मारिओपोल(युक्रेन), ३ चैत्र । रुसी फौजको आक्रमणबाट जोगिन युक्रेनी बालबालिका र महिलाहरुले आश्रय लिइरहेको मारिओपोलको नाटकघरमा रुसी बम आक्रमणमा परेको छ ।
मारिओपोलस्थित नाटकघरको भूमिगत तलामा एक हजार भन्दा बढी महिला र बालबालिकाले आश्रय लिएर बसेको एक सांसदले बताएका छन्।
उक्त नाटकघर रुसी हवाई आक्रमणमा परेको थियो। तर त्यहाँ कति जना हताहत भए भन्ने स्पष्ट छैन।
सांसद दिमित्रो गुरिनका अनुसार उहाँका आमाबुवा पनि मारिओपोलमा फस्नुभएको छ।
“त्यो भवन क्षतिग्रस्त भएको छ, भूमिगत तलामा भएको बम शेल्टरमा १,००० जनाभन्दा बढी महिला र बालबालिका छन्। केही समयअघि हामीले पाएको सूचनाअनुसार बम शेल्टर जोगियो र तयहाँ भएका मानिसहरू पनि जोगिए,” बीबीसीसँग कुरा गर्दै उहाँले भन्नुभयो, “हामीलाई अझै कोही घाइते भएका छन् वा मरेका छन् भन्ने थाहा छैन। तर अधिकांश मानिस जीवितै छन् र ठिकै छन।”
रुसी घेराबन्दीमा परेको मारिओपोलस्थित सो नाटकघरलाई ठूलो सङ्ख्यामा सर्वसाधारणहरूले आश्रयस्थलका रूपमा प्रयोग गरिरहेका थिए।
सहरका अधिकारीहरूले १,२०० जनाजति मानिस भवनभित्र रहेका बेला रुसी लडाकु विमानले जानीजानी निसाना बनाएको दाबी गरेका छन्।
उक्त घटनाका विस्तृत विवरण स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन।
रुसले भने त्यहाँ आक्रमण नभएको जनाएको छ।
चारै तिरबाट रुसी सेनाले घेरेको मारिओपोलमा हप्तौँदेखि निरन्तर बमबारी भइरहेको छ।

मारिओपोलको नाटकघर
रुसी विमानहरूलाई जनाउ दिन उक्त नाटकघरको बाहिर चौरमा ठूलो अक्षरमा “बालबालिका” लेखिएको थियो।
युक्रेनी सेनाका एक वरिष्ठ अधिकारीले रुसी सेना जमिनमा अघि बढ्न नसकेपछि रुसी लडाकु विमानहरूले गैरसैनिक संरचना र सर्वसाधारण मानिसहरू भएको ठाउँलाई तारो बनाएको दाबी गरेका छन्।
युक्रेनी अधिकारीहरूले रुसले जानीजानी झन्डै १,२०० जना मानिसले आश्रय लिइरहेको मारिओपोलस्थित नाटकघरमा बुधवार आक्रमण गरेको दाबी गरेको छ।
ूबम प्रहार हुँदा नाटकघरको मध्य भाग भत्कियो जसबाट धेरै मानिसहरू भग्नावशेषमा पुरिएका छन्,ू युक्रेनी विदेश मन्त्रालयले प्रकाशित गरेको सुरुको विज्ञप्तिमा भनिएको थियो।
बमबारी जारी रहेकाले त्यहाँ कति मानिस हताहत भए भन्ने थाहा हुन सकेको छैन।
विदेशमन्त्रीले उक्त नाटकघरको पहिलाको अवस्था र बम आक्रमण भएपछिको अवस्था तस्बिरहरू उपलब्ध ट्वीट गरेको छ।
बीबीसीले विध्वंस भएको देखिने दोस्रो तस्बिरको आधरिकारिकता पुष्टि गर्न सकेको छैन।
२० लाख युक्रेनी पोल्यान्डमा

युक्रेनमा युद्ध सुरु भएपछि झन्डै २० लाख मानिस युक्रेनबाट पोल्यान्ड छिरेको जानकारी पोलिश सीमा सुरक्षा निकायले दिएको छ।
पोल्यान्ड आएका झन्डैै पाँच लाख मानिस अन्यत्र गइसकेको वार्सा विश्वविद्यालयमा कार्यरत आप्रवासनसम्बन्धी अनुसन्धानकर्ता प्राध्यापक माचे दुश्चकले बताउनुभयो।
बुधवार मात्र ६०,००० मानिसले सीमा पार गरेको सीमा सुरक्षाबलले जनाएको छ। उक्त सङ्ख्या मङ्गलवारको भन्दा ११ प्रतिशत कम हो।
बिहीवार जीएमटी ६ बजेसम्म १२ हजार जना युक्रेनबाट पोल्यान्ड प्रवेश गरेका थिए। बुधवार सोही अवधिमा सीमा पार गर्ने मानिसको सङ्ख्या १३ हजार ६ सय थियो।
पोल्यान्ड छिरेका अधिकांश शरणार्थीहरू वार्सा, क्राको र व्रोक्लाजस्ता ठूला सहरमा गएका छन्।
सबै मोर्चामा रुसी आक्रमण सुस्तः यूके
यूकेका रक्षा मन्त्रालयका अनुसार युक्रेनमा रुसी आक्रामक कारबाहीहरू ूसबै मोर्चामा धेरै सुस्तू भएको छ।
आज बिहान प्रकाशित एउटा विज्ञप्तिमा रुसी सैनिकहरूले ूकेही दिनयता स्थल, जल वा आकाशमा एकदमै कम प्रगति हात पारेको तथा उनीहरूले ठूलो क्षति बेहोरेकोू उल्लेख छ।
यूकेले युक्रेनी प्रतिरोध बलियो र सुसंयोजित भएको तथा प्रमुख सहरहरूसहित युक्रेनको अधिकांश भूभाग युक्रेनी नियन्त्रणमा रहेको जनाएको छ।
युक्रेनी सेनाका अनुसार रुस अहिले गैरसैनिक नागरिकहरूलाई निसाना बनाउनेगरी हवाई आक्रमणमा केन्द्रित भएको छ।
जमिनमा असफल भएकाले रुसी सैनिकहरूले त्यसो गर्न लागेको उसको आरोप छ।
अहिलेसम्म रुसले आफ्ना ५०० सैनिकको मृत्यु भएको स्वीकार गरेको छ । तर अमेरिकी गुप्तचर निकायका अनुसार मृत्यु हुने रुसी सैनिकको सङ्ख्या ७,००० जति हुनुपर्छ।
आज सुरक्षा परिषद्को आपत्कालीन बैठक
युक्रेनमा मानवीय सङ्कट बढिरहेको विषयबारे छलफल गर्न संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आज बस्न लागेको छ।
कूटनीतिक स्रोतहरूका अनुसार केही दिनयता युक्रेनमा गैरसैनिक क्षेत्रमा रुसी आक्रमण बढेपछि अमेरिका, ब्रिटेन, फ्रान्स, आयरल्यान्ड, नर्वे र एल्बेनीआको आह्वानमा उक्त बैठक बस्न लागेको हो।
अमेरिका, यूके र फ्रान्स सुरक्षा परिषद्का सदस्य हुन्। रुस र चीन पनि उक्त परिषद्मा सदस्य छन्।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई सबै सदस्यराष्ट्र उपस्थित हुने संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्न दिने विषयमा छलफल भइरहेको विवरण पनि आएको छ।
युक्रेनलाई किलर ड्रोन
एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै समाचारसंस्था एपीले अमेरिकाले युक्रेनलाई १०० वटा ‘किलर ड्रोन’ पठाउन लागेको समाचार प्रकाशित गरेको छ।
बाइडन सरकारले घोषणा गरेको एउटा ठूलो सैन्य सहायता प्याकेजअन्तर्गत ती घातक अस्त्र किएभलाई उपलब्ध गराउन लागिएको जानकारी उक्त निर्णयबारे अवगतती अधिकारीले दिएका हुन्।

नाम उल्लेख गर्न नचाहने ती सैन्य अधिकारीका अनुसार उपलब्ध गराइन लागेको यो अस्त्र स्विचब्लेड ३०० हो। यसलाई झोलामा बोक्न सकिन्छ र अमेरिकी सैनिकहरू यसलाई ‘कामिकाजे ड्रोन’ भनेर चिन्छन्।
कङ्ग्रेसका अधिकारीहरूले एनबीसी न्यूजलाई बताएअनुसार उक्त क्षेप्यास्त्र प्रणाली शत्रुपक्षका सैनिकहरूलाई लक्ष्य गरेर प्रहार गर्न विकसित गरिएको हो र कोसौँ परबाट लक्ष्यमा बिनाचुक प्रहार गर्न यसको प्रयोग गर्न सकिन्छ।
रुसी डिजाइनको भए पनि यी अस्त्रहरू केही नेटो राष्ट्रहरूसँग छन्। तसर्थ युक्रेनी सेनामा यसको प्रयोग सजिलै हुन सक्ने ठानिएको एएफपीले जनाएको छ।
धेरै रुसी सैनिकको मृत्यु

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनमा रुसी सेनाले सिरिया, चेचन्या र अफगानिस्तामा भएका युद्धमा भन्दा बढी सैन्य क्षति बेहोर्नुपरेको दाबी गर्नुभएको छ।
बुधवार राति अबेला गरेको सम्बोधनका क्रममा उहाँले रुसी भाषामा बोल्दै रुसी जनतालाई भन्नुभयोः “रुसी सैनिकहरूले युक्रेनमा त्यस्तो क्षति बेहोरेका छन् जुन न त सिरियामा न त चेचन्यामा बेहोर्नुपरेको थियो। सोभियत सैनिकहरूले न त अफगानिस्तानमा नै त्यस्तो क्षति बेहोर्नुपरेको थियो।”
यद्यपि युद्धबारे नियन्त्रित सूचना मात्र प्रवाह गरिएको रुसमा मानिसहरूले जेलेन्स्कीले भनेको कुरा सुन्ने सम्भावना न्यून छ।
जेलेन्स्कीले केका आधारमा त्यस्तो दाबी गरेका हुन् भन्ने स्पष्ट छैन।
केही दिनअघि उनले रुसी सैनिकहरूलाई आत्मसमर्पण गर्न आह्वान गरेका थिए।
अमेरिकी गुप्तचर निकायले रुसले युक्रेनमा आक्रमण गरेयता ७ हजार भन्दा बढी रुसी सैनिकको मृत्यु भइसकेको अनुमान गरेको छ।
सन् १९७९ देखि १९८९ सम्म भएको अफगान युद्धमा झन्डै १५ हजार सोभियत सैनिक, चेचन्यामा भएका युद्धहरूमा कम्तीमा १३ हजार रुसी सैनिक र सिरिया युद्धमा केही सय रुसी सैनिकको मृत्यु भएको आकलन गरिएको छ।


















