Prakash Adhikari March 18, 2018

काठमाडौं, ४ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्वमा दक्षिण एशियाको सम्मानजनक स्थान निर्धारण गर्नुपर्नेमा जोड दिनु भएको छ ।

राजधानीमा आयोजित छैठौं सार्क विजनेस लिडर्स कन्क्लेभलाई सम्बोधन गर्दै उनले दक्षिण एशियालाई विश्वकै शान्त र समृद्ध क्षेत्र बनाउन आग्रह गरे ।

“मानवीय तथा प्राकृतिक श्रोतका दृष्टिले दक्षिण एशिया धनी रहेको छ । क्षेत्रीय सामिप्यता, सांस्कृतिक समानता र विकासको चाहना उत्प्रेरक पक्ष रहेका छन् ” अध्यक्षले भने, “अब दक्षिण एशियाली देशहरुबीचको आपसी एकता र सामुहिक प्रयासको खाँचो रहेको छ ।”

उनले परस्पर लाभ हुने किसिमले सहकार्यलाई अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।

तीन दशक अघि दक्षिण एशियाली क्षेत्रको साझा समृद्धिको लक्ष्य बोकेर सार्कको स्थापना भएको स्मरण गर्दै माओवादी केन्द्रका अध्यक्ष दाहालले सार्कले शान्ति, स्थायित्व र समृद्धिको हाम्रो आशा भने अझै पुरा गर्न नसकेको बताए । उनले भने, यस क्षेत्रमा रहेको विकास र समृद्धिको विशाल सम्भावना र दक्षिण एशियाका देशहरुले अनुभुति गरिरहेको लाभका बीचमा ठूलो धरातलीय अन्तर रहेको छ ।”

दक्षिण एशियाको समृद्धिका लागि क्षेत्रीय व्यापारको महत्वमा जोड दिदै उनले भने“हाम्रो लक्ष्य अन्तरदेशीय व्यापार र लगानीलाई प्रबद्र्धन गर्नु रहेको छ ।” उनले व्यापारिक पूर्वाधारमा सुधार र विकासबिना यो सम्भव नभएको पनि स्पष्ट पारे उनले अन्तरदेशीय व्यापारसँग जोडिएका दक्षिण एशियाका कानुनी र अन्य व्यवधानहरुलाई हटाउन आवश्यक रहेको पनि बताए ।

दक्षिण एशियाका देशहरु सामाजिक, आर्थिक विकासको फरक फरक तहमा रहेको तथ्य उल्लेख गर्दै पूर्व प्रधानमन्त्री प्रचण्डले सबै देशले जित्ने ‘विन–विन’ मानसिकताको विकास गर्नुपर्नेमा जोड दिए । उनले भने, “अब विगतको मानसिकता त्यागेर सबैले जित्ने साझा संयन्त्र बनाउनु जरुरी छ । यसले मात्रै हाम्रो क्षेत्रको वैधता र विश्वसनियताको विकास गर्न सक्छ ।”

विकासकालागि आपसमा जोडिनु आवश्यक रहेको बताउदै उनले अर्थपूर्ण क्षेत्रीय एकतामा जोड दिए । उनले भौतिक सामिप्यतासंगै मनको सामीप्यता पनि उत्तिकै आवश्यक रहेको बताए ।

दक्षिण एशियाली राष्ट्रहरुले दक्षिण एशियाली आर्थिक संगठन स्थापनाको महत्त्वाकांक्षी लक्ष लिइरहेको अवस्थामा विकासमा ढिलासुस्ती क्षम्य नहुने बताउँदै माओवादी केन्द्रका अध्यक्षले भने ,“साफ्टा र स्याटिसको पूर्ण कार्यान्वयनका पथमा अघि बढ्नका लागि राजनैतिक इच्छाशक्ति आवश्यक छ ।”

नेपालले राजनीतिक संक्रमणको कालखण्ड पूरा गरेर विकास र समृद्धिको यात्रामा अघि बढेको बताउँदै पूर्व प्रधानमन्त्री दाहालले नेपालमा लगानीको पर्याप्त सम्भावना रहेको बताए । “नेपालको समृद्धि र विकासको अभियानमा सबैको सहयोगको अपेक्षा गरेका छौ ” दाहालले भने ।

Share Now

Leave a comment.