काठमाडौं, २८ आषाढ । नेपाल भ्रमणमा आउनुभएका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेतृत्वको टोलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित शीर्ष नेताहरुलाई भेटेपछि सो पार्टीका नेताहरु दंग पर्नुभएको छ।
यस अगाडि आएका कुनै पनि चिनिया नेता र मन्त्रीले एमालेबाट विभाजित भएको नेकपा समाजवादीका अध्यक्ष नेपाल र शीर्ष नेता खनाललाई भेटेका थिएनन् ।
यो भेटले चीनले पनि नेकपा एकीकृत समाजवादीलाई राजनीतिक मान्यता दिएको अर्थ समाजवादीका नेताहरुले लगाएका छन् ।
मंगलबार नयाँ बानेश्वरमा भएको दुई पक्षीय भेटवार्तामा नेपाल र चीनबीचको सम्बन्ध घनिष्ट बनाउनेदेखि दुई पार्टीबीचको सम्बन्ध अझ बलियो बनाउने भन्ने विषयमा कुराकानी भएको थियो ।
‘नेपाल र चीनबीचको सम्बन्ध घनिष्ट बनाउनेदेखि दुई पार्टीबीचको सम्बन्ध कसरी बलियो बनाउने भन्ने विषयमा कुराकानी भए’, अध्यक्ष नेपालले चिनिया प्रतिनिधि मण्डलसंगको भेटवार्ता पछि भन्नुभयो,‘नेपालबाट चीन र चीनबाट नेपालले सिक्ने कुराहरुमा डेलिगेसन आदान प्रदान गर्ने विषयमा छलफल र कुराकानीहरू भए ।’
भेटवार्तामा आफूहरुले नेपाल एक चीन नीतिमा दृढ रहेको तथा नेपालको भूमि बाह्य हस्तक्षेपका लागि प्रयोग हुन नदिने प्रतिवद्धता जनाएको अध्यक्ष नेपालले जानकारी दिनुभएको छ।
उहाँले चीनसँगको सम्बन्धमा कुनै समस्या नरहेको पनि दावी गर्नुभयो ।
त्यसक्रममा चिनियाँ पक्षले नेपाललाई महत्व दिएको र सहयोग आदान प्रदानमा कुनै कमी नआउने जवाफ दिएको थियो । चिनिया कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख जियानचाओेले आम रुपमा नेपाल एक भएको र नेपालका पार्टीहरू विभाजित नभई एक भएको हेर्न चाहेको बताएका बताउनुभएको थियो ।
‘नेपाल र नेपालका पार्टी एक भएकोबारे चर्चा भए तर फलाना पार्टी भनेर कुरा भएन । एकता नै बल हो । नेपालका पार्टीहरू एक भएर बढून् भन्ने उहाँहरुको अपेक्षा रहेको देखियो’, अध्यक्ष नेपालले भन्नुभयो, ‘चीनको सुरक्षा चासोलाई प्रस्ट पार्ने काम हामीले गरेका छौँ । केही केही समस्या जन्मेका भएपनि पार्टी र जनताले खबरदारी गर्छन् तर हामी स्वतन्त्र र परराष्ट्र नीतिका बारेमा हामी प्रतिवद्ध छौ भन्ने कुरा राख्यौ ।’


















