काठमाडौं, २१ श्रावण । नेपाल बायुसेवा निगमको कार्यकारी अध्यक्षको पद खाली भएको छ कि छैन ? संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निगमलाई लेखी पठाउन बाँकी नै छ ।
गत बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले बहालवाला कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको थियो । तर सोहि दिन सर्वोच्च अदालतले उहाँले पदमा रहेर काम गर्न पहिले दिएको आदेश कायम रहेकोले उहाँमाथि थप कारबाही नगर्न सरकारलाई आदेश दिएको थियो ।
यस पहिले सरकारले उहाँको कार्य सम्पादनमा छानविन गर्न तात्कालीन पर्यटन सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा ३ सदस्यीय समिति गठन गरेपछि उहाँलाई २०७८ असार ६ गते सरकारले निलम्बन गरी त्यसको जानकारी मन्त्रालयमार्फत असार ९ गते निगमलाई दिएको थियो र निगमको दैनिक कार्य सञ्चालनको जिम्मेवारीमा अपरेशन विभागका पूर्व निर्देशक दीप ज्वहारचनलाई नियुक्ति दिएको थियो ।
सरकारको सो निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दिनुभएका कार्यकारी अध्यक्ष अधिकारीलाई अदालतले असार २३ गते अल्पकालीन अन्तरिम आदेश दिई पुनस्थापित गरेको थियो । तर यही बीचमा मन्त्रालयले साउन १ गते र ६गते पत्र पठाएर कर्मचारीको कार्य सम्पादन र मूल्यांकनको काम नगर्न र दीर्घकालीन असर हुने काम नगर्न भन्यो । सो निर्णय विरुद्ध पुनः सर्वोच्च जानुभएका कार्यकारी अध्यक्ष अधिकारीलाई सरकारले बर्खास्त गरेकै दिन अदालतबाट मुद्दाको कारबाही किनारा नलागेसम्म अन्तरिम आदेश मान्य हुने भएकोले थप कारबाही नगर्न सरकारलाई आदेश दिएको छ । सो संगै साउन १ र ६ गते मन्त्रालयले दिएको निर्देशनलाई पनि मान्यताशून्य बनाएको छ ।
अदालतले थप कारबाही नगर पूर्ववत काम गर्न देऊ भनेर आदेश दिएकै समयमा सरकारले उहाँलाई बर्खास्त गरेको छ । अदालतको आदेश मान्य हुन्छ कि सरकारको निर्णय ? कानूनी राजमा न्यायिक सर्वोच्चता कायम रहने भएकोले अदालतकै आदेश मान्य हुने चलन छ ।
अध्यक्षको लागि लिगलिगे दौड सुरु
नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षलाई बर्खास्त गर्ने सरकारको निर्णय सार्वजनिक भएलगत्तै सो पदमा जानका लागि निगममा कामगरिसकेका र निगमबाहिर बसेर उडानको काम गरेकाहरुको लिगलिगे दौड सुरु भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको उच्च सूत्रले दिएको जानकारी अनुसार मन्त्री जीवनराम श्रेष्ठ निगमको सञ्चालक समितिमा हालै नियुक्त अमृतमान श्रेष्ठलाई कार्यकारी अध्यक्ष बनाउन इच्छुक हुनुहुन्छ । उहाँले यसका लागि पार्टी अध्यक्ष माधवकुमार नेपाललाई मनाउने प्रयास गरिरहनुभएको छ ।
जातीय हिसाबले कुरो मिल्ने र नेपाल वायुसेवा निगममा व्यापारिक कारोबार गर्दै आएका राजधानीका नेवार घरानाका व्यापारीहरु र , पर्यटन व्यवसायीहरु उहाँमाथि लगानी गर्न पनि तयार रहेकोले उहाँले आफ्नो दौड धेरै अगाडि बढाईसक्नुभएको छ ।
उहाँले आफू कामु नवांै तहबाट निवृत भएको बताउनु भएको छ तर निगमका प्रशासकहरुले भने टाइपिष्टबाट निगममा छिर्नुभएका उहाँ टाइपिष्टलाई प्राविधिक सेवा समूहबाट प्रशासनिकमा समायोजन गरेपछि पाचौं तहबाट छैठौंमा बढुवा हुुनुभएको र उहाँको आठौं तहको बढुवा अदालतले रद्ध गरेकोले सातौंं तहबाट अवकाश पाउनुभएको बताउछन् । श्रेष्ठ निगमको जनरल सर्भिस डिपार्टमेण्ट अन्तरगत ग्लोबल डिस्ट्रिबुसन सर्भिसमा काम गर्दा केही कमाउने मौका पाउनुभएको भाग्यमानीमा पनि पर्नुहुन्छ ।
यता नेपाली कांग्रेससंग निकट रहनुभएका र निगमको सञ्चालक समितिका सदस्यको कार्यकाल निर्विवाद ढंगले पूरा गर्नुभएका निगमबाटै अवकाशप्राप्त इञ्जिनियर अच्यूत पहाडी पनि कार्यकारी अध्यक्षको रेसमा हुनुहुन्छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बसेकै कोटेश्वर क्षेत्रमा बसोबास गर्नुहुने ई.पहाडीलाई उहाँको सदभाव रहने आशा पनि रहेको छ ।
निगमको महत्वपूर्ण विभाग मध्येको इञ्जिनियरिड.विभागको प्रमुख बनेर जिम्मेवारी समेत निर्वाह गरेको अन्य विभागमा समेत काम गरेको अनुभव रहेको र सञ्चालक समितिमा बसेर जहाज खरिददेखि निगम सञ्चालनका समग्र नीति निर्धारण गरेकोले निगमलाई सुधार गर्दै यस क्षेत्रको ख्यातिप्राप्त विमान कम्पनीमा लैजाने कार्यक्रम आफूसंग भएको दावी उहाँले गर्नुभएको छ ।
पोखरा,चितवन र काठमाडौंमा पनि घरजग्गा भएकोले आफूले निस्वार्थभावले निगमको भलाईका लागि मात्र काम गर्ने उहाँले जिकीर गरिरहनुभएको छ ।
कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेको समयमा निगमको दैनिक कामकाज सम्पन्न गर्न मन्त्रीले निमित्त महाप्रबन्धक दिनुभएका वरिष्ठ क्याप्टेन दीपु ज्वहारचन पनि कार्यकारी अध्यक्षको दौडमा रहनुभएको निगमका कर्मचारीहरु बताउछन् । उहाँलाई नेपालको पर्यटन उद्योगमा स्थापित यति ग्रुप र व्यापारी दीपक मल्होत्राको साथ रहेको र वामपन्थी दलहरुमा यति ग्रुपको दानापानी नखाएका व्यक्तिहरु अपवाद पनि नरहेकोले उहाँलाई पनि बलियो दावेदार मानिएको छ ।
निगमको सुधार गर्न निगमको सञ्चालक समितिमा रहनुभएका क्याप्टेन सुधीर राई पनि इच्छुक हुनुहुन्छ । निगमका कर्मचारीहरु उहाँ नेपालका एकमात्र घोषित डलर अर्बपति विनोद चौधरीका तर्फबाट बोर्डमा आउनुभएको र उद्योगपति, व्यापारी तथा राजनीतिकर्मी चौधरीको प्रधानमन्त्री शेरबहादुर देउवासंग राम्रो सम्बन्ध रहेकोले उहाँ आउने संभावना पनि प्रबल रहेको दावी गर्दछन् ।
एकथरिले निगमकै वरिष्ठ पाइलट क्याप्टेन श्रवण रिजाल पनि निगम हाँक्ने कार्यकारी अध्यक्षको रेसमा लाग्नुभएको बताउछन् ।
निगमसंग हालसम्म साइनो नजोडिएको र सैन्य उडानमा अनुभव भएका अर्का एक पाइलट पनि यो लिगलिगे दौडमा जोडिनुभएको छ ।
मन्त्रालय सूत्रले दिएको जानकारी अनुसार नेपाली सेनाको ११ नंबर हवाई बाहिनी अन्तरगत रही करिब २० वर्ष पाइलट सेवा गर्नुभएका कर्णेल क्याप्टेन रविन्द्र बस्नेत पनि निगमको नेतृत्व सम्हाल्न दौडमा सामेल हुनुभएको छ ।
कोशीबाँध फुटपछिको तराईको सुनसरीमा भएको उद्धार र राहत, २०७२ सालको भूकम्पमा पहाडी जिल्लामा उद्धार र राहत, कोरोना महामारीमा उद्धार र स्वास्थ्य सामग्री ढुवानी र २०१६ मा अन्नपूर्ण क्षेत्रमा हिमआँधी आएको बेला टुकुचे पिकमा फसेका नेपाली सेनाको सफलतापूर्वक उद्धार गर्नुभएका तर हवाई सेवाको व्यवस्थापकीय अनुभव संगाल्ने मौका नपाउनुभएका कर्णेल बस्नेत पनि आफ्नो सम्पूर्ण सामाथ्र्य लगाएर निगमको कार्यकारी अध्यक्ष बन्ने दौडमा सामेल हुनुभएको छ ।
नेपाली सेनामा सेवाको अवधि बाँकि हुंदाहुदै राजिनामा दिइ एक निजी हेलिकोप्टर कम्पनीमा आबद्ध हुनुभएका उहाँ उक्त कम्पनिका सञ्चालकहरुसँग विवाद भएपछि अर्कोमा संलग्न हुनुभएको थियो ।
उहाँका समकक्षी पाइलटहरुले मन्त्रालयमा उहाँका विरुद्ध अनेक आरोपहरु लागेको खबर पनि पुर्याईसकेका छन् । मन्त्रालयको उच्च स्रोतले दिएको जानकारी अनुसार उहाँ सैनिक सेवामा पनि निर्विवाद रहनुभएन ।पटक पटक आन्तरिक कारवाहीमा परेर उहाँको बढुवासमेत रोक्का भएको थियो । सैनिक उडानमा समेत ब्यापारी र ठेकेदारका समान,खाध्यान्न ढुवानीमा मिलमतो गरेको सिकायत आएपछि उहाँमाथि कारवाही भएको बताइन्छ ।
लामो सैन्य सेवामा कुनै विभूषण नपाएको, प्रमोशनमा जुनियरभन्दा पछाडि परेको र शान्ति सैनिक मिशन सुडानमा कार्यरत हुदा परफर्म्यन्स राम्रो नगरेको आरोप समेत विरोधीहरुले क्याप्टेन बस्नेतलाई लगाउने गरेका छन्। उहाँको खुट्टा तान्नेहरुले सेनामा रहदा उहाँमाथि बहुबिवाह र नेताहरुको घरदैलो गरेको आरोप पनि लगाउने गरेका थिए ।
एकथरिले निगमका पूर्व निर्देशक गोबर्धन खड्का पनि यो रेसमा भएको बताएका छन् । तर खड्का स्वयंले भने आफ्नै टिमको साथी कार्यकारी अध्यक्षको पदमा विराजमान भएको अवस्थामा उहाँलाई सफल गराउने र सहयोग गर्नु आफ्नो पहिलो जिम्मेवारी रहेको बताउनुभयो । उहाँले निगम सुधार्ने कार्यक्रम आफूसंग रहेकोले र आवश्यक परेमा निगमलाई दिन आफू तत्पर रहेको बताउदै पद खाली नहुँदै सुरु भएको उत्ताउलो पाराको लिगलिगे दौडमा आफू नलागेको बताउनुभयो ।


















