Prakash Adhikari December 30, 2021
NAC plane grounded

 

काठमाडौं, १५ पौष । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडानमा रहेका चार जहाजमध्ये दुई जहाज विगत तीन दिनदेखि ग्राउण्डेड भएका छन् ।

निगमको उच्च स्रोतले दिएको जानकारी अनुसार निगमको एक वाइड बडी जहाजमा इलेक्ट्रिकल समस्या आएको कारण काठमाडौंमा विगत ३ दिनदेखि भूमिस्थ भएको छ ।

नाईन एन एएलवाई (9N- ALY)कल साइनको अन्नपूर्ण जहाजको बिग्रेको उपकरण एअरबसबाट मगाइएको छ । सो उपकरण प्रतिस्थापन गरेपछि सो जहाज सके आजैबाट नभए भोलिबाट नियमित उडान सेवामा रहने छ ।

यता यात्रु लिएर कतारको राजधानी दोहा पुगेको नाइन एन एकेडब्ल्यू(9N-AKW) कलसाईनको जहाज दोहा पुगेपछि यसको इन्जिन बिग्रेर उतै थन्केको तीन दिन भैसकेको छ ।

निगमका प्राविधिकहरुले दिएको जानकारी अनुसार यो विमानको इञ्जिन नै फेर्नुपर्ने भएको छ । हिजो दोहा एअरपोर्टमा कतारका इञ्जिनियरहरुले यसको जाँच गर्दा े जहाजको बिग्रेको इन्जिन नफेरिकन उडाउन नमिल्ने सिफारिस गरेका छन् ।

कामचोरहरुको बोझ नयाँ कार्यकारी अध्यक्षको थाप्लोमा

निगमका प्र्राविधिकहरुका अनुसार यसपूर्वका दुई कार्यकारी अध्यक्ष र मन्त्रालयमा जगेडामा थन्क्याइएका एक महाप्रबन्धकसहित अर्का एक महाप्रबन्धकको नालायकीको बोझ वर्तमान अध्यक्ष युवराज अधिकारीको थाप्लोमा आइपरेको छ ।

निगमले २०१५ मा दुई न्यारो बडी जहाज किनेपछि त्यसको ग्यारेन्टी पिरियड सकिनुपूर्व नै इञ्जिन र बडी मर्मत संभार तथा तिनमा लाग्ने उपकरण आपूर्तिको ठेक्का लगाउनु पर्ने थियो ।

तर ग्यारेन्टी पिरियड सकिएपछि पनि समयमा टेण्डर गरिएन र इञ्जिनमा समस्या आएको नाममा जहाजलाई विदेशी एअरपोर्टमा भूमिस्थ गराएर महंगोमा मर्मत संभार गराउदै मोटो रकम मूल्यान्तरण गरि पचाउदै आइयो ।

निकै ढिलो गरी भएको टेण्डर प्रक्रियाको नतिजा सार्वजनिक गर्ने बेलामा निगममा मदन खरेल कार्यकारी अध्यक्ष बनेर आउनुभयो । उहाँले न्यारो बडी जहाजको इञ्जिन मर्मत संभार र लिजको ठेक्का आफूले रुचाएको कम्पनीलाई दिन नतिजा निस्कन ठिक्क भएको टेण्डर रद्द गरेर पुनः टेण्डर गर्ने निर्णय गराउनुभयो । त्यस्तै वाइड बडीमा लाग्ने पावरवाई आवरका सामानहरुको ठेक्कामा हस्तक्षेप गरेर सबैभन्दा सस्तोलाई पन्छाएर दोस्रो महंगोलाई ठेक्का दिई बीचको मार्जिन रकम खाने जुक्ति निकाल्नुभयो ।
उहाँको यो कदमविरुद्ध संसदको सार्वजनिक लेखा समितिमा उजुरी परेपछि लेखा समितिले न्यारो बडीको इन्जिन मर्मतमा सस्तोलाई ठेक्का नदिई पुनःटेण्डर गर्ने निर्णय रद्द गरी पहिलेको टेण्डर अनुरुप सस्तो आएको कम्पनीलाई नै ठेक्का दिन निर्देशन दिएको थियो भने वाइड बडीमा लाग्ने सामान आपूर्तिको लागि गरिएको ठेक्कामा सबैभन्दा सस्तो प्रस्ताव गर्ने कम्पनीलाई जिम्मेवारी दिन निर्देशन दिएको थियो ।

तात्कालीन अध्यक्ष खरेलले लेखा समितिले दिएको निर्देशन र सो अनुरुप मन्त्रालयले गरेको पत्राचारका पत्रहरु निगममा दर्ता नगरी सञ्चालक समितिलाई गुमराहमा राखेर सस्तोमा काम गर्ने एक ठेकका रद्द गर्ने र अर्कोमा सस्तो पेश गर्नेलाई प्रक्रिया विपरितको भन्दै महंगोलाई ठेक्का दिने निर्णय गराउनुभएको थियो ।

यसले न्यारोबडीको इञ्जिन समयमा मर्मत हुन पाएन भने बाइडबडीको सामान पनि समस्या आएपछि फेर्नुपर्ने स्थितिमा पुर्यायो । यसले गर्दा एकातिर जहाज ग्राउण्डेड बन्ने र मर्मतसंभारमा बढी खर्च लाग्ने हुन गयो ।

निगममै आफ्नो उर्बर जीवन लगाउनुभएका युवराज अधिकारी कार्यकारी अध्यक्ष नियुक्त भएर आएपछि उहाँले निगमको खर्च कटौती र कार्यदक्षता अभिबृद्धिका नयाँ कार्यक्रमहरु ल्याउनुभएको छ । त्यसमा वाईडबडी र न्यारोबडी दुवै जहाजहरुको इञ्जिन र बडी मर्मत संभार गर्ने कम्पनी चयन देखि सामान आपूर्ति गर्नेसम्मका कम्पनीहरुको चयन पनि परेको छ ।

सरकारी काममा ढिलासुस्ती होइन सोझो तरिकाले सिधा ढंगले गर्न रुचाउनुहुने मन्त्री प्रेम आलेले बुधबार संसदको अन्तर्राष्ट्रिय समितिको बैठकमा संसदीय समितिले दिएको निर्देशनको अक्षरस पालना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

नेपाल वायुसेवा निगमको इञ्जिन मर्मत र पावर बाई आवरका उपकरण आपूर्तिको सम्बन्धमा उहाँ सार्वजनिक लेखा समितिको सदस्य रहदा समितिले निगमलाई दर्जनौ निर्देशनहरु दिएको छ । त्यसबारे मन्त्रीले के निर्णय लिनुहुन्छ । अहिले भन्न नसकिने भएको छ । तर निगममा भने विगतमा लेखा समितिको विरुद्ध निर्णय गरी रकम खानेहरुले गरेको गलत कार्यका असरहरु देखिन थालेका छन् ।

निगमले न्यारो बडीका जहाजका लागि इञ्जिन भाडामा लिन्छ कि नयाँ किन्छ त्यो बोर्डबाट निर्णय गराउन बाँकी नै छ ।

 

 

 

 

Share Now

Leave a comment.