Prakash Adhikari August 31, 2022

बीरगञ्ज(पर्सा), १५ भाद्र । धान रोप्ने बेलामा चरम अभाव झेलिएको रासायनिक मल धान गोड्ने बेलामा भने किसानले पाउने भएका छन् ।

कृषि सामग्री कम्पनी लिमिटेडले ग्लोबल टेण्डरबाट खरिद गरेको सरकारी अनुदानको डिएपी वीरगञ्ज आइपुगेको छ ।

कृषि सामग्री कम्पनी ले ग्लोबल टेन्डरमार्फत खरिद गरेको मध्ये कलकत्ता बन्दरगाहबाट छुटेको एक र्‍याक अर्थात २ हजार ५ सय मेट्रिक टन डीएपी मल वीरगञ्ज स्थित सिर्सिया सुख्खा बन्दरगाह आईपुगेको हो ।

कृषि सामाग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जका सूचना अधिकारी आलोक कुमारका अनुसार मल एक साता अघि कलकत्ता आइपुगेको थियो । मंगलबार पहिलो ¥याक वीरगञ्ज आइपुगेको छ । भन्सार जाँच पासको प्रक्रिया पूरा भएपछि कार्यालयमा आउँछ । त्यसपछि वितरण हुन्छ ।

कृषि सामग्री कम्पनी लिमिटेडले स्वीस सिंगापुर कम्पनी मार्फत खरिद गरेको २० हजार मेट्रिक टन डीएपी मल मध्ये १५ हजार मेट्रिक टन वीरगञ्ज नाकाबाट भित्रिनेछ ।

वीरगञ्जबाट भित्रिएको डीएपी मल मध्ये ७ हजार मेट्रिक टन मल प्रादेशिक कार्यालय भैरहवाका लागि जाने छ ।

जोर्डनबाट खरिद गरिएको डीएपी मलको लागत ६ हजार ७ सय ११ रुपैयाँ प्रति बोरा छ । ४ हजार ५ सय ११ रुपैयाँ सरकारी अनुदान रकम कटाएर २ हजार २ सय रुपैयाँ प्रतिबोरा बिक्री मूल्य कायम गरिएको छ ।

कम्पनीको प्रादेशिक कार्यालयले चालु आर्थिक वर्ष २०७९÷८० का लागि खरिद गरिएको ३० हजार मेट्रिक टन युरिया वितरण गरिसकेको छ ।

प्रादेशिक कार्यालय भए पनि वीरगञ्जबाट मधेश प्रदेशका ८ वटा जिल्ला, बागमती प्रदेशका सबै जिल्ला र गण्डकी प्रदेशको कास्की, पर्वत लगायत जिल्लाका लागि मल बिक्री वितरण हुने गरेको छ । वीरगञ्जबाट कृषि सामाग्री कम्पनीको १६ वटा शाखा कार्यालयमा मल जाने गरेको छ ।

Share Now

Leave a comment.