Prakash Adhikari November 30, 2021

 

काठमाडौं, १४ मंसिर । नेपाल र बङ्गलादेशबीचको जनस्तरको सम्बन्धलाई थप मजबुद तुल्याउने उद्देश्यले काठमाडौँमा सांस्कृतिक आदानप्रदान तथा सम्मान कार्यक्रमको आयोजना गरियो ।

नेपाल–बङ्गलादेश मैत्री सङ्घले आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले वरिष्ठ चिकित्सक डा भोला रिजाललाई सम्मान पत्रद्वारा सम्मान गर्नुभयो । कार्यक्रममा बङ्गलादेशी पाहुनाहरुलाई पनि मायाको चिनोद्वारा स्वागत गरिएको थियो ।

सो अवसरमा कुलपति उप्रेतीले नेपाल र बङ्गलादेशबीचको परम्परागत, सांस्कृतिक सम्बन्धलाई थप सुमधुर बनाउन कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले दुई देशबीचको संस्कृति प्रवद्र्धनका साथै पर्यटन प्रवद्र्धनका क्षेत्रमा पनि मिलेर काम गर्न सकिने धारणा राख्नुभयो ।

सम्मानित डा रिजालले नेपाल र बङ्गलादेशको लामो सम्बन्धलाई संस्कृतिको माध्यमबाट थप मजबुद बनाई पर्यटन प्रवद्र्धनका लागि साझेदारीका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

नेपालस्थित बङ्गलादेश राजदूतावासका उपप्रमुख इस्राल जाहानले दुई देशबीच परम्परागत सांस्कृतिक, राजनीतिक सम्बन्ध रहिआएको र यसलाई आगामी दिनमा थप प्रवद्र्धनका लागि सहकार्यका साथ अघि बढ्नुपर्ने खाँचो औँल्याउनुभयो ।

कार्यक्रममा बङ्गलादेशबाट आएका बङ्गलादेशी नागरिकलाई सम्मान गरिएको थियो । दुई देशबीचको जनस्तरको सम्बन्धलाई थप सुमधुर तुल्याउन कार्यक्रम गरिएको सङ्घका अध्यक्ष दिनदया रिजालले बताउनुभयो । उहाँले नेपाल र बङ्गलादेशबीचको सम्बन्धलाई अटुट बनाउन कूटनीतिक र जनस्तरबाटै पहल गरिए बङ्गलादेशको प्रगतिबाट नेपालले पनि लाभ लिनसक्ने भएकाले दुई देशीय सम्बन्धलाई बढाउन कार्यक्रम गरिएको बताउनुभयो ।

नेपाली प्रतिनिधिमण्डलले पनि छिट्टै बङ्गलादेशको भ्रमण गर्नेछ । बङ्गलादेशबाट १० जनाको प्रतिनिधिमण्डल नेपाल आएको छ । उनीहरुलाई नेपालको संस्कृति, पर्यटकीय क्षेत्रको अवलोकन भ्रमण गराइने कार्यक्रम छ । बङ्गलादेशी नागरिकले विभिन्न गीतसङ्गीत प्रस्तुत गरेका थिए भने नेपालका तर्फबाट पनि विभिन्न सांस्कृतिक प्रस्तुति दिइएको थियो ।

Share Now

Leave a comment.