काठमाडौं, २० श्रावण । नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले आफू आगामी निर्वाचनमा नुवाकोटबाट प्रत्यक्ष निर्वाचन लड्ने बताउनुभएको छ ।
प्रवक्ता डा.महतले बिहिबार आफ्नै निवासमा नुवाकोटका पत्रकारसँग कुरा गर्दै सो कुरा बताउनुभएको हो ।
नेता डा.महतले भन्नुभयो, “छहरे–टोखा सुरुङ मार्ग निर्माण, बालाजु–ककनी सडक निर्माणलगायत नुवाकोटको विकासका लागि धेरै काम गर्न बाँकी छ, नुवाकोटबाट प्रत्यक्ष निर्वाचन जितेर बाँकी काम पूरा गर्ने मेरो इच्छा छ । ”
पूर्व ऊर्जामन्त्री डा.महतले आफ्नो कार्यकालमा नुवाकोटका अधिकांश स्थानमा विद्युतीकरण गरेको स्मरण गर्नुभयो ।
उहाँले पार्टीका कार्यकर्तालाई योगदान, क्षमता र लगनशीलताका आधारमा नेतृत्व गर्ने अवसर दिनुपर्ने पनि बताउनुभयो ।
उहाँले नुवाकोटमा काँग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान आवश्यक भएको बताउनुभएको छ ।
प्रवक्ता डा.महतले वर्तमान गठबन्धनलाई निर्वाचनसम्म कायम राखेर जाने पक्षमा काँग्रेस रहेको स्पष्ट पार्नुभएको थियो।


















