लण्डन(संयुक्त अधिराज्य), २८ आषाढ । संकटग्रस्त श्रीलंकाका राष्ट्रपति गोताबाय राजापाक्षेले सोमबार राति देश छाडेर भाग्ने प्रयास गरेको खुलासा भएको छ।
तर, विमानस्थलका कर्मचारीले बाटो छेक्दा उनी अपमानजनक रुपमा फर्किन बाध्य हुनुभएको खबर छ।
महिनौँको विशाल प्रदर्शनपछि बुधबार राजीनामा दिने बताएका राजापाक्षे सोमबार विमानमार्फत दुबई जान खोज्नुभएको थियो।
तर, अध्यागमनका कर्मचारीले राजापाक्षेलाई पासपोर्टमा छाप लगाउन विमानस्थलको भीआईपी क्षेत्रमा प्रवेश गर्न दिएनन्। भीडले हुलदंगा गर्ने डरले उहाँ साधारण लाइनमा गएर उभिन पनि सक्नुभएन।
त्यसैले उहाँका चार वटा उडान छुटे। त्यसपछि उहाँ पत्नीसहित नजिकैको सैन्य शिविरमा फर्किनुभयो।
एएफपीसँग कुरा गरेका अधिकारीहरुले राजापाक्षे नौसेनाको डुंगाबाट श्रीलंका छाडेर भाग्ने तयारीमा रहेको बताएका छन्।
राष्ट्रपति पदमा कायम रहँदासम्म राजापाक्षेलाई गिरफ्तारीबाट उन्मुक्ति प्राप्त छ। त्यसैले पदत्याग गर्नुअघि नै उहाँ विदेश जान चाहेको बताइएको छ। उहाँमाथि भ्रष्टाचार र आर्थिक अव्यवस्थाको आरोप छ। जसले मुलुकलाई टाट पल्टाएको छ।
उहाँमाथि युद्धअपराधको आरोप पनि छ। तमिल अल्पसंख्यकविरुद्धको गृहयुद्धमा रक्षा सचिव रहनुभएका उहाँमाथि नागरिक बेपत्ता बनाएको र गैरकानुनी हत्या गरेको आरोप पनि छ।
उहाँ मात्र होइन, उहाँका भाइ पूर्वअर्थमन्त्री बेसिल राजापाक्षेले पनि मंगलबार बिहान दुबई हुँदै अमेरिका भाग्ने कोसिस गर्नुभएको थियो। तर, कर्मचारीले उहाँलाई रोकेपछि अमेरिकी नागरिक समेत रहनुभएका बेसिल फर्कनुभएको थियो।
राजापाक्षे परिवारका सदस्यले देश छाडेर भाग्ने प्रयास गरेको खुलासापछि बेसिल, महिन्दा, प्रधानमन्त्री रनिल विक्रमासिंगे र अन्य अधिकारीहरुलाई देशबाहिर जान प्रतिबन्ध लगाउने आदेश दिन मंगलबार सर्वोच्च अदालतमा निवेदन परेको छ। (द गार्डियन)


















