Prakash Adhikari November 7, 2021

 

शारजहाँ(संयुक्त अरब इमिरेट्स), २१ कार्तिक । टी २० विश्वकप क्रिकेटको सुपर १२ को समूह १ को अन्तिम खेलमा दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई १० रनले पराजित गरेको छ । तर बिडम्बना विजयी टिम अफ्रिका समान अंक रहे पनि सेमिफाइनल यात्रा तय गर्न असफल रह्यो भने पराजित इंग्ल्याण्डले सो अवसर पायो ।

सुपर १२ चरणको समुह ‘१’ को अन्तिम खेलमा दक्षिण अफ्रीकाले दिएको १९० रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्यान्डले पूरै ओभर ब्याटिंग गरेता पनि ८ विकेट क्षतिमा १ य ७९ रन मात्र बनाउन सक्यो।

दक्षिण अफ्रिकाले ५८ रनले खेल जित्न सकेको भए ऊ सेमिफाइनल पुग्न सक्थ्यो । इंग्ल्यान्डले ८६ रन मात्र बनाए उ पुग्दथ्यो।

शनिवारको अन्तिम खेल पछि इंग्ल्यान्ड र अस्ट्रेलियासंग समान ८ अंक रहेता पनि नेट रन रेटको आधारमा पछि परेको दक्षिण अफ्रीका समुहको तेश्रो स्थानमा रहँदै सेमीफाइनल पुग्न असफल रह्यो।

इंग्ल्यान्डको नेट रन रेट ं२.४६४, अस्ट्रेलियाको ं१.२१६ तथा दक्षिण अफ्रिकाको ं०.७३९ रह्यो। समुह ‘१’ को विजेताको रुपमा इंग्ल्यान्ड तथा उपविजेताको रुपमा अस्ट्रेलिया सेमिफाइनलमा पुगे ।

समुह ‘२’ बाट पाकिस्तान सेमिफाइनल पुगिसकेको छ भने दोश्रो टिमको टुंगो लाग्न बाँकी छ। सेमीफाइनलमा इंग्ल्यान्डले समुह ‘२’ को उपविजेता तथा अस्ट्रेलियाले समुह ‘२’ को विजेतासंग प्रतिस्पर्धा गर्नेछन्।

रोमाञ्चक खेल

रोमान्चक खेलको अन्तिम ओभरमा जित्न १४ रन आवस्यक रहंदा कागीसो रबाडाले अन्तिम ओभरको पहिलो तीन बलमा क्रिस वोक्स, ओएन मोर्गन र क्रिस जोर्डनलाई क्याच आउट गर्दै ह्याट्रिक विकेट लिए। त्यसपछि बाँकी ३ बलमा उनले ३ रन मात्र खर्चे र रोमान्चक जित दिलाए। जारि विश्वकपमा ह्याट्रिक विकेट लिने रबाडा तेश्रो बलर हुन् भने समग्रमा टी २० विश्वकप इतिहासको चौंथो बलर हुन्।

यस अघि श्रीलंकाका वानिन्दु हसरंगा र आयरल्याण्डका कर्टिस क्याम्फरले ह्याट्रिक लिएका थिए।

इंग्ल्यान्डको ब्याटिंगमा मोइन अलिले ३७, डेविड मलानले ३३, जोस बटलरले २६, लियाम लिभिंगस्टोनले २८, जेसन रोयले २० तथा ओएन मोर्गनले १७ रन बनाए।

इंग्ल्याण्डलाई रोक्ने क्रममा दक्षिण अफ्रीकाका कागीसो रबाडाले ३, तब्रेज शाम्सी र ड्वेन प्रिटोरियस २ ।२ तथा एनरिक् नोर्कियाले १ विकेट लिए।

यस अगाडि टस हारेर ब्याटिंग गरेको दक्षिण अफ्रिकाले २० ओभरमा २ विकेटको क्षतिमा १ सय ८९ रन बनाएको थियो। उसको लागि रसि भान डर डुसेनले सर्वाधिक ९४ रन बनाए भने एडेन मारक्रमले अविजित ५२ रन बनाए। क्विन्टन डीककले ३४ रन बनाए।

दक्षिण अफ्रिकालाई रोक्न इंग्ल्यान्डका मोइन अली र आदिल रशिदले ले समान एक एक विकेट लिए ।

तितो मिठो अनुभव

अन्तिम खेलमा इंग्ल्यान्डलाई पराजित गरेपनि सेमिफाइनल पुग्न असमर्थ भएपछि दक्षिण अफ्रिकी कप्तान तेम्बा बभुमाले यो सिजनको खेलमा तितो र मिठो अनुभव भएको बताएका छन्।

“यो जित महत्वपूर्ण थियो, हाम्रो लागि तितो मिठो अन्त्य भयो। हाम्रो खेल जित्ने चाहना पूरा भएता पनि ठूलो अन्तरको विजय गर्न असफल रह्यौं। ” बभुमाले बताए।

सुपर १२ चरणमा दक्षिण अफ्रिका अस्ट्रेलियासंग पराजित भयो भने इंग्ल्यान्ड लगायत श्रीलंका, बंगलादेश र वेस्टइन्डिजलाई पराजित गर्यो।

हारको बाबजुद समुह विजेताको रुपमा सेमीफाइनल पुगेपछि इंग्ल्यान्ड कप्तान ओएन मोर्गनले खुसि व्यक्त गरे – “निकै खुसि छु कि समुह विजेताको रुपमा अन्त्य गरेका छौँ जुन सहज कहिले पनि थिएन। हामीले बिगत केहि वर्षमा राम्रो सेतो बल टिम विकास गरेका छौँ जुन टिममा धेरै गहिराइ छ। मलाई लाग्छ आजको विकेट निकै राम्रो थियो। दक्षिण अफ्रीकाले राम्रो ब्याटिंग गर्यो र हामीले फिल्डमा राम्रो गर्न सकेनौं त्यसैले उनीहरुले थोरै बढी रन बनाए।”

इंग्ल्यान्डले सुपर १२ चरणमा अस्ट्रेलिया, श्रीलंका, वेस्टइन्डिज र बंगलादेशलाई पराजित गर्यो।

Share Now

Leave a comment.