ह्युस्टन,टेक्सस(संयुक्त राज्य अमेरिका), २० कार्तिक (बीबीसी) ।अमेरिकाको टेक्ससमा एउटा साङ्गीतिक महोत्सवको उदघाटनका अवसरमा कम्तीमा ८ जना मानिसको मृत्यु भएको छ र कैयौँ घाइते भएका छन्।
ट्रयाभिस स्कटको एस्ट्रोवर्ल्ड फेस्टिभलमा भिड मञ्चको अगाडि जान खोज्दा भागाभाग मच्चिएको अधिकारीहरूले बताएका छ्न।
अधिकारीहरूका अनुसार ११ जना मानिसलाई हृदयाघात भएर अस्पताल लगिएको थियो र आठ जनाको मृत्यु भयो।
करिब ३०० जनालाई चोटपटक लागेर उपचार गरिएको थियो।
महोत्सवमा करिब ५० हजार मानिसको सहभागिता थियो।

अमेरिकी र्यापर लिल बेबीले पनि उक्त महोत्सवमा प्रस्तुती थियो
घटना शुक्रवार राति स्थानीय समय अनुसार करिब सवा ११ बजे भएको थियो।
“मानिसको भिडले मञ्चको अघिल्लो भागलाई थिच्यो र मानिसहरू आतङ्कित हुन थाले”, ह्युस्टन, अग्नि नियन्त्रक प्रमुख स्यामुयल पेनाकाले पत्रकारहरूलाई बताउनुभयो।
उहाँका अनुसार भागाभागमा परी मानिसहरू घाइते भएपछि त्यहाँ उपस्थित अरू मानिस झनै आत्तिएका हुन्।
ह्युस्टन क्रोनिकलका अनुसार, सोही सहरका र्यापर ट्राभिस स्कट आफ्नो ७५ मिनेट लामो प्रस्तुति अवधिमा धेरै पटक रोकिएका थिए।
स्कटले अगाडि बसेका दर्शकहरूबीच तनाव सिर्जना भएको देख्नुभएको थियो।
स्कटले सुरक्षाकर्मीहरूलाई उपस्थित दर्शक ठीक छन् भन्ने सुनिश्चित गर्न र भिडबाट बाहिर निक्लन मद्दत गर्न समेत आग्रह गर्नुभएको थियो।
आकस्मिक सवारी साधनहरू, बत्तीहरू र आपत्कालीन फ्ल्यास, भिडमा धेरै पटक देखिएको सञ्चार माध्यममा जनाइएको छ।
मानिसहरू घाइते भएको देखिएपछि आयोजकले कार्यक्रम बन्द गरे। तर, घाइतेहरूको सङ्ख्या ठूलो भएका कारण उपलब्ध चिकित्सा सुविधा पर्याप्त नभएको अग्नि नियन्त्रक प्रमुखको दाबी छ।
एबीसी थर्टिनले जनाए अनुसार शुक्रवार सयौँ मानिसहरू कार्यक्रम परिसरमा पुगेका थिए। कन्सर्टमा प्रवेश गर्नका लागि उनीहरूले सुरक्षा जाँच गर्ने मेटल डिटेक्टरजस्ता उपकरणहरू नै तोडमोड गरेका थिए।
महोत्सवको दोस्रो र अन्तिम दिन शनिवार हुने कार्यक्रम रद्द गरिएको छ।
“कसैले पनि यस्तो दुर्घटनाबारे सोचेका थिएनन् “, ह्युस्टन पुलिस विभाग प्रमुख ट्रोय फिनरले भन्नुभयो, “तर घटनाबारे विस्तृत जानकारी आइसकेको छैन। त्यसैले तत्काल हामी कसैले पनि अनुमान नगरौँ।”
आयोजक लाइभ नेसनले तत्काल घटनाबारे कुनै प्रतिक्रिया नजनाएको समाचार एजेन्जी रोयटर्सले जनाएको छ।
एस्ट्रोवर्ल्ड फेस्टिभल सन् २०१८ देखि हरेक वर्ष एआरजी पार्कमा हुँदै आएको कार्यक्रम हो। गत वर्ष भने कोरोनाभाइरस महामारीका कारण महोत्सव स्थगित भएको थियो।


















