
काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित हुँदा दलभित्र देखा परेको नयाँ समीकरणले उक्त दलको आन्तरिक राजनीतिलाई प्रभावित पार्न सक्ने टिप्पणी हुन थालेको छ।
पहिलो चरणको मतदानबाट सभापति पदको छिनोफानो हुन नसकेकपछि दोस्रो चरणको मतदानको परिणाम बुधवार सबेरै आउँदा स्पष्ट बहुमतसहित देउवा पार्टीको सर्वोच्च पदमा पुनः निर्वाचित हुनुभएको छ।
मतदानमा सहभागी महाधिवेशन प्रतिनिधिमध्ये ५७ प्रतिशतभन्दा बढीले देउवालाई समर्थन गरेका थिए।
विगतमा कांग्रेसबाट विभाजित भएर देउवाको नेतृत्वमा गठित नेपाली कांग्रेस प्रजातान्त्रिकका नेताहरू प्रकाशमान सिंह र विमलेन्द्र निधिले अन्तिम समयमा आएर साथ दिँदा उहाँको जित सहज भएको थियो।
पहिलो चरणमा सभापतिको उम्मेदवार बन्दा सिंह र निधिले नेतृत्व परिवर्तनको मुद्दा उठाउनुभएको थियो। तर अन्तत : उहाँहरूले आफ्नो अडान छाड्नुभयो।
संस्थापनको विपक्षमा रहनुभएका रामचन्द्र पौडेल मतदान प्रक्रियामा मौन बस्नुभएको थियो।
यद्यपि सभापति पदका अर्का उम्मेदवार शेखर कोइरालाले कुल प्रतिनिधिमध्ये ३९ प्रतिशत भन्दा बढीको समर्थन प्राप्त गर्नुभयो ।
पुरानै नेतृत्वको निरन्तरताको प्रभाव कस्तो
पछिल्लो मत विभाजनको प्रभाव कांग्रेसको आन्तरिक राजनीति तथा दलले आगामी दिनमा स्थानीय, प्रदेश र केन्द्रको निर्वाचनका लागि तय गर्ने रणनीतिमा समेत पर्न सक्ने कतिपय विश्लेषकहरू बताउँछन्।
राजनीतिशास्त्री हरि शर्माले बीबीसीसँग कुरा गर्दै पार्टी भित्रको अर्को पक्षलाई साथमा लिएर अघि बढ्नु देउवाका लागि चुनौती हुन सक्ने बताउनुभएको छ।
“शेखर कोइराला परीक्षण भइसकेका नेता होइनन्। चार वर्ष-पाँच वर्षदेखि निरन्तर उनले कोसिस गरे र त्यसले एक किसिमको फल दिएको छ। फेरि पनि संस्थापन र अर्को पक्ष हुनेवाला छ। त्यसमा उनले कसरी गर्छन् भन्ने हेर्नुपर्छ।” शर्माले भन्नुभयो ।
आदरणीय @SherBDeuba ज्यू,पुन: सभापतिमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई! आम कांग्रेसजनको एकताको अपेक्षालाई आत्मसात गर्दै पार्टीलाई थिति र विधिमा चलाउने परम्पराको शुरुआत गर्नु हुनेछ भन्ने अपेक्षा गर्छु।समुन्नत नेपालको अभियान र पार्टी रुपान्तरणका मुद्दामा सहकार्य हुने नै छ।
— Gagan Thapa (@thapagk) December 15, 2021
पहिला पनि नेपाली कांग्रेसको आन्तरिक लोकतन्त्र कमजोर रहेको उल्लेख गर्दै शर्माले आगामी दिनमा पनि आधारभूत परिवर्तन हुने सम्भावना आफूले नदेखेको टिप्पणी गर्नुभयो।
“पार्टी भित्र घचघचाइरहने आवाज चाहिन्छ। अहिले जितेको नेतृत्वले कसरी हेर्छ र उ कति सहिष्णु हुन्छ भन्ने कुराले नेपाली कांग्रेसजस्तो राज्यमा जाने आकाङ्क्षा राख्ने र राज्य सञ्चालन गरिरहेको पार्टीलाई असर गर्छ।”, शर्माले थप्नुभयो,”मुलुकमा लोकतन्त्रको ढुकढुकी बचाउँछु भन्ने पार्टीको आन्तरिक लोकतन्त्रले बृहत्तर लोकतन्त्रलाई प्रभावित पार्छ।”
पार्टी रूपान्तरणबारे कस्ता प्रश्न
समाजिक सञ्जाल ट्विटरमा देउवालाई बधाई दिदैँ महामन्त्री पदका उम्मेदवार गगन थापाले पार्टी रूपान्तरणका मुद्दामा सहकार्य हुने अपेक्षा राखेको जनाउनुभएको छ।
थापाले लेख्नुभएको छ, ‘पुनस् सभापतिमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई१ आम कांग्रेसजनको एकताको अपेक्षालाई आत्मसात् गर्दै पार्टीलाई थिति र विधिमा चलाउने परम्पराको सुरुवात गर्नु हुनेछ भन्ने अपेक्षा गर्छु।ू
नेपाली काँग्रेस
तर दोस्रो पटक निर्वाचित भएका देउवाको परीक्षण भइसकेका नेता भएको उल्लेख गर्दै उहाँको नेतृत्वबाट ठूलो आशा आफूले नराखेको शर्माले उल्लेख गर्नुभएको छ।
ट्विटरमा भारतका लागि भूतपूर्व नेपाली राजदूत नीलाम्बर आचार्यले देउवा र कोइराला दुवैले जितेको धारणा राख्नुभएको छ।
उहाँको भनाइ छ, “शेखर कोइरालाले सम्मान जितेका छन्। शेरबहादुर देउवाले सभापति पद। सभापतिका अन्य प्रत्याशीले दुवै कुरा हारेका छन्।”
आगामी तीनै तहका चुनावमा कांग्रेसलाई बहुमत दिलाउने नारा देउवाले महाधिवेशनमा दिनुभएको थियो।
मत परिणाम आएपछि उहाँले आफूलाई विजयी गराउने सम्पूर्णलाई धन्यवाद दिनुभएको छ ।
नेपाली कांग्रेसको १४औं महाधिवेसनबाट पार्टी सभापतिमा पुन: निर्वाचित हुनुभएकोमा प्रम @SherBDeubaलाई हार्दिक वधाइ तथा सफल कार्यकालको शुभकामना! वहाॅको नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्र मजबुत होस्; प्रतिगमनकारी शक्तिले टाउको उठाउन नपाउन्;अग्रगमनकारी शक्तिबीच एकता होस्;थप शुभेच्छा!
— Baburam Bhattarai (@brb1954) December 15, 2021
पार्टीलाई एकताबद्ध बनाउने कस्तो प्रतिबद्धता
दलको महाधिवेशनका क्रममा स्थानीय तहदेखि केन्द्रसम्म नै फाटो देखा परेका धारणाहरू सामाजिक सञ्जालमा उठ्दै आएका छन्।
शेखर कोइराला
दोस्रो चरणको निर्वाचनमा शेखर कोइराला र देउवाबीच प्रतिस्पर्धा भएको थियो
त्यसले सत्ताको नेतृत्व गरिरहेको दलको चुनावी राजनीतिमा असर पार्न सक्नेसम्मका धारणा व्यक्त भएका छन्।
चिकित्सक रामेश कोइराला ट्विटरमा लेख्नुहुन्छ , “काँग्रेसीजन१ यो दलभित्रको चुनाव थियो र सकियो। अब यसकै तुस पालेर एक अर्कासँग बोलचाल बन्द गर्नेदेखि आगामी निर्वाचनमा आफ्नै उम्मेदवारलाई हराउनेसम्म चैँ नगर्नू ल ! ”
देउवा सभापतिमा चुनिएलगत्तै उहाँनिकट नेता बालकृष्ण खाँणले अबको कार्यकालमा नेपाली कांग्रेसलाई थप सक्षम र सुदृढ गराइने धारणा राख्नुभएको थियो।
खाँणका अनुसार राजनीतिक सहमति र सहकार्यकै आधारमा मुलुकलाई अघि बढाएर स्थानीय र संसदीय निर्वाचनको प्रक्रियालाई देउवाले अघि बढाउनुहुनेछ।
सभापतिमा निर्वाचित भएपछि देउवालाई आफ्नै दल तथा अरू सत्ताधारी र विपक्षी नेताहरूले बधाई र शुभकामना दिएका छन्।
ट्विटरमा भूतपूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले देउवाको नेतृत्वमा सङ्घीय लोकतान्त्रीक गणतन्त्र बलियो बनेको र अग्रगामी शक्तिबीच एकता भएको हेर्न चाहेको उल्लेख गर्नुभएको छ।
महाधिवेशनमा उपसभापतिका उम्मेदवार धनराज गुरुङले सभापति देउवाले राजनीतिका थोक विक्रेताहरूसँग सजग रहनुपर्ने सुझाव दिनुभएको छ ।(बीबीसीबाट)