Prakash Adhikari January 11, 2022

 

काठमाडौं,२७ पौष । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्तीका अवसरमा आज पौष २७ गते मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी राष्ट्रिय एकता दिवस मनाइँदैछ ।

सिंहदरबार पश्चिम मूलद्वारमा नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा आयोजना हुने पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस समारोहमा मुलुकका विभिन्न क्षेत्रका विशिष्ट महानुुभाव सहभागी हुने कार्यक्रम रहेको छ।

समारोहमा पश्चिम मूलद्वारमा अवस्थित राष्ट्र निर्माताको शालीकमा पुष्पहार अर्पण गरी नेपालको एकीकरणमा पृथ्वीनारायण शाहको योगदानको स्मरण गरिने छ।

विसं १७७९ पौष २७ गते गोर्खामा जन्मिनुभएका पृथ्वीनारायण शाहले ससाना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गर्नुभएको थियो ।

उहाँकै दूरदर्शिता र नेतृत्वमा गोर्खाबाट सुरु भएको नेपाल एकीकरणको अभियानमा त्यसबेलाका बाइसे, चौबिसे लगायत धेरै राज्यहरु एकीकरण गरी नेपालको निर्माण भएको थियो । उहाँलाई आधुनिक नेपालका निर्माता तथा राष्ट्रिय एकताका नायकको रुपमा मानिन्छ ।

शाहको सम्झनामा नेपाली सेनाले पनि सैनिक मुख्यालय जङ्गी अड्डामा अवस्थित राष्ट्र निर्माताको शालिकमा माल्यार्पण गरी उहाँको योगदानको स्मरण गर्ने परम्प्रा कायम गर्दै आएको छ ।

मुलुकको विकास र समृद्धिका लागि सुशासन कायम गर्न घुस दिने र लिने दुवै देशका शत्रु हुन् भन्ने राष्ट्र निर्माताको धारणा सदासर्वदा स्मरण योग्य छ।

नेपाल दुई ढुंगाबीचको तरुल हो भन्ने उहाँको कथन नेपालको परराष्ट्र नीतिको मार्गदर्शक नै हो भन्ने गरिन्छ ।

पृथ्वीनारायण शाहले राज्य विस्तार गर्दा र राज्य सञ्चालन दिएका महत्वपूर्ण आदेश तथा उहाँका कथनहरुलाई संग्रह गरी दिब्योपदेशको रुपमा प्रकाशनमा ल्याइएको छ ।

पृथ्वीनारायण शाह योगदानको कदर गर्दै २७ पौषलाई पृथ्वी जयन्तीका रुपमा मनाउने गरिएको छ।

२००७ सालपछि देशमा राष्ट्रिय एकता दिवस मनाउन थालिए पनि २०६२ । ०६३ सालको आन्दोलनपछि सरकारी स्तरबाट राष्ट्रिय एकता दिवसलाई खारेज गरिएको हो।

सरकारले पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाउन छाडे पनि नागरिक स्तरबाट भने विभिन्न कार्यक्रम भने हरेक वर्ष हुने गरेका छन्।

पूर्व राजा ज्ञानेन्द्रद्धारा माल्यार्पणको कार्यक्रम

सायद पाठ को तस्बिर हुनसक्छ

आज नेपाल सरकारले सरकारी स्तरमा सार्वजनिक कार्यक्रमको आयोजना नगरे पनि पूर्वराजा ज्ञानेन्द्र शाह भने सिंहदरबारको पश्चिमतिरको मूल द्धार सामुन्ने रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पणमा सरिक हुने कार्यक्रम रहेको छ ।

पूर्वराजाका संवाद सचिव फणिराज पाठकले सोमबार एक विज्ञप्ति जारी गरी आज दिउँसो १२ः३० बजे ज्ञानेन्द्र शाहबाट सिंहदरबारको मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको जानकारी दिनुभएको छ ।

पूर्व राजाले आज जारी गर्नुभएको शुभकामना सन्देशमा राष्ट्रियताका आधारहरु समाप्त भई देशको अस्तित्व समेत संकटमा पारेको यस घडीमा पृथ्वीनारायणका मार्गदर्शन र दिव्योपदेश अझ सान्दर्भिक भएको उल्लेख गरिएको छ ।

उहाँले जारी गर्नुभएको सन्देशमा भनिएको छ, राष्ट्रको कीर्ति र जनताको सुखबाहेका प्रजातन्त्रको अर्को कुनै लक्ष्य हुन सक्दैन । जन इच्छा र प्रगतिसंग सरोकार नराख्ने प्रणालीको नाम जनतन्त्र,जनवाद, लोकतन्त्र, गणतन्त्र,जनगणतन्त्र, जेसुकै चयन गरियून यसले राष्ट्रहित र जनसेवाको चरित्र धारण गरेको छैन भने त्यो निरर्थक सावित हुनेछ ।”

सन्देशमा अगाडि भनिएको छ, “प्रणाली केवल साधन हुन । साधन परिवर्तनलाई नै महान उपलब्धिका रुपमा वर्णन गर्ने प्रयास हुँदै आएका छन् । सबैभन्दा उन्न्त दावी गरिएको तन्त्रमा जनताले सास्ती र राष्ट्रले अस्तित्वप्रति नै चिन्ता गर्नुपर्ने परिस्थिति बन्दछ भने त्यस्तो तन्त्रमा अभ्यासको व्यर्थ प्रयासमा समय बरबार गर्न नहुने निष्कर्षमा पुग्न बिलम्ब गरिनु हुँदैन ।”

पूर्वराजा ज्ञानेन्द्रको सन्देशमा भनिएको छ, “हाम्रो भूगोल,माटो र पन, आफ्नै धर्म,संस्कृति एवम् गतिविधि नै हामीलाई प्यारो र राम्रो लाग्छ ।आफ्नो गौरवमय अस्तित्वलाई जोगाइराख्न हिमाल, पहाड र तराइका सबै हामी एक बनौ । हाम्रो राष्ट्रियता सुदृढ राखौ अनि समग्र राष्ट्रलाई सिगारौ भन्ने हाम्रो आजको आकांक्षा र आवश्यकता हो ।”

सायद पाठ को तस्बिर हुनसक्छ

 

Share Now

Leave a comment.