बेइजिड.(चीन), २१ श्रावण । चीनको विदेशमन्त्रालयले अमेरिकासँग जलवायु परिवर्तन, सैन्य वार्तासँगै अपराध, लागुऔषध र गैरकानुनी आप्रवासनसम्बन्धी सहकार्यहरू स्थगित गर्ने जनाएको छ।
बेइजिङले अमेरिकी सभामुख न्यान्सी पलोसी र उहाँको परिवारविरुद्ध पनि प्रतिबन्धहरू लगाउने भएको छ। तर, कस्ता प्रतिबन्धहरू लगाइएका हुन् स्पष्ट पारिएको छैन।
बीबीसीका बेइजिङमा रहेका स्टेफन मक्डोनल भन्नुहुन्छ, “व्यक्तिगत प्रतिबन्ध पलोसीलाई मात्रै नभई उहाँको परिवारमाथि पनि लगाइएको छ। यद्यपि थप कदमहरू धेरै बृहत् छन्। दुई देशबीच उच्च स्तरीय सैन्य वार्तासहित अन्तर सीमा अपराधजस्ता विषयका सहकार्य पनि चीनले स्थगित गर्न लागेको छ।”
यसअघि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले ताइवान वरपरको क्षेत्रमा सैन्य गतिविधि बढाउन पलोसीको शान्तिपूर्ण भ्रमणलाई चीनले बहाना बनाएको बताउनुभएको थियो।
यसैबीच, चीनले ताइवान वरपर थालेको सैन्य अभ्यास दोस्रो दिन पनि जारी राखेको छ।
ताइवानको रक्षा मन्त्रालयले मुख्यभूमि चीनले ताइवान छुटिने क्षेत्र वरपर ६८ वटा विमान र १३ वटा पानीजहाज सक्रिय बनाएको जनाएको हो। त्यसको प्रतिक्रियामा ताइवानले हवाई र समुद्री गस्ती गरिरहेको र क्षेप्यास्त्र प्रणालीलाई सक्रिय पारिएको जनाएको छ।
अमेरिकाको राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले वासिङ्टनले सङ्कट नचाहेको तर ताइवानलाई समर्थन गर्ने र वेस्टर्न प्यासिफिकमा आफ्नो कारबाहीबाट विचलित नहुने जनाउनुभएको छ।
यसैबीच ताइवानका विदेशमन्त्रीले पनि पलोसीको संक्षिप्त तर विवादास्पद भ्रमणको बचाउ गर्नुभएको छ।
बीबीसीसँगको अन्तर्वार्तामा जोसेफ वूले चीनले ताइवान वरपर बिहीवारबाट सुरु गरेको ठूलो स्तरको सैन्य अभ्यासहरूको निन्दासमेत गर्नुभएको छ ।
उहाँले पलोसीको भ्रमण ‘अत्यन्तै महत्त्वपूर्ण’ रहेको र चीनको प्रतिक्रियाले ताइपेईमा आमन्त्रित हुन प्रजातान्त्रिक नेताहरूलाई नरोक्ने बताउनुभएको छ।

वूले आफ्नो देशको रक्षा गर्नु आफ्नै जिम्मेवारी भएको बताउनुभएको छ।
“हामीसँग इच्छाशक्ति र क्षमता पनि छ। हामीलाई रक्षात्मक सामग्रीहरू उपलब्ध गराउन अन्य देशहरूको सहयोग चाहिन्छ तर ताइवानको रक्षा गर्नु हाम्रो जिम्मेवारी हो”, उहाँले भन्नुभयो।
उहाँले चीनको क्षेत्रीय लक्ष्य ताइवानभन्दा निकै पर रहेको भन्दै चेतावनी पनि दिनुभयो।
विगत छ वर्षमा अन्तर्राष्ट्रिय पहिचानका लागि ताइवानको अभियानमा उहाँ चिनिएका अनुहार हुनुहुन्छ ।
उहाँले नै पलोसीको भ्रमणबारे वार्ता गर्नुभएको थियो र अहिले डराउनुको साटो उहाँ यससंग सम्बन्धित प्रश्नहरूको सामना गरिरहनुभएको छ।
तर उहाँ यस विषयलाई लिएर माफी माग्न तयार हुनुहुन्न।
पलोसीको भ्रमणले धेरैजसो ख्याल नगरिएको यस टापु राष्ट्रलाई मानिसहरूको चासोको विषय बनाएको छ।
चीनले ताइवानलाई छुट्टिएको प्रान्तका रूपमा हेर्छ र अन्ततः बेइजिङकै नियन्त्रणमा आउने ठान्छ।
यद्यपि, स्वशासित ताइवानले भने आफू मुख्य भूमि चीनबाट अलग्गै रहेको बताउँदै आएको छ ठान्छ।
तर विश्व नेताहरूले ताइवानलाई त्यसरी हेरे चीन क्रुद्ध हुन्छ।
जलवायु परिवर्तनसहितका मुख्य विषयहरूमा बेइजिङले सहकार्य स्थगित गर्ने घोषणा गरेसँगै ताइवानलाई लिएर चीन र अमेरिकाबीचको विवाद गहिरिएको छ।
अमेरिकाले चीनको सैन्य अभ्यास गैरजिम्मेवार कदम भएको र नियन्त्रणबाहिर जान सक्ने बताएको छ।

ताइवान
चीन-ताइवान सम्बन्ध
- सन् १९४० को दशकको गृहयुद्धमा चीन र ताइवान अलग भएका थिए। तर चीनले ताइवानलाई आफूसँग छुट्टिएको एक प्रान्त भएको र आवश्यक परे शक्ति प्रयोग गरेर भए पनि गाभ्नुपर्ने बताउँदै आएको छ।
- ताइवानको आफ्नो संविधान, प्रजातान्त्रिक पद्धतिबाट निर्वाचित नेता र कूल तीन लाख सैनिक छन्।
- ताइवानलाई थोरै देशले मात्रै मान्यता दिएका छन्। अमेरिकाको ताइवानसँग आधिकारिक दौत्य सम्बन्ध राखेको छैन तर टापु राष्ट्रलाई आफ्नो रक्षा गर्न साधन प्रदान गर्ने कानुन पारित गरेको छ।


















