Prakash Adhikari November 21, 2021

 

काठमाडौं, ५ मंसिर । नेपाल वार एशोसिएसनले देशभर बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दा नहेर्ने निर्णय गरेकै दिन प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराले सर्वोच्च अदालतमा ११ इजलाश गठन गर्नुभएको छ । उहाँले आफूलाई भने इजलाशमा राख्नुभएको छैन् ।

नेपाल वारको आह्वानमा वकिलहरु आन्दोलनमा रहेकोले मुद्धाको सुनुवाई भने हुने नहुने कुनै टुंगो छैन ।

स्वतन्त्र न्यायपालिकाको मर्मलाई आत्मसात नगरी कार्यपालिकासंग मिलेर न्यायालयको मान मर्यादामा आँच पुर्याएको आरोप लगाउदै प्रधानन्यायाधीशको राजिनामा माग गरिरहेको नेपाल वारले सर्वोच्च अदालतभित्र प्रहरी प्रवेश गराएर अधिवक्ताहरुमाथि आक्रमण गराएको आरोप पनि थपेको छ । नेपाल वारको आह्वानमा आज देशभर बन्दिप्रत्यक्षीकरणबाहेकका मुद्धा नहेर्ने कार्यक्रम तय भएको छ ।

वारको आह्वानमा आज पनि नेपालवारबाट सर्वोच्च परिसरमा प्रदर्शन गर्न निस्केका वकिलहरुबीच सुरक्षार्थ तैनाथ प्रहरीहरुसंग धकेलाधकेल भएको थियो ।

वारको आन्दोलन कार्यक्रम

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलन गर्दै आइरहेको नेपाल बार एसोसिएसनले फेरि आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै मंसिर ५ गते आइतबारदेखि १० गते शुक्रबारसम्मका लागि बेग्लै आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।

सरकारले अदालतभित्र दंगा प्रहरी प्रवेश गराएको भन्दै बारले आइतबार देशभरका अदालतहरुमा बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दाहरुमा बहस पैरवी नगर्ने, सोमबार देशभरका अदालतहरुमा विहान १० देखि १२ बजेसम्म कालोपट्टीसहित धर्ना र जुलुसलाई निरन्तरता दिने साथै केन्द्रमा संसदमा रहेका दलहरुलाई संसदीय दलमा पुगेर ज्ञापन पत्र बुझाउने कार्यक्रम तय भएको छ ।

बारका महासचिब तथा अधिवक्ता लिलामणि पौडेलद्धारा जारी विज्ञप्तिमा जनाए अनुसार मंगलबार अन्तिम म्यादका बाहेक कुनैपनि अदालत र न्यायधिकरणहरुमा फिराद, प्रतिउत्तर, पुनरावेदन, रीट, लिखित जवाफ, बहस केही पनि दर्ता नगर्ने र नगराउने साथै बुधबार देशभरका १८ वटा उच्च अदालत र उच्च अदालतमा रहेका इजलासमा कानून व्यवसायीहरुको बृहत उपस्थितिमा विरोध कार्यक्रम गर्ने घोषण गरेको छ ।

 

त्यस्तै विहीबार र शुक्रबार भने काठमाडौं उपत्यकाका बार इकाइ सदस्य कानून ब्यवसायीहरुको उपस्थितिमा विरोधका कार्यक्रमलाई निरन्तरता दिने भएको छ । उता मंसिर २४ देखि २६ सम्म पोखरामा हुने भनिएको राष्ट्रिय सम्मेलन भने स्थगित गरिएको जनाइएको छ ।

Share Now

Leave a comment.