Prakash Adhikari August 6, 2022

काठमाडौं, २१ श्रावण । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार राति पाँच दिन लामो जापान भ्रमणमा निस्कनुभएको छ।

नेपाली जनप्रगतिशील मञ्च जापानको निमन्त्रणामा अध्यक्ष प्रचण्ड सचिवालयका तीन सदस्यसहित शुक्रबार बेलुकी १० बजे नेपाल वायुसेवा निगमको उडानबाट जापान उडनुभएको हो ।

भ्रमणका क्रममा प्रचण्डले त्यहाँस्थित प्रवासी नेपालीहरुसँग पनि अन्तरक्रिया गर्ने र जापानले आधुनिक कृषि प्रणालीमा अपनाएको प्रविधिको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग स्वकीय सचिवद्वय रमेश मल्ल र गंगा दाहाल तथा सदस्य सूर्य किरण जानुभएको छ।

माओवादी अध्यक्ष प्रचण्डकी स्वकीय सचिव तथा सुपुत्री गंगा दाहालले दिनुभएको जानकारी अनुसार उहाँले अगष्ट ६ मा जापानको फुकुओकामा आयोजना हुने नेपाल फेष्टिभल सेरेमोनीको समुदघाटन गर्नुहुने कार्यक्रम छ ।

अगष्ट ६ तारिखमा हिरोसिमामा आणविक आक्रमण भएको ७५ बर्ष पूरा भएको छ । माओवादी अध्यक्ष प्रचण्डले अगष्ट ७ मा हिरोसिमा भ्रमण गर्नुहुनेछ भने सोही दिन नेपाली जनप्रगतिशिल मञ्च जापानको आयोजनामा टोकियोमा हुने नेपाली समुदायहरुबिच “समृद्ध नेपालको आधारः आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार” विषयको खुला अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी बन्नुहुनेछ।

जापानमा रहदा माओवादी अध्यक्ष कमरेड प्रचण्डले जापानको सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीका नेताहरूसंग भेटवार्ता गर्ने पनि कार्यक्रम रहेकोे बताइएको छ ।

जापान भ्रमणमा निस्कनु अगाडि माओवादी अध्यक्ष प्रचण्डले अमेरिकी सभामुख न्यान्सी पेलोसीले गर्नुभएको ताइवान भ्रमणले प्रशान्त क्षेत्रको शान्ति खल्बल्याएकोमा सो कदमको विरोध गर्नुभएको छ। अमेरिकाको नाम नलिइकन उहाँले माओवादी केन्द्र सधैं एक चीनको पक्षमा रहेको बताउँदै त्यसविरुद्ध जाने जुनसुकै कदमको आफूहरूले विरोध गर्ने जनाउनुभएको थियो।

अमेरिकी कदमको विरोधपछि पूर्वनिर्धारित तालिकाअनुसार प्रचण्ड जापानतिर लागेका हुन्। जापान अमेरिकाको बलियो र निकट साझेदारमध्ये एक हो। जापान र चीनबीच भने लामो समयदेखि तिक्ततापूर्ण सम्बन्ध रहँदै आएको छ।

Share Now

Leave a comment.