Prakash Adhikari November 25, 2021

विराटनगर, ९  मङ्सिर (रासस)  । नेपाली कांग्रेस प्रदेश नं १ को प्रथम प्रदेश अधिवेशन यही मङ्सिर १६ गते हुने भएको छ । कांग्रेसका केन्द्रीय सदस्य एवं कांग्रेस प्रदेश नं १ अधिवेशन आयोजक समितिका संयोजक कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा आज बसेको बैठकले त्यस्तो निर्णय गरेको हो । बैठकले कांग्रेस प्रदेश नं १ को प्रथम अधिवेशन विराटनगर महानगरपालिका–९ जहदा रोडमा रहेको सिद्धी पार्टी प्यालेसमा हुने निर्णय भएको पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो ।

संयोजक कृष्णप्रसाद सिटौलाले अधिवेशनका लागि आवासलगायत सबै व्यवस्थापनको जिम्मा कांग्रेस मोरङ समितिको रहने, अधिवेशन सम्पन्न गर्न कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बू संयोजक, भीम पराजुली सहसंयोक र केन्द्रीय सदस्य अमृत अर्याल, पवन सारडा र आमन्त्रित केन्द्रीय सदस्य हसन अन्सारी सल्लाहकार रहेको अर्थ समिति गठन भएको छ ।

अधिवेशनको प्रचारका लागि कांग्रेस प्रदेश संसदीय दलका नेता राजीव कोइराला संयोजक, नेपाल प्रेस युनियनका प्रदेश संयोजक लिलावल्लभ घिमिरे सदस्य सचिव रहेको प्रचार समितिको सदस्यमा प्रेस युनियनका प्रदेश १ का सचिव धनबहादुर पुरी, युनियन मोरङका अध्यक्ष भोजराज बस्नेत, निवर्तमान अध्यक्ष कुमार लुइँटेल र सुनसरीका अजित झा छन् ।

कांग्रेसको प्रथम प्रदेश अधिवेशनमा प्रदेश नं १ का १४ जिल्लाका २८ सङ्घीय निर्वाचन क्षेत्रका क्षेत्रीय अध्यक्ष र सङ्घीय महाधिवेशन प्रतिनिधिसहित २५ जनाका दरले ७०० महाधिवेशन प्रतिनिधि, ५६ प्रदेश निर्वाचन क्षेत्रबाट १७ जनाका दरले प्रदेश क्षेत्रका क्षेत्रीय अध्यक्षसहितका प्रदेश अधिवेशन प्रतिनिधि गरी जम्मा ९५२ जना र यस प्रदेशका १९ जना कांग्रेसका केन्द्रीय सदस्य साथै भ्रातृ संस्था र शुभेच्छुक संस्थाबाट समेत प्रतिनिधित्व हुने गरी प्रदेश अधिवेशनका मतदात हुने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

प्रदेश अधिवेशन बनाइएको आयोजक समितिमा सम्बन्धित प्रदेशभित्रका केन्द्रीय सदस्य, जिल्ला सभापति, प्रदेशसभा संसदीय दलका नेता, प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, नगरपालिका प्रमुख र उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सदस्य रहने व्यवस्था गरिएको छ ।

पत्रकार सम्मेलनमा अधिवेशन प्रचार समितिका संयोजक राजीव कोइरालाले कांग्रेस संविधानमा व्यवस्था भएबमोजिम सङ्घीयतामा पार्टी प्रवेश गर्न लागेको यो ऐतिहासिक अधिवेशन भव्य र सभ्यरुपमा सफल बनाउन सञ्चारकर्मीले प्रचारप्रसार सहयोग पु¥याई दिन आग्रह गर्नुभयो ।

कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बूले आफूले जिल्ला अधिवेशनका लागि सभापतिको उम्मेदवारी दिने घोषणा गर्दै यो अधिवेशनले पार्टीको सङ्गठन बलियो बनाउन र सबै कार्यकर्ता तथा समर्थकको मनोबल उच्च बनाउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो ।
–––

Share Now

Leave a comment.