काठमाडौं, ७ चैत्र । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली मौलिकतामा आधारित भएर भौतिक संरचना निर्माण गर्न इञ्जिनियरहरुलाई सुझाव दिएका छन् ।
नेपाल इञ्जिनियर्स एशोसिएसनको १५ औं राष्टिय सम्मेलनको आज राजधानीको राष्टिय सभागृहमा उद्घाटन गर्दै उपराष्ट्रपति पुनले यस्तो सुझाव दिएका हुन् ।
उपराष्ट्रपति पुनले राजनीतिक नेताहरुले संघीयता,समावेशिता,धर्म निरपेक्षता सहितको लोकतान्त्रिक गणतन्त्रको परिकल्पना साकार पार्न ७० बर्ष योगदान गरेको उल्लेख गर्दै ज्ञान धनी, सिर्जनशील र सिल्पी इञ्जिनियरहरुले भौतिक संरचनाको विकासका साथै आर्थिक सामाजिक विकासमा योगदान पुर्याउन योगदान गर्ने बेला आएको उल्लेख गरे ।
उनले २१ प्रतिशत जनसंख्याले ७९ प्रतिशत नेपालीलाई पाल्नु पर्ने हालको अवस्थामा परिवर्तन ल्याउनै पर्ने पनि उल्लेख गरे ।
उनले इञ्जिनियरिड.को क्षेत्रमा देखा परेका कमीकमजोरीलाई हटाउन पनि आग्रह गरे । उनले पुल बनिनस्कटै धसिने र भत्किने, पिच गरेको केही दिनमै उप्किने र बनेका संरचनाहरु चाडै विग्रने जस्ता विकृतिलाई इञ्जिनियरहरुले हटाउनु पर्नेमा जोड दिए ।
सम्मेलनको समुद्घाटन शत्रलाई सम्बोधन गर्दै ऊर्जा र सिंचाई मन्त्री बर्षामान पुनले नेपालको शिक्षालाई नै प्राविधिक शिक्षाउन्मुख गराउन आवश्यक भएको उल्लेख गर्दै इञ्जिनियरिड. विश्वविद्यालयको स्थापना, इञ्जिनियरिड. प्रशिक्षण प्रतिष्ठानको स्थापना जस्ता विषय छिट्टै सम्बोधन हुने बताए ।
उनले मुलुकले राजनीतिक परिवर्तन पूरा गरि तीन तहको निर्वाचनपछि तीन तहको सरकार गठन भई स्थायित्व तर्फ गएकोले अब सबैको ध्यान पूर्वाधार विकास र समृद्धितर्फ केन्द्रित हुन पर्ने बताए । पूर्वाधार विकास र आर्थिक समुन्नति एकर्काका परिपूरक भएकोले अबको चरणमा इञ्जिनियरहरुको महत्वपूर्ण भूमिका रहने उनले उल्लेख गरे ।
कार्यक्रममा पूर्वाधार विकास तथा भौतिक योजना मन्त्री रघुबीर महासेठले भाषणले मात्र देशको विकास हुन नसक्ने भन्दै पूर्वाधार विकास र आर्थिक विकासका लागि इञ्जिनियरहरुको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताए ।
नेपाल इञ्जिनियर्स एशोसिएशनका अध्यक्ष ई हरेराम श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको समुद्घाटन कार्यक्रममा एशोसिएसनका निवर्तमान अध्यक्ष ई ध्रुब थापालाई देशमा विनाशकारी महाभूकम्प आएको समयमा संघका सदस्य इञ्जिनियरहरुलाई स्वयम्सेवीका रुपमा परिचालन गरी ६५ हजार घरधुरीको अवलोकन, मूल्यांकन गरी सुरक्षा मापदण्डको स्टिकर टाँसेर संकटको बेला देश र जनतालाई पुर्याएको योगदानको कदर गर्दै सम्मानित पनि गरिएको थियो ।
कार्यक्रममा एशोसिएसनका अध्यक्ष इं हरेराम श्रेष्ठले देश संघीयतामा गैसकेपछि कर्मचारीको समायोजनका क्रममा प्राविधिक मन्त्रालयहरुको समायोजन र दरबन्दी मिलानमा समस्या देखिएर प्राविधिकहरुलाई काम गर्न अप्ठेरो परिस्थिति सिर्जना भएको बताएका थिए ।
उनले संघले विगत देखि उठाउदै आएका इञ्जिनियरिड. विश्वविद्यालयको स्थापना, इञ्जिनियरिड. प्रशिक्षण प्रतिष्ठानको स्थापना लगायतका माग पनि राखेका थिए ।
आजदेखि तीन दिनसम्म चल्ने सो सम्मेलनमा देशभरका करिब १ हजार इञ्जिनियरहरुले सहभागिता जनाउने बताइएको छ । सम्मेलनका अवसरमा विविध विषयमा कार्यपत्र प्रस्तुत गरि त्यसमाथि टिप्पणी गरेर परिामार्जन सहित पारित गरिनेछ ।
सम्मेलनको अन्त्यमा घोषणापत्र जारी हुने बताइएको छ ।
कार्यक्रममा सार्क देशका इञ्जिनियरिड. संस्थाहरुको अध्यक्ष र प्रतिनिधिहरुको पनि सहभागिता रहेको छ ।