ईश्वर जोशी
चितवन/ बीबीसी न्यूज नेपाली
भरतपुर(चितवन), २२ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मङ्सिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा चितवनको क्षेत्र नं ३ बाट उम्मेदवारी दिने भनिए पनि अन्तिम समयमा उहाँले गोरखाको क्षेत्र नं २ रोज्नुभएको छ।
चितवनको तीनवटा क्षेत्रमध्ये १ र २ मा नेपाली कांग्रेस र क्षेत्र नं ३ मा नेकपा माओवादी केन्द्रलाई दिने सहमति भएको विवरण आएका छन्।
तर यसअघि चितवनको क्षेत्र नं ३ बाट प्रचण्डले चुनावमा प्रतिस्पर्धा गर्ने सत्तारूढ गठबन्धनको तयारी रहेको बताइए पनि शुक्रवार भने उहाँको पार्टीले प्रचण्डले गोरखाबाट चुनाव लड्ने जनाएको छ।
यसअघिको प्रतिनिधिसभाको निर्वाचनमा प्रचण्डले चितवनको क्षेत्र नं ३ बाट ४८ हजार २ सय ७६ मत प्राप्त गरेर विजयी हुनुभएको थियो।
उहाँका निकटतम प्रतिद्वन्द्वी राप्रपा प्रजातान्त्रिकका नेता विक्रम पाण्डेले ३८ हजार ९ सय ३५ मत ल्याउनुभएको थियो। प्रचण्डले करिब ९ हजारको मत अन्तरले जित्नुभएको थियो।
यसपालि पनि चितवनबाटै चुनाव लड्ने निश्चित जस्तै ठानिएको बेला प्रचण्ड गोरखा जानुले चितवनका मतदाताहरूमाझ अहिले तर्कवितर्क चल्न थालेको छ।
क्रेज घट्ने डर
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको लोकप्रियता वा क्रेज चितवनमा पहिलेको तुलनामा बिग्रँदै जानु अनि स्थानीय निर्वाचनमा आफ्नो छोरीलाई जिताउन उहाँले खेलेको भूमिकाका कारण पनि चितवनबाटै फेरि चुनावमा प्रतिस्पर्धा गर्न उहाँ हिच्किचाएको हुनसक्ने चितवनका एक राजनीतिक विश्लेषक डीआर पोखरेलले बताउनुभयो।
चितवनमा नेकपा माओवादी केन्द्रको अवस्था कमजोर रहेको र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने पनि त्यहीँ क्षेत्रबाट उठ्ने चर्चाले पनि प्रचण्डलाई यो क्षेत्र छाड्न मन लागेको हुनसक्ने उहाँले बताउनुभयो।
काठमाण्डूमा बालेन शाहको क्रेज अनि चितवनमा रवि लामिछानेको सम्भावित प्रभावका साथै निर्वाचनको समयमा आफ्नो इतिहासबारे कोट्याइने डर पनि प्रचण्डलाई रहेको देखिएको विश्लेषक पोखरेलको भनाई छ।
चितवनमा आउन आग्रह
तर प्रचण्डलाई चितवनबाटै चुनाव लड्नको लागि चितवनका नेपाली कांग्रेसका वडा अध्यक्षहरूले उहाँलाई भेटेरै आग्रह गरेका थिए।
प्रचण्डले चितवन छाड्दै गर्दा कतिपयलाई चाहिँ विकास निर्माणको जुन बजेट प्रचण्डले त्यहाँ ल्याउने गर्नुभएको थियो वा भविष्यमा ल्याउनुहुन्थ्यो, त्यो भने अब नहुने र चितवनको विकास पछाडि पर्ने हो की भन्ने चिन्ता पनि रहेको छ।

प्रचण्ड
प्रचण्डले पहिले चितवनबाट चुनाव लड्छु भनेर हुङ्कार गर्ने अनि पछि चितवनबाट भाग्ने कमजोर काम भएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले बताउनुभयो।
चितवनमा प्रचण्डको लागि राम्रो वातावरण हुँदाहुँदै पनि छाडेर जानु भनेको डरको प्रदर्शन भएको उहाँको कथन छ।
प्रचण्डले चितवन छाड्नुमा कांग्रेसको विरोधभन्दा पनि नेकपा माओवादी केन्द्रभित्रको अन्तरद्वन्द्व मुख्य कारक रहेको भन्दै उहाँले हालै उक्त पार्टीका केन्द्रीय सदस्य तथा चितवनका पार्टी नेता यमबहादुर परियारले पार्टी त्याग गरेर एमालेमा गएको घटनातर्फ संकेत गर्नुभयो ।
के भन्छन् माओवादी ?
तर चितवनका माओवादी नेता तथा कार्यकर्ताहरूको तर्क भने अलग छ।
ूप्रचण्ड राष्ट्रिय नेता हुुनुहुुन्छ। उहाँले अलगअलग स्थानबाट चुनाव लडेर जित्नुभएको छ । आर्थिक विकास तथा समृद्धिको निम्ति नयाँ जनयुद्धको घोषणाको लागि प्रचण्ड गोरखाबाट चुनाव लड्न लाग्नुभएको हो । नेकपा माओवादी केन्द्र चितवनका अध्यक्ष रामचन्द्र अधिकारीले भन्नुभयो।
गोरखा जिल्ला जनयुद्धको थालनी भएको स्थान भएकोले सोही स्थान रोजिएको र यसमा अन्य कुनै कारण नरहेको उहाँले बताउनुभयो।


















