुभयो । सो अवसरमा कवि ॐप्रसाद कोइराला, शैलेन्दुप्रकाश नेपाल, श्याम रिमाल, आरएम डङ्गोल, त्रिलोचन आचार्य, होमशङ्कर बाँस्तोला, डा विष्णु केसी, बिसुकुमार केसी, विकल त्यागी, पवित्रा चिमौरिया, थरेन्द्र बराललगायतले गीत, मुक्तक र कविताका माध्यमबाट राजनीतिक विसङ्गति, कोरोना कहर, पश्चिम सभ्यताले भित्र्याएको विकृति, छाउगोठलगायत विषयमा आआफ्ना कविता वाचन गर्नुभएको थियो भने साहित्यिक पत्रकार निबन्ध आचार्य र पत्रकार आशिष गुरागाईँले तिहारको शुभकामना दिनुभएको थियो ।

सोही अवसरमा समाजका कोषाध्यक्ष हेमा अधिकारीले आफ्ना दिवङ्गत मातापिता सरस्वती र नन्दीकेशर दुलालका स्मृतिमा समाजको अक्षयकोश वृद्धिका लागि रु पाँच हजार पाँच सय समाजका अध्यक्ष गणेशकुमार मिश्रलाई हस्तान्तरण गर्नाका साथै हालै त्रिवि नेपाली विभागमा प्राध्यापकमा बढुवा हुनुभएका प्रा डा ज्ञवालीलाई बधाई ज्ञापन गरिएको थियो । समाजले निकट भविष्यमै ‘कपन दर्पण’ पत्रिका प्रकाशन गर्दै छ ।

महानगरीय साहित्य दर्पण २०७८ सार्वजनिक

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औँ जन्मजयन्तीको अवसर पारेर भरतपुर महानगरपालिकाले महानगरीय साहित्य दर्पण २०७८ सार्वजनिक गरेको छ । साहित्य दर्पणको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बुधबार एक कार्यक्रमका बीच सार्वजनिक गर्नुभयो । उहाँले भरतपुर साहित्य दर्पण महानगरपालिकाको साहित्यको क्षेत्रमा सम्पत्तिका रूपमा रहने बताउनुभयो ।

महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्यको विकास र विस्तारमा कोसेढुङ्गा सावित भएको चर्चा गर्दै उहाँले यसलाई अझै परिष्कृत गर्दै लैजानुपर्ने बताउनुभयो । भरतपुर महानगरपालिकाले कला साहित्य क्षेत्रको समग्र विकास र व्यवस्थित गर्न भरतपुर प्रज्ञा प्रतिष्ठान गठनको तयारी गरिरहेको दाहालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रज्ञाप्रतिष्ठान गठनका लागि तपाईंहरुको रचनात्मक सहयोग र सुझाव आवश्यक छ ।”

सो अवसरमा भरतपुर महानगरपालिका शिक्षा महाशाखा प्रमुख महेन्द्र पौडेलले भरतपुर महानगरले कला साहित्य क्षेत्रको उत्थान र साहित्यकारको सम्मानमा विविध कार्यक्रम गरिरहेको भन्दै प्रस्तावित भरतपुर प्रज्ञा प्रतिष्ठान गठनसँगै अझै व्यवस्थित हुने बताउनुभयो । कार्यक्रममा साहित्यकार डा केशवराज चालिसे, इन्द्र रेग्मी, रामहरि श्रेष्ठ, एलबी क्षेत्री, बालकृष्ण थपलिया, समालोचक डिआर पोखरेललगायतले भरतपुर महानगरपालिकाले पूर्वाधार विकासमा अतुलनीय भूमिकासँगै साहित्य र कलाको क्षेत्रमा गरेको कामको बारेमा चर्चा गर्नुभएको थियो । साहित्य र सिर्जना समाज र देशको साझा सम्पत्ति हुने बताउँदै प्रस्तावित भरतपुर प्रज्ञाप्रतिष्ठान गठनसँगै यस क्षेत्रको कला साहित्यको प्रवद्र्धन र सर्जकको सम्मान हुने उहाँहरुको भनाइ थियो ।

Share Now

Leave a comment.