काठमाडौं, ७ चैत्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गिरिजाप्रसाद कोइराला सबै नेपालीको अभिभावक भएको बताएका छन् ।
गिरिजाप्रसाद कोइराला मेमोरियल कलेजको पाँचौँ स्थापना दिवसका अवसरमा बुधवार आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गिरिजाप्रसाद कोइराला काँग्रेस पार्टीको मात्र नभई राजनेताका रुपमा सबै नेपालीको अभिभावक रहेको बताए ।
उनले राजनीतिक रुपमा गिरिजाप्रसाद कोइरालालाई आफ्नो गुरु भन्न रुचाउने बताए । उनले भने गिरिजाबाबु त मेरा गुरु हुनुहुन्थ्यो ।
उनले नेपाली कांग्रेसका तात्कालिन सभापति तथा प्रधानमन्त्री गिरिजाबाबुसंग आफूहरु शान्तिप्रक्रिया आउँदा अभूतपूर्व सम्बन्ध कायम रहेको बताउदै उहाँको नामसँग जोडिएको हरेक कार्यक्रम उपस्थित हुने अभिलाषा प्रकट गरेका थिए ।
माओवादी केन्द्रका अध्यक्ष दाहालले शान्तिप्रक्रिया अघि गिरिजाप्रसाद र आफूबीच वैचारिक र भौतिक रुपमा एकापसको सम्बन्ध निषिद्ध भएको उल्लेख गर्दै शान्तिप्रक्रियाको क्रममा दुई बीचको सम्बन्ध अत्यन्त सुमधुर भएको बताए ।
मुलुकमा गणतन्त्र ल्याउनका लागि आफूले गिरिजाप्रसादसँग रोल्पा, रुकुम र भारतको दिल्लीबाट दैनिक १ घण्टासम्म कुराकानी गर्ने गरेको स्मरण गर्दै उनले गिरिजाप्रसादको सपना पूरा गर्नका लागि शान्ति, सहमति र सहकार्यलाई सबैले अँगाल्नुपर्नेमा जोड दिए ।
अध्यक्ष दाहालले संविधान कार्यान्वयन गर्दै मुलुकलाई आर्थिक समृद्धितर्फ लैजानु अहिलेको आवश्यकता रहेको छ भन्दै राजनीतिक अन्तरविरोध भए पनि सबै दल एकताबद्ध भएर घरघरमा उज्यालो पुर्याउनुपर्ने बताए ।
‘‘जसरी काँग्रेस र कम्युनिष्ट मिलेर निरंकुश पञ्चायत र राजतन्त्रको अन्त्य गरियौ’,’ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, ‘‘ठीक त्यसैगरी अब मुलुकको विकास र समृद्धिको नयाँ यात्रा कोर्नका लागि सत्ता र प्रतिपक्ष एकजुट भएर लाग्नुपर्दछ ।’’
अध्यक्ष दाहालले सत्ता पक्ष र प्रतिपक्ष परम्परागत रुपमा रहने हो भने देश नबन्ने भएकोले दुवै मिलेर देश बनाएमा मात्र गिरिजाबाबुको को सपना पूरा हुने बताए ।