Prakash Adhikari August 11, 2022

 

छिन्दाओ, (चीन), २६ श्रावण । चीनले सन् २०२२ का लागि नेपाललाई साढे १५ अर्ब रुपैयाँ (८० करोड चिनियाँ युआन) अनुदान दिने घोषणा गरेको छ।

परराष्ट्रमन्त्री डा. नारायण खड्कासंग बुधबार भएको द्वीपक्षीय भेटवार्तामा स्टेट काउन्सिलर समेत रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले उक्त घोषणा गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

चीनको पूर्वी तटीय प्रान्त सान्दोङ्को छिन्दाओ शहरमा दुई परराष्ट्रमन्त्रीको तहमा भएको प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा वाङले उक्त सहयोग घोषणा गर्नुभएको हो ।

चीनले केरुङकाठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनका लागि अनुदान सहयोग दिने भएको छ ।

योसँगै चीनको अनुदान सहयोगमा केरुङ(काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन हुने भएको छ । यस अघि चीनकै सहयोगमा उक्त रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन भएको थियो ।

सन् २०१९ अक्टोबरमा भएको चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणमा रेलमार्गलाई अघि बढाउने सहमति भएको थियो ।

परराष्ट्रमन्त्री डा. खड्काको भ्रमणका क्रममा नेपाल चीनबीच एक दर्जनभन्दा बढी विषयमा सहमति भएका छन् ।

वार्तामा नेपाल चीनबीच नाकाहरूलाई सञ्चालन गर्न संयुक्त संयन्त्र बनाउने सहमति भएको छ ।
यसतै चीनले नेपाललाई रासायनिक मल उपलब्ध गराउने र नेपालमा रसायनिक मलको उद्योग खोल्नको लागि सम्भाव्य अध्ययन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

चीनले कोरोना प्रकोप देखिएपछि नेपाल फर्केका र विभिन्न विश्वविद्यालयमा अध्ययनको लागि छनोट भएका विद्यार्थीलाई स्वास्थ्य प्रोटोकल अनुसार भिसा दिने भएको छ ।

चीनले साढे ५ करोडभन्दा बढी रुपैयाँ नेपालको विपद् व्यवस्थापनको लागि सहयोग गर्नेछ। ३ करोड ७८ लाख रुपैयाँभन्दा बढी नेपालको मेडिकल सामग्री र साधनहरूको लागि सहयोग दिनेछ ।

चीनले नेपालले एक चीन नीतिमा आफ्नो धारणा सार्वजनिक गरेकोमा चिनियाँ पक्षले नेपालको प्रशंसा गरेको छ ।

तीन दिने चीन भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री डा. खड्का ११ सदस्यीय प्रतिनिधिको नेतृत्व गर्दै मङ्गलवार राति चीन प्रस्थान गर्नुभएको थियो ।

परराष्ट्रमन्त्री डा. खड्काको टोलीमा परराष्ट्र सचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव , उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, गृह र अर्थ मन्त्रालयका सहसचिवलगायतका अधिकारी सहभागी हुनुहुन्छ ।

Share Now

Leave a comment.