Prakash Adhikari July 11, 2022

काठमाडौं, २७ आषाढ । नेपालमा कोरोनाभाइरस सङ्क्रमण दर क्रमशः बढिरहेको अधिकारीहरूले बताएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार असार महिनाको आरम्भदेखि सङ्क्रमण बढ्ने क्रममा देखिएको छ।

उहाँका अनुसार अहिले सरकारले निगरानी बढाउने, परीक्षणको दायरा फराकिलो बनाउने, सीमा क्षेत्रमा एन्टिजन परीक्षण गर्ने कामलाई तीव्र बनाउन थालेको छ।

“प्रायः प्रमुख नाकाबाट प्रवेश गर्ने मानिसमा सङ्क्रमण देखिएको छ। त्यसैले त्यहाँ कडाइ गर्न र परीक्षण गर्न ध्यान दिएका छौँ”, उहाँले भन्नुभयो।

हवाईमार्गबाट नेपाल भित्रिने व्यक्तिबारे शङ्का लागेमा विमानस्थलको हेल्थ डेस्कमा खटेका कर्मचारीले जाँच गर्ने उहाँले बतानुभयो।

सङ्क्रमण नियन्त्रणका लागि सुरक्षा मापदण्ड पालन गर्नु र खोप लगाउनु अत्यावश्यक भएको जानकारहरूले बताएका छन्।

अस्पताल
तस्बिर स्रोत,शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल
अस्पतालको अवस्था कस्त ?

अहिले नेपालमा कोभिड भएका सक्रिय सङ्क्रमितको सङ्ख्या ७ सय ७० पुगेको छ।

मन्त्रालयले सोमवार अपराह्ण सार्वजनिक गरेको विवरणअनुसार २४ घण्टाको अवधिमा १ सय ६८ जनामा सङ्क्रमण पुष्टि भएको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मानिसहरू दैनिक कोरोनाभाइरस परीक्षण गर्न जाने र सङ्क्रमण पुष्टि हुने गरेको अस्पतालका सूचना अधिकारी नवराज गौतमले बताउनुभयो ।

यद्यपि सङ्क्रमितहरूमा गम्भीर किसिमको लक्षण देखा नपरेको उहाँले बताउनुभएको छ।

कस्ता छन् लक्षण?

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. विमल शर्मा चालिसेका अनुसार त्यहाँ पुष्टि भएका बिरामीमा प्रायः ओमिक्रोन भेरिअन्टका विभिन्न प्रकारबाट सङ्क्रमण भएको छ।

बिरामीमा देखा परेका लक्षणहरू ओमिक्रोन भेरिअन्टसँग मिल्दाजुल्दा छन्।

कोभिड खोप

उहाँका अनुसार प्रायः सङ्क्रमितहरूमा ज्वरो आउने, घाँटी दुख्ने, खोकी लाग्ने र शरीर अधिक दुख्ने जस्ता समस्या देखिएका छन्।

“लक्षणहरू यसअघि देखिएकाभन्दा फरक छैनन्। हामीले ज्वरोसँगै झाडापखाला लागेका केही बिरामीको पनि पीसीआर परीक्षण गरायौँ तर उहाँहरूमा सङ्क्रमण पुष्टि भएन”,ू डा. चालिसेले भन्नुभयो।

कोरोनाभाइरस

उहाँका अनुसार दैनिक १० जनासम्ममा सीमित सङ्क्रमण दर अहिले ९० देखि १०० को हाराहारीमा पुगेको हो।

“तर अहिले नै अवस्था चिन्ताजनक बन्न सक्छ भन्ने स्थिति छैन। सजग र सतर्क रहने हो भने सङ्क्रमण फैलन नदिन र सङ्क्रमण भइहाले स्वास्थ्यस्थिति गम्भीर हुने सम्भावना कम गर्न सकिन्छ”, उहाँले सुझाव दिनुभयो।

परीक्षणको अवस्था कस्तो ?

डा. चालिसेका अनुसार अहिले कोभिड १९ को लक्षण भएका बिरामीहरू देखिए पनि उनीहरूले सङ्क्रमण परीक्षण गराएका छैनन्।

प्रायः बिरामीले कोभिडविरुद्ध दुई वा तीन मात्रा खोप लगाइसकेको भएकाले अथवा यसअघि पनि सङ्क्रमण भएकाले परीक्षण नगराएको हुनसक्ने उहाँको अनुमान छ।

“केहीले व्यक्तिगत रूपमा परामर्श लिइराख्नुभएको छ। कोही स्वास्थ्य जाँच गराउन आउनुहुन्छ तर कोभिडको परीक्षण गराउनुहुन्न। यो रोगले धेरै असर गर्दैन वा गम्भीर बनाउँदैन भन्ने आत्मविश्वास बढेको देखिन्छ”, उहाँले बताउनुभयो।

सामान्य लक्षण देखिएका मानिसले समेत परीक्षण नगराउँदा सङ्क्रमण दर बढेकोभन्दा कम देखिएको हुनसक्ने उहाँको बुझाइ छ।

“खोप लगाएका मानिसलाई सङ्क्रमण भए पनि अवस्था जटिल नबन्ने अध्ययनहरूले देखाएका छन्। तर सङ्क्रमण फैलिन नदिन परीक्षण गराउनु आवश्यक छ”, डा. चालिसेले भन्नुभयो।

ओमिक्रोन भेरिअन्ट

 

ओमिक्रोन भेरिअन्ट
सुरक्षाका लागि के गर्ने ?

सङ्क्रमण पुष्टि भएका मानिसले पूर्ण सतर्कता अपनाएर अन्य मानिससँग दूरी कायम गर्छन्। तर लक्षण देखिएर पनि परीक्षण नगराएका व्यक्तिबाट सङ्क्रमण फैलिन सक्ने सम्भावना यथावत् रहने उहाँ बताउँनुहुन्छ।

“परीक्षण नगराउँदा मानिस हिँडडुल गर्छ। यदि उसलाई सङ्क्रमण रहेछ भने त्यो एकपछि अर्को मानिस गर्दै समुदायमा फैलिन सक्छ”, उहाँले चेतावनी दिनुभयो।

कोभिडका नौ नयाँ लक्षण थपिए

त्यस्तै बिरामीलाई दीर्घ कोभिड वा कोभिडपछि विभिन्न समस्या हुन सक्ने उहाँँले बताउनुभयो। सामान्यतया मानिसहरूमा तनाव र थकान बढ्ने, कुराहरूमा ध्यान केन्द्रित नहुने, शरीर दुख्ने, लामो समयसम्म खोकी लाग्ने वा घाँटी दुख्ने समस्याहरू देखिन सक्ने उहाँ बताउँनुहुन्छ।

उहाँका अनुसार सङ्क्रमणको जोखिम कम गर्न स्वास्थ्य सुरक्षा मापदण्ड नै प्रमुख उपाय भए पनि मानिसहरूले त्यसतर्फ ध्यान दिएका छैनन्।

“दुई वर्षभन्दा बढी अवधिमा मानिसहरूलाई मापदण्ड पालन गर्ने बानी लाग्नुपर्ने हो। तर मानिसहरूले मास्क लगाउन छोडेका छन्। भिडभाड हुने गतिविधिहरू बढेका छन्।”

 

कस्ता मानिसले परीक्षण गराउने?

ज्वरो आएको, घाँटी वा ज्यान दुखेको, गन्ध वा स्वादमा परिवर्तन महसुस गरेका मानिसहरूलाई सङ्क्रमण परीक्षण गराउन डा. चालिसे सुझाव दिनुहुन्छ।

सरकारी स्वास्थ्य केन्द्रहरूमा लक्षण देखिएका मानिसहरूको निस्शुल्क परीक्षण हुने उहाँले बताउनुभयो।

“लक्षण नदेखिए पनि सबैले सजग हुन अत्यावश्यक छ। मास्क र हातको नियमित सरसफाइ गर्नुपर्छ।”

खोपको आवश्यकता
सङ्क्रमण दर नियन्त्रण र स्वास्थ्य जटिलता कम गर्न खोप अत्यावश्यक रहेको अध्ययनहरूले देखाएका छन्।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययनले कोभिडविरुद्ध खोपको अतिरिक्त मात्रा लगाएकाहरूलाई ९५ प्रतिशत सुरक्षा प्राप्त भएको देखाएको छ।

अध्ययनमा संलग्न डा. विष्णु मरासिनीका अनुसार पहिलो मात्रा लगाएकामध्ये ६८ प्रतिशत र पहिलो र दोस्रो खुबै मात्रा खोप पाएकाहरूमध्ये ८३ प्रतिशत मानिसहरूमा दोहोर्‍याएर सङ्क्रमण भएको देखिएन।

“दुवै मात्रा लगाए पनि १७ प्रतिशत मानिसलाई सङ्क्रमण भएको देखिएको थियो। अहिले अतिरिक्त खोप समेत वितरण भइरहेकोले त्यसको प्रभावकारिताबारे अध्ययन हुन बाँकी छ”, उहाँले भन्नुभयो।

उहाँका अनुसार खोप लगाएको छ महिनापछि मानिसको शरीरमा त्यसले विकास गरेको एन्टिबडी ८० प्रतिशतसम्म घटेको थियो।

यद्यपि सङ्क्रमण नियन्त्रणका लागि खोप प्रभावकारी उपाय भएको उनको धारणा छ।(बीबीसीको सहयोगमा)

Share Now

Leave a comment.