ग्लास्गो(स्कटल्याण्ड), ३२ आषाढ । आईसीसी वल्र्ड कप लिग २ अन्तरगत आज नेपाली राष्ट्रिय क्रिकेट टिमले नामिबियासंग प्रतिस्पर्धा गर्दै छ
ग्लास्गोको ऐरस्थित कम्बुस्दून न्यू ग्राउण्डमा हुने खेलमा नेपाली टिम निकै उच्च मनोबल लिएर उत्रिने भएको छ ।
नेपाली राष्ट्रिय टिमले यस अगाडि यो सेरिजमा बलियो मानिएको घरेलु टिम स्कटल्याण्डलाई घरेलु मैदानमा ५ विकेटले पराजित गरेको थियो ।
यसै त्रिदेशीय श्रृृखला अन्तरगत भएको बिहीबारको खेलमा (जुलाई १४) स्कटल्याण्डले नामिबियालाई ७ बल बाँकी रहदा ३ विकेटले पराजित गरेको थियो भने आइतबार जुलाई १० मा भएको खेलमा ७७ रनको भारी अन्तरले पराजित गरेको थियो ।
यस पहिले सोमबार जुलाई ११ मा भएको खेलमा नेपाल नामिबियासंग ४० रनले पराजित हुन पुगेको थियो । अभ्यास खेलका लागि क्यानडा पुगेको नेपाली टिमको पहिलो अभ्यास खेल बर्षाको कारण रद्द भएको र दोस्रो खेलमा क्यानडाले जितेको हुनाले नामिबियाविरुद्धको पहिलो खेलमा नेपाली खेलाडीको मनोबल गिरेको थियो ।
तर आजको अवस्था भिन्न छ । नामिबियालाई यो सिरिजका दुई खेलमा धूलो चटाएको घरेलु टिम स्कटल्याण्डलाई नै ५ विकेटले शानदार ढंगले पराजित गर्न सफल नेपाली खेलाडि आज पनि उच्च मनोबलका साथ मैदानमा उत्रिदै छन् ।
नेपाली खेलाडीले टस जिते भने बलिड. रोज्ने लगभग निश्चित जस्तै छ । किनकी नेपाली टिमको अहिलेको सबल पक्ष भनेकै बलिड. हो । स्कटल्याण्ड सेरिजमा बलिड.लाई निखार्न नेपालले श्रीलंकाका धम्मिकाप्रसादलाई बलिड. प्रशिक्षक पनि नियुक्त गरेको छ । र उनी अहिले स्कटल्याण्डमा नेपाली टिमलाई प्रशिक्षण दिईरहेका छन् ।
हैन, टस हारेर ब्याटिड.मा पुगे पनि नेपाली खेलाडीले ब्याटिड. सुधार्ने संकेत देखाएका छन् । नामिबियासंगको पहिलो खेलमा आत्तिएका ओपनर र मध्यमक्रमका व्याटरहरुले स्कटल्याण्डसंगको खेलमा निकै धैर्यता देखाएका छन् । त्यतिको सुधारिएको ब्याटिड. गर्दा नेपालले स्कटल्याण्डलाई पराजित गर्न सकेको छ भने स् कटल्याण्डसंग दुईदुई पटक पराजित भएको नामिबियालाई त्यही स्तरको प्रदर्शनले पराजित गर्न नसक्ने कुरा छैन ।
स्कटल्याण्ड सिरिज अन्तरगत नेपालले आफ्नो अन्तिम खेल भोलि घरेलु टिम स्कटल्याण्डकै विरुद्ध खेल्ने छ ।
आइसीसी लिग २ मा नेपालको स्थान
स्कटल्याण्डलाई पराजिित गरेपछि नेपाली टिम आइसीसी लिग २ अन्तरगतको अंकतालिकाको पाँचौ स्थानमा उक्लेको छ।
नेपालले हालसम्म खेलेका १८ खेलमा ८ जित, ९ हार र १ बराबरी गरी १७ अंक हासिल गरेको छ ।
लिग अन्तरगत खेलिने सबै ३६ खेलिसकेको ओमान ४४ अंकसहित शीर्षस्थानमा रहेको छ । २२ । २२ खेल खेलिसकेका स्कटल्याण्ड र युएई क्रमश ३० र २६ अंकसहित दोस्रो र तेस्रो स्थानमा छन् । २४ खेलमा २३ अंक हासिल गरेको संयुक्त राज्य अमेरिका चौथो स्थानमा छ ।
यो सिरिजका आज र भोलिको खेल जितेमा नेपालले २० खेलमा २१ अंक हासिल गर्ने छ ।
आईसीसी विश्वकप लिग २

क्रिकेट विश्वकप लिग २ आईसीसीले पहिलो पटक आयोजना गरिरहेको छ ।
सन् २०१९ देखि २०२२ सम्म चल्ने यो प्रतियोेगितालाई सन २०२३ मा हुने विश्वकप क्रिकेटको छनोटको अंगको रुपमा आईसीसीले आयोजना गरिरहेको छ । सन २०१९ को अगष्टबाट सुरुभएको यो प्रतियोगिता सन २०२२ सम्म चल्नेछ ।
यस प्रतियोगिताका सबै खेलहरु एक दिवसीय अन्तर्राष्ट्रिय खेलको मान्यता अनुरुप त्रिकोणात्मक श्रृखलामा खेलिने छन् । नेपाल स्कट ल्याण्ड र युनाइटेड अरब इमिरेट्स आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन २ को खेलको शीर्षबाट छानिएका छन् ।
त्यस्तै प्लेअफमा पुगेका नामिबिया,ओमान,संयुक्त राज्य अमेरिका र पपुवा न्यु गिनी पनि सन २०२२ को वर्ल्ड कप क्वालिफायर खेलमा सहभागी हुन पाएका छन् ।
यो छनोट अन्तरगतको पहिलो खेल अगष्ट २०१९ मा स्कटल्याण्डको अबरदिनबाट सुरु भएको हो ।
क्रिकेट विश्वकप लिग २ मा शीर्षमा रहने टीम क्रिकेट विश्वकप सुपर लिगमा स्तरोन्नति हुने संभावना पनि छ ।
२०२० देखि २०२२ को आईसीसी क्रिकेट सुपर लिगमा शीर्ष १२ टीमहरु स्वत रहनेछन भने तेह्रैं टिमको लागि क्रिकेट विश्वकप लिग २ (२०१९ देखि २०२२) र क्रिकेट विश्वकप सुपर लिग(२०२० देखि २०२२) मध्ये जो वरियतामा माथि रहन्छ उही छानिने छ ।


















