योलन्ड निल, जेरुसेलम र रफी बर्ग
लण्डन(संयुक्त अधिराज्य) २१ श्रावण( बीबीसी न्यूज) । इजरेली हवाई हमलाहरूका कारण गाजा स्ट्रीपमा एक प्यालेस्टिनी लडाकू समूहका शीर्ष कमान्डरसहित कम्तीमा १० जना मारिएका छन्।
स्थानीय स्वास्थ्य अधिकारीहरूका अनुसार मृत्यु हुनेमध्ये एकजना बालिकासमेत छन् र अन्य दर्जनौँ घाइते भएका छन्।
इजरेलका प्रधानमन्त्रीले त्यस्तो कारबाही प्यालेस्टिनी इस्लामिक जिहाद (पीआईजे)बाट ‘एउटा तत्कालको जोखिम’ देखिएपछि उक्त कारबाही गरिएको बताउनुभएको छ।
यस साताको सुरुमा पीआईजेका एकजना सदस्य पक्राउ परेका थिए।
‘सुरुवाती जबाफका रूपमा’ पीआईजेले इजरेलतर्फ १०० भन्दा धेरै रकेटहरू प्रहार गरेको छ।
ती धेरैलाई इजरेलको आइरन डोम क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीले पहिचान गर्दै निष्क्रिय पारेको छ।
कैयौँ इजरेली सहरहरूमा त्यसको जनाउ दिनेगरी साइरनहरू बजेका थिए।
इजरेल डिफेन्स फोर्स आईडीएफले त्यसपछि आफूले लडाकुहरूका स्थान पहिचान गर्दै हमलाहरू सुरु गरेको जनाएको छ।
इजरेली प्रधानमन्त्री याइर लापिडले एक टेलिभिजन सम्बोधनमा आफ्नो देशले ‘तत्काल हुनसक्ने जोखिमविरुद्ध एउटा सटिक ढङ्गको प्रतिआतङ्कवाद कारबाही’ गरेको बताउनुभएको छ।

पीआईजे गाजाको एक प्रमुख लडाकू समूह हो
आईडीएफले आफूले प्रहार गरेका ठाउँहरू पीआईजेसँग सम्बन्धित रहेको जनाएको छ।
जसमा गाजा शहरको एउटा अग्लो भवन प्यालेस्टाइन टावर समेत परेको छ।
त्यहाँ भएको ठूलो विस्फोटनले भवनबाट धूवाँको विशाल मुस्लो निस्किएको थियो।
तैसिर जबारीसहित चारजना पीआईजे लडाकुहरू र एकजना पाँच वर्षिय बालिका हमलामा परेर ज्यान गुमाउनेमध्ये रहेको स्थानीय स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।
उनीहरूले अन्य ५५ जना मानिसहरू घाइते भएको जनाएका छन्।
इजरेली सेनाका एकजना प्रवक्ताले आईडीएफले झण्डै १५ जना लडाकुहरू मारिएको अनुमान गरेको जनाउनुभएको छ।
इजरेलका आन्तरिक मामिला मन्त्री आइलेट सखेदले च्यानल १२ न्यूजसँग भन्नुभयो, “यो कस्तो हुन्छ भन्छ भन्ने हामीलाई थाहा छैन… तर यसले समय लिनेछ…यो लामो र कठिन द्वन्द्वकोे चक्र हुनसक्छ।”
इरान भ्रमणमा रहनुभएका राजधानी तेहरानमा बोल्दै पीआईजेका महासचिव जयद अलनखलाले भन्नुभएको छ, “यस उक्साहटका लागि हामी बलपूर्वक जवाफ दिनेछौँ, र त्यहाँ लडाइँ हुनेछ जसमा हाम्रा मानिसहरूले जित हासिल गर्नेछन्।”
“यस युद्धको लागि त्यहाँ कुनै रेड लाइनहरू छैनन्र… तेल अभिभ रकेटको सामना गर्ने अवस्थामा हुनेछ।”
यसैबीच गाजा स्ट्रीपमा नियन्त्रण राख्ने हमासले लडाइमा सशस्त्र समूहहरू ‘एकताबद्ध’ रहेको भन्दै चुप लागेर नबस्ने जनाएको छ।
सोमवार राति इजरेलले वेस्ट ब्याङ्कमा पीआईजेका प्रमुख भनिएका बसिम सादीलाई पक्राउ गरेको थियो।
उक्त पक्राउपछि इजरेलले गाजासँग जोडिएका बस्तीहरूमा पीआईजेले सर्वसाधारण र सैनिकहरूमाथि हमला गर्नसक्ने भन्दै सुरक्षा व्यवस्था कडा पारेको थियो।
इरानको साथ पाएको पीआईजेको सिरियाको राजधानी दमास्कसमा मुख्यालय छ।
र उक्त समूह गाजामा रहेको शक्तिशालीमध्येको लडाकु समूह हो।
विगतदेखि नै उक्त समूह इजरेलविरूद्ध रकेट हमला, गोली हानाहान सहितका कैयौँ हमलामा जिम्मेवार पाइन्छ ।


















