कोलम्बो(श्रीलंका), ३१ आषाढ । श्रीलङ्काको एउटा अदालतले पूर्व प्रधानमन्त्री महिन्द राजपक्ष र उहाँका भाइ पूर्वअर्थमन्त्री बासिल राजपक्षलाई देश छाड्न रोक लगाएको छ।
हप्तौँको विशाल विरोध प्रदर्शनमाझ राष्ट्रपति गोटाबय राजपक्ष देश छाडेर भागेको केही दिनपश्चात् अदालतले उक्त रोक लगाएको हो।
राष्ट्रपति गोटाबाय राजपक्षले बिहीवार सिङ्गापुर पुगेर राजीनामापत्र पठाउनुभएको थियो।
शुक्रवार प्रधानमन्त्री रनिल विक्रमसिङ्घलाई कार्यवाहक राष्ट्रपतिको शपथ दिलाइएको छ।
राष्ट्रपति राजपक्ष भागेर माल्दिभ्स पुगेपछि यसै साता उहाँ कार्यवाहक राष्ट्रपति बनेको घोषणा गरिएको थियो।
आगामी साता नयाँ राष्ट्रपति चयन गरिने सभामुख महिन्द यप अबेवर्दनले बताउनुभएको छ।
विक्रमसिङ्घको पार्टी एसएलपीपीले उहाँलाई राष्ट्रपति पदको उम्मेदवारका रूपमा मनोनयन गरेको छ।
श्रीलङ्काको पछिल्लो अवस्थाबारे बीबीसीका अनबरसन इथिराजन भन्नुहुन्छ, “सभामुखले शनिवार संसद् बैठक डाक्ने र नयाँ राष्ट्रपतिको चयनको प्रक्रिया थाल्ने आफ्नो योजना रहेको बताएका छन्। राष्ट्रपति राजापक्षको राजीनामा आएको समाचारपश्चात् सयौँ मानिसहरूले गएराति (बिहीवार राति) र्याली निकालेर उत्सव मनाएका थिए।”
वित्तीय सहायताको आशा
यसैबीच श्रीलङ्काले उसको वित्तीय तथा आर्थिक सङ्कट व्यवस्थापनका लागि चीनलाई ४ अर्ब डलर जति सहयोग गर्न मनाउने आशा राखेको बताइएको छ।
बेइजिङ्स्थित श्रीलङ्काली राजदूत पलिथा कोहोनाले चीनले सहमति जनाउनेमा आफू विश्वस्त भएको बताए।
श्रीलङ्काको बाह्य ऋणमध्ये करिब १० प्रतिशत वा ५ अर्ब डलर चिनियाँ ऋण छ।
उहाँले जापान, अन्तर्राष्ट्रिय मुद्राकोष तथा व्यावसायिक कर्जादाताहरूसँग पनि मद्दत मागिएको बताउनुभयो।
श्रीलङ्काबारे जान्नुपर्ने केही कुरा
टापु राष्ट्रः दक्षिण भारतनजिकै रहेको श्रीलङ्का सन् १९४८ मा ब्रिटिश शासनबाट स्वतन्त्र भएको थियो। त्यहाँको जनसङ्ख्या २।२ करोड छ। तीनवटा जातीय समुदाय ( सिन्हाला, तमिल र मुस्लिम ( ले देशको ९९ प्रतिशत हिस्सा ओगट्छन् ।
राष्ट्रपतिको शक्ति: श्रीलङ्काका राष्ट्रपति राज्य, सरकार र सेनाको शीर्ष व्यक्ति हुनुहुन्छ। तर उहाँले संसद्मा सत्तारूढ दलको नेतृत्व गर्ने प्रधानमन्त्रीसँग धेरै कार्यकारी जिम्मेवारी बाँडफाँट गर्नुपर्छ ।
शासनमा एउटै परिवारः राजपक्ष परिवारले श्रीलङ्कामा वर्षौँदेखि शासन गरेको थियो। लामो समय चलेको रक्तपातपूर्ण गृहयुद्धमा तमिल पृथक्तावादीहरू सन् २००९ मा पराजित भएपछि महिन्द राजपक्ष बहुसङ्ख्यक सिन्हालीहरूबीच नायक भए। त्यतिबेला रक्षामन्त्री रहेका उनका भाइ गोटाबय राजपक्षले भर्खर राष्ट्रपति पद त्याग्नुभएको छ ।
आर्थिक सङ्कटले आक्रोशः अहिले श्रीलङ्काली जनताहरू आक्रोशित छन्। त्यहाँ उपभोग्य सामग्रीको सहज आपूर्ति हुन नसकेकाले महँगी चुलिएको छ अनि खानेकुरा, औषधि र इन्धनको अभाव भएको छ। लोडशेडिङ बढेपछि आक्रोशित मानिसहरूले राजपक्ष परिवार र उनीहरूले नेतृत्व गरेको सरकारलाई दोष लगाउँदै सडकमा प्रदर्शन गरिरहेका छन् ।


















