Prakash Adhikari October 9, 2022

काठमाडौं, २३ असोज । प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्षतर्फको १ सय ६५ तथा ३ सय ३० सिटमा उम्मेदवारी दर्ता गराउने अघिल्लो दिन सत्ता गठबन्धनको एक प्रमुख घटक जनता समाजवादीले विगतमा नकपा माओवादीकै शैलीमा विपक्षी दल नेकपा एमालेसँग चुनावी तालमेलको सहमति गरेको छ।

गत वर्ष एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेदेखि नै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी तथा राष्ट्रिय जनमोर्चासँग छुट्टै गठबन्धनमा सामेल भएर सत्तामा समेत सहभागी जनता समाजवादी पार्टीले चुनावको मुखमा खेमा परिवर्तन गरेको छ।

तालमेल मात्र
शनिवार सार्वजनिक गरिएको नेकपा एमाले र जसपाबीचको तालमेल सहमतिअनुसार १४ जिल्लामा दुई पार्टीले ५२ वटा प्रतिनिधिसभा क्षेत्र अनि १ सय १२ वटा प्रदेशसभा क्षेत्रमा तालमेल गर्नेछन्।

“यो हामीले केवल चुनावी तालमेल गरेका हौँ। निर्वाचनमा सबैको जित्ने नै लक्ष्य हुन्छ”, जसपाका नेता मनिष सुमनले भन्नुभयो।

उहाँका अनुसार मधेश प्रदेशका सबै जिल्लामा केही सिटबाहेक अधिकांशमा यस्तो तालमेल गरिएको छ।

साथै प्रदेश १ को मोरङ् र सुनसरी अनि लुम्बिनी प्रदेशको नवलपरासी (पश्चिम), रूपन्देही र कपिलवस्तुस र सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाका सिटहरूमा तालमेल गरिएको छ।

सहमतिमा तालमेल भएका बाहेक अन्य निर्वाचन क्षेत्रमा दुवै पार्टीले उम्मेदवारी दिनसक्ने भनिएको छ।

“यो सहकार्य निर्वाचनपछि पनि निरन्तर रहने(छ)”, नेकपा एमालेका अध्यक्ष केपी ओली तथा जसपाका अध्यक्ष उपेन्द्र यादवको हस्ताक्षर भएको उक्त सहमतिपत्रमा उल्लेख छ।

सत्तारुढ गठबन्धनको तालमेल

यसअघि सत्तारुढ गठबन्धनका प्रमुख घटकहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी तथा राष्ट्रिय जनमोर्चाबीच पनि तालमेल भएका विवरण आएका छन्।

ती विवरणअनुसार कुल १ सय ६५ सिटमध्ये नेकपा माओवादी केन्द्रलाई ४७, एकीकृत समाजवादीलाई १९, तथा राष्ट्रिय जनमोर्चालाई २ सिट दिइएको छ।

बाँकी ९७ सिटमध्ये नेपाली कांग्रेसले ८४ जति लिएर अरु लोकतान्त्रिक समाजवादी पार्टीलाई दिनेगरि अन्तिम सहमतिका कसरत भइरहेका विवरण आएका छन्।

तर यी सिट सङ्ख्या केही तलमाथि हुनसक्ने नेताहरूले बताएका छन्।

जसपाले सत्तारुढ घटकमा आफूले चाहेजति नपाउने भएपछि एमालेसँग वार्ता थाल्ने वित्तिकै सत्तारुढ दलहरूसँग लोसपाले सघन वार्ता थालेको थियो।

माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी दलले कम्तीमा २० वटा सिटमा आफ्नो दाबी प्रस्तुत गर्दै आएको थियो।

“समग्रतामा हेर्दा नेपाली कांग्रेस र माओवादीले राम्रै सिट सङ्ख्या पाएका छन्। हामीलाई अलि मर्का परेकै छ। यसले हाम्रो समानुपातिक सिट सङ्ख्यामा पनि असर पार्नेछ”, एकीकृत समाजवादीका तर्फबाट उदयपुर क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्न पाएका पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले भन्नुभयो।

तालमेललाई लिएर सम्बन्धित दलकै कतिपय नेताले असन्तुष्टि व्यक्त गरेका छन्।

“व्यक्तिगत रूपमा भन्नुपर्दा खुशी हुने कुरा छैन, तर पार्टीले निर्णय गरिसकेकोले सोहीअनुसार बढ्नुपर्ने हुन्छ”, कांग्रेसका केन्द्रीय सदस्य जितजङ्ग बस्नेतले बीबीसीसँग भन्नुभयो।

भूसालले त्यागे एमाले

यसैबीच नेकपा एमालेले आफूलाई निर्वाचनमा उम्मेदवार नबनाएपछि पार्टी नेता घनश्याम भूसालले एमाले त्यागेको घोषणा गर्नुभएको छ।

सामाजिक सञ्जाल फेसबुकमा शनिवार दिउँसो उहाँले एक विज्ञप्ति राख्दै ुनेकपा एमालेको गौरवलाई कुनै दिन पुनर्स्थापित गर्न सकिन्छ भन्ने आशा र विश्वासले चरम अपमान र विभेद सहँदै पार्टीमा नीति र विधिको पक्षमा सङ्घर्ष गर्दै आएकोु उल्लेख गर्नुभएको छ।

“तर म स्वयंले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामर्थ्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनर्स्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि, अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैँप्रति पनि इमान्दार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु”, भूसालले लेख्नुभएको छ।

नेकपा एमालेभित्र भूसाल अध्यक्ष ओलीका कट्टर आलोचक मानिनुहुन्थ्यो।(बीबीसीबाटं)

Share Now

Leave a comment.