Prakash Adhikari December 30, 2021

काठमाडौं, १५ पौष (बीबीसी) । नेपाली कामदारलाई इजरेल पठाउन आवश्यक तयारी तीव्र पारिएको अधिकारीहरूले बताएका छन्।

इजरेलले लैजान छनौट गरेकामध्ये आधा जतिको सम्झौतापत्र समेत आइसकेको वैदेशिक रोजगार विभागका एक निर्देशकले बीबीसीलाई बताउनुभएको छ।

नेपाली कामदारले आकर्षक गन्तव्यको रूपमा लिएको इजरायल्रमा कामका लागि १ हजार १ सय ७५ नेपाली छनौटमा परेका छन्। छनौट गरिएकामध्ये ८ सय २१ महिला छन् भने ३ सय ५४ जना पुरुष छन्।

इजरेलका दीर्घकालीन स्याहार केन्द्रमा पठाइने सहायक कामदार छनोट गर्न विभागले असोज १६ गते १ हजार ६ सय जनाको सूची इजरेलको जनसङ्ख्या तथा आप्रवासनसम्बन्धी निकाय पीआईबीएलाई पठाएको थियो।

तीममध्ये पीआईबीएले १ हजार १ सय ७५ जनालाई चिट्ठा प्रणालीबाट छनौट गरेको हो।

यसै सन्दर्भमा बीबीसी न्यूज नेपालीका गनी अन्सारीले वैदेशिक रोजगार विभागका एक निर्देशक डम्बरबहादुर सुनारसँग कुराकानी गरेका छन्।

पढ्नुहोस् अन्तर्वार्ताको संपादित अंशः

नेपाली कामदारलाई इजरेल पठाउने तयारी कहाँ पुग्यो?

इजरेलले लग्ने १ हजार १ सय ७५ जना नेपाली कामदार छनौट भएको सूचना प्राप्त भएपछि हामीले सूची सार्वजनिक गर्‍यौँ।

त्यसपछि विभिन्न कामदारको नाममा नै इजरेलको तर्फबाट सम्झौतापत्र प्राप्त भयो जसलाई स्ट्यान्डर्ड एम्प्लोयमेन्ट कन्ट्र्यान्ट (एसईसी) भन्छौँ।

अहिलेसम्म १ हजार १ सय ७५ जनामध्ये ५ सय ८७ जनाको एसईसी प्राप्त भएको छ।

डम्बरबहादुर सुनार

डम्बरबहादुर सुनार

हामीले पटकपटक सूचना जारी गरी जसको नाममा सम्झौता आएको छ उहाँहरूलाई सम्पर्क राख्न भन्यौँ र बोलाएर सम्झौतपत्रमा हस्ताक्षर गराएका छौँ।

तीमध्ये सबै आवश्यक कागजपत्र पूर्ण भइसकेका सम्झौतापत्रलाई हामीले नेपालस्थित इजरायली राजदूतावास अन्तर्गतको कन्सुलेट डिभिजन पठाइसकेका छौँ।

सँगसँगै हामीले रोजगारीका सर्त र सुविधाको विवरण पनि उपलब्ध गराएका छौँ।

सबै कामदारको टुङ्गो कहिलेसम्म लाग्छ र कहिलेदेखि इजरेल पठाउन थाल्ने हो ?

सबैको भन्दा पनि यो चरणबद्ध रूपमा जाने अवस्था छ। जनबरीको १५ तारिखदेखि इजरायल प्रस्थानको तयारी गर्नुपर्छ भन्ने हाम्रो सालाखाला योजना हो।

यो बीचमा हामीले हवाई उडानको यकिन गर्नुपर्ने हुन्छ जसका लागि हामी प्रस्ताव मागिसकेका छौँ। आजको मितिसम्म हामीलाई भिसा प्राप्त भइसकेको छैन।

उहाँहरूले अब चाँडै भिसा उपलब्ध गराउँछौँ भनेर भन्नुभएको छ। भिसा प्राप्त भइसकेपछि हामी कामदारहरूलाई दुई दिने पूर्वप्रस्थान अभिमुखीकरण तालिम दिनेछौँ।

नेपालमै उहाँहरूले बीमा गर्नुपर्ने हुन्छ। त्यसपछि श्रम स्वीकृति प्रदान गर्छौँ ।

त्यसैबीचमा हामीले उडान तालिका तयार गर्नेछौँ र कति सङ्ख्यामा कामदारहरू इजेरल प्रस्थान गर्न सक्नुहुन्छ भनेर एअरलाइन्ससँग हामी प्रस्ताव माग्छौँ।

पुस १६ गते हामी त्यो प्रस्ताव खोल्छौँ। त्यसले के गर्छ भने चार्टर्ड उडान भयो भने ठूलो सङ्ख्यामा अर्थात्‌ एक पटकमा कमसेकम २ सय ५० जना कामदार इजरायल जान पाउनुहुन्छ।

जनवरीको १५ तारिखबाट शुरू गर्न हामीले भनेका छौँ त्यसपछाडि कुनै पनि मितिमा उड्न सक्नुहुन्छ। व्यावसायिक उडान भयो भने कम सङ्ख्यामा तर दैनिक रूपमा जान पाउनुहुन्छ।

इजरेलबाट जति सङ्ख्यामा सम्झौतापत्र प्राप्त हुन्छ सोही आधारमा यहाँबाट कामदार जाने क्रम शुरू हुन्छ।

सेवा, सुविधासम्बन्धी शर्त

इजरायल जाने नेपाली कामदारले त्यहाँका हेरचाह केन्द्रमा रहेका वृद्धवृद्धा, अशक्त बिरामीलाई स्वास्थ्य, सरसफाइ, पोषण, हिँड्डुललगायत सुपरभाइजरबाट प्राप्त निर्देशन तथा रोजगार सम्झौताअनुसार सहयोग पुर्‍याउनुपर्ने हुन्छ।

प्रत्येक २४ घण्टामा दुईदेखि तीनवटा शिफ्ट हुने आवेदनमा उल्लेख छ।

मासिक पारिश्रमिकको १२.५ प्रतिशतले हुने रकम रोजगारदाताले कामदारको नाममा खोलिएको ब्याङ्क खातामा जम्मा गर्नेछ।

इजरेली श्रम कानूनअनुसार कामदारको मासिक पारिश्रमिकबाट रोजगारदाताबाट उपलब्ध गराइने स्वास्थ्य बिमाको प्रिमियम रकम, आवास तथा खाना खर्च, सम्पत्ति कर, पानी एवम् बिजुली महसुल र आयकर शीर्षकमा कट्टा गरिनेछ।

इजरायल जाने कामदारले हवाई भाडा, स्वास्थ्य परीक्षण, अभिमुखीकरण तालिमसहित विभिन्न शीर्षकमा हुने एक लाख ६५ हजारभन्दा केही बढी रकम आफैँले बेहोर्नुपर्ने वैदेशिक रोजगार विभागले जनाएको छ।

विभागद्वारा प्रकाशित सूचनाअनुसार प्रत्येक कामदारको मासिक तलब लगभग १ हजार ६ सय अमेरिकी डलर हुनेछ।

कामदारले सातामा ६ दिन काम गर्नुपर्ने हुन्छ भने त्यहाँको सरकारी नियम अनुसार ओभर टाइमको सुविधा हुनेछ।

खानामा हुने खर्च तलबबाट कटाइनेछ भने रोजगार दाताले सुरक्षित र स्वच्छ आवासको व्यवस्था गर्नेछ।

विभागका अनुसार शुरूमा करार अवधि एक वर्ष हुनेछ र करार अवधि थप गरिएमा अधिकतम अवधि पाँच वर्षसम्म हुनेछ।

नेपाली कामदारलाई लैजान अहिलेसम्म कतिवटा हवाई सेवा कम्पनीले इच्छा देखाएका छन्रु

थुप्रै एअरलाइन्सले यसको बारेमा सोधपुछ गरिरहनुभएको हुनाले पुस १५ गतेसम्म प्रस्ताव पेश गर्ने समय दिएका छौँ।

त्यसपछि कति सङ्ख्यामा पठाउन सक्छौँ भन्ने यकिन गर्न हामीलाई सजिलो हुन्छ।

अनि सम्झौतापत्रमा हस्ताक्षर गरिसकेका भिसा जारी भइसकेका कामदारको हकमा तालिमको तयारी गर्छौँ र उडानको तालिका बनाएर इजेरल प्रस्थानको तयारीमा जुट्छौँ।

उडानका लागि प्रतिकामदार कति जति खर्च लाग्न सक्ने तपाईँहरूको अनुमान छ?

चार्टर्ड उडानको हकमा समेत हुनेगरी हामीले प्रतिकामदार १ लाख ४० हजार रुपैयाँ अनुमान गरेका छौँ।

तर त्यो अन्तिम पनि होइन र त्यति नै तिर्नुपर्छ भन्ने नि होइन।

सबैभन्दा सस्तोमा कसले लैजान सक्छ भनेर प्रस्ताव पेश गर्न हामीले आह्वान गरेका छौँ।

त्यो प्रस्ताव आइसकेपछि मात्रै भाडादर कति हुन्छ भनेर भन्न सक्ने अवस्था रहन्छ।

उसो भए चार्टर्ड उडानका लागि प्रतिव्यक्ति एक लाख ४० हजार रुपैयाँ लाग्छ भन्ने यहाँहरूको अनुमान हो ?

बढीमा १ लाख ४० हजार रुपैयाँ भन्ने हो। किनभने नेपाल एअरलाइन्सको अनुभव कस्तो देखियो भने यताबाट यात्री लिएर जाने तर उताबाट खाली आउने।

त्यो भएर बढीमा त्यति लाग्छ भन्ने अनुमान हो। तर त्यो बिन्दुसम्म पुग्ने अवस्था हुँदैन।

व्यावसायिक उडानको हकमा लाग्न खर्चबारे पनि कुनै अनुमान छ कि सरदरमा १ लाख ४० हजार रुपैयाँ भनिएको हो?

हामीले बजारमा बुझ्दाखेरी व्यावसायिक उडानमा प्रतिव्यक्ति बढीमा ६०(७० हजार रुपैयाँ लिने गरिएको पाइएको छ। तथापि यो आधिकारिक होइन।

इजरेल जाने नेपाली कामदारले कोभिड खोप लगाउनुपर्ने विषयमा के कस्ता शर्त छन् ?

छनौटमा परेका लगभग सबै कामदारले कोभिड खोप लगाइसक्नुभएको अवस्था छ। क्यूआर कोडमार्फत्‌ हामीले सूचना अद्यावधिक गरिरहेका छौँ।

उडानपूर्वका कुरा भन्नुपर्दा २४ घण्टाअगाडि पीसीआर गरेको हुनुपर्ने रिपोर्टलाई अनलाइनमा प्रविष्ट गर्नुपर्ने हो।

कुनै कम्पनी विशेषको कोभिड खोप लगाउनुपर्ने शर्त छ कि नेपालले प्रयोग गरिरहेका खोपलाई पनि इजरायलले मान्यता दिन्छ?

सातवटा खोपको नाम उहाँहरूले हामीलाई पठाउनुभएको छ। लगभग हामीले नेपालमा प्रयोग गर्दै आएका खोपहरू समेटिएका छन्।

 

Share Now

Leave a comment.