Prakash Adhikari August 31, 2022

सानोथिमि(भक्तपुर), १५ भाद्र । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले नतिजा सार्वजनिकको तयारी भइरहेको जानकारी दिनुभएको छ ।

गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन भएको १२ कक्षाका परीक्षामा ४ लाख बढी परीक्षार्थी सहभागी भएको बोर्डले जनाएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यलयले यो पटक तीनथरि नतिजा सार्वजनिक हुने जनाएको छ ।

आंशिक, ग्रेड वृद्धि र नियमित विद्यार्थीहरुको छुट्टाछुट्टै गरी तीनथरि नतिजा सार्वजनिक गरिने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिनुभएको छ ।

ग्रेड वृद्धि र आंशिक परीक्षार्थीको नतिजा अक्षराङ्कन पद्धति अनुसार प्रकाशन हुने र नियमित तर्फको परीक्षार्थीको लेटर ग्रेडिङ हुने उहाँले बताउनुभएको छ ।

लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार प्रयोगात्मक परीक्षामा न्यूनतम ४० अंक ल्याउनुपर्नेछ र सैद्धान्तिकतर्फ कुनै पनि विषयमा न्यूनतम ३५ अङ्क ल्याउनुपर्नेछ ।

तोकिएको अङ्क भन्दा कम ल्याएमा एनजी (नन ग्रेडेड) लेखिनेछ । एनजी लेखिएका प्रमाणपत्रले माथिल्लो कक्षा पढ्न नपाउने व्यवस्था गरिएको छ ।

अक्षरांकन पद्धति कार्यान्वयन कार्यविधि, २०७२ अनुसार भने सैद्धान्तिकतर्फको अंकमा प्रयोगात्मक अंक जोडेर मात्र विद्यार्थीको ग्रेडिङ निकालिन्छ ।

कक्षा १२ को नतिजा ल्याण्डलाइन र मोबाइलबाट १६०१ डायल गरेर, १६०० मा एसएमएस गरेर र एनटीसीको वेबसाइटबाट पनि थाहा पाउन सकिनेछ ।

 

Share Now

Leave a comment.