Prakash Adhikari September 4, 2022

 

काठमाडौँ, १९ भाद्र । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सत्ता गठबन्धनका विषयमा नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओलीले भ्रम सिर्जना गर्न खोजेको आरोप लगाउनुभएको छ ।

नेपाली काग्रेस बिट हेर्ने पत्रकारहरुसंगको भेटघाटमा प्रवक्ता डा.महतले फरक–फरक विचारको नेतृत्व गर्ने दलहरूबीचमा हुने सहकार्यलाई सिद्धान्तहिन भनेर बुझ्न नमिल्ने दाबी गर्नुभयो ।

 

‘केपी ओलीजी अहिले गठबन्धनको विषयमा भ्रम सिर्जना गर्ने प्रयासमा हुनुहुन्छ । कांग्रेस र माओवादीबीच गठबन्धन भएको उहाँलाई पचेको छैन,’ प्रवक्ता महतले भन्नुभयो, ‘०७४ मा एमालेले माओवादीसँग गठबन्धन गरेकै हो । कि त एमालेले आफूलाई लोकतान्त्रिक शक्ति होइन भन्नुपर्‍यो, नभए एमालेले माओवादीसँग गठबन्धन गर्दा कुनै फरक नपर्ने, अहिले हामीले राष्ट्रिय राजनीतिका मुद्दामा समान धारणासहित सहकार्य र गठबन्धन गर्दा त्यो सिद्धान्तहिन कसरी हुन्छ ?’

 

प्रवक्ता महतले विगतमा जनयुद्धमा रहेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने कांग्रेस नै रहेको कुरालाई नबिर्सन आग्रह गर्दै लोकतन्त्रमा लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य र तालमेल हुनु भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले माओवादी वा अन्य दलसँग गठबन्धन गर्दै सैद्धान्तिक घरातल विर्सिएको भन्ने आरोप झुट्टा हो ।’

No description available.

उहाँले लोकतान्त्रिक शक्तिहरूको गठबन्धनलाई प्रश्न उठाउने एमालेले आफूले गरिरहेका गठबन्धनलाई समेत ध्यान दिनुपर्ने बताउनुभयो।

उहाँले सत्ता गठबन्धन दलबीच आगामी निर्वाचनमा तालमेल गरेर जाने विषयमा सहमति भइसकेको भन्दै अब छिट्टै निष्कर्षमा पुग्ने बताउनुभयो ।

‘अहिले हामी पनि गठबन्धन नगर्ने पक्षमै थियौं । तर, हामीले नगरे, अरु कसैले गठबन्धन गर्छन्, त्यो हाम्रो पार्टीमात्रै होइन, मुलुकको लागि समेत हानीकारक हुन्छ भन्ने ०७४ को गठबन्धनको परिणामले देखाइसकेको छ,’ उहाँले भन्नुभयो, ‘त्यसकारण हामी गठबन्धन गरेर चुनाव जाने पक्षमा उभिएका हौं ।’

No description available.

उहाँले गठबन्धन गर्ने विषयमा कांग्रेसभित्र समेत कुनै भ्रम नरहेको बताउनुभयो ।

‘कसैले फरक मत राख्नै नपाउने भन्ने हुँदैन तर कांग्रेसले गठबन्धन गर्ने निर्णय सर्वसम्मत गरेको हो,’ प्रवक्ता डा.महतले भन्नुभयो, ‘अब हामी सिटको बाँडफाँट मिलाउने कामको अन्तिम चरणमा छौं, हामी परिणाम ल्याउने गरी गठबन्धन गर्ने प्रयास गरिरहेका छौं । सिट धेरै पाउने कुराभन्दा पनि धेरै सिट जित्ने कुरा महत्वपूर्ण हो ।’

उहाँले गठबन्धन दलले पार्टीको हैसियतभन्दा ज्यादा माग गर्दा केही दिन छलफल लम्बिएको भए पनि अन्ततः वास्तविक धरातलमा उभिएर सबै दलले सहमतिमा आउनुको विकल्प नभएको बताउनुभयो ।

‘कुन दलको ग्राउण्ड कस्तो छ ? त्यो हेरेर मात्रै हामीले गठबन्धनमा सिटको भागबन्डा लगाउँछौं । नभए अस्वाभाविक खालको गठबन्धन भएर धेरै सिट पाए पनि भोटको ट्रान्सफर हुँदैन, भोटको ट्रान्सफर नभए त्यसको अर्थ पनि छैन,’ काग्रेस प्रवक्ता डा.महतले भन्नुभयो ।

No description available.

Share Now

Leave a comment.