काठमाडौं, २३ असोज । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दशैं सकिन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसाद स्वरूप टीका र जमरा लगाएर मान्यजनबाट आशीर्वाद लिने क्रम पनि आजैदेखि समाप्त हुन्छ ।
आजै जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लगेर सेलाइन्छ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात दशैं हिन्दु नेपालीले आ–आफ्नो गच्छेअनुसार मनाउँछन् ।
आजको दिन महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बस्नेहरूको घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास छ ।
माता दुर्गाका तीनवटा रूपमध्येको एक रूप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ ।
यसैबीच दशैं मनाउन गृह जिल्ला गएकाहरू फर्कनेक्रम बढेसँगै काठमाडौँमा चहलपहल बढेको छ । दशैं मनाउन घटस्थापनाको दिनदेखि फूलपातीसम्ममा १७ लाखले काठमाडौँ उपत्यका छाडेका प्रहरीको तथ्याङ्क छ ।
आजदेखि अधिकांश कार्यालय तथा विद्यालय खुल्ने भएपछि उपत्यका छाडेर गएकाहरू फर्कन थालेका हुन् ।
गण्डकी र मधेश प्रदेशमा सार्वजनिक विदा
एक साताको दशैँ विदापछि असोज २३ गते आइतबारबाट सरकारी कार्यालयहरु खुल्छन् तर गण्डकी र मधेश प्रदेशले आइतबार सार्वजनिक विदा दिने भएका छन् ।
गण्डकी प्रदेश सरकारले असोज २३ गते कोजाग्रत पूर्णिमाको अवसरमा सार्वजनिक विदा दिने भएको हो ।
प्रदेशको आन्तरिक मामिला मन्त्रालयका उपसचिव यामप्रसाद सुवेदीका अनुसार गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्ले २०७८ चैत १८ मा नै यसबारे निर्णय गरेको थियो।
गत वर्षको निर्णय प्रदेश राजपत्रमा प्रकाशन भई सार्वजनिक विदा सम्बन्धी सूचनामा राखिएकाले सोही राजपत्रको आधारमा कोजाग्रत पूर्णिमाको दिनमा सार्वजनिक विदा दिइएको हो।
।
त्यस्तै मधेश प्रदेश सरकारले पनि असोज २३ गते सार्वजनिक विदा दिने भएको छ । इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिने निर्णय भएको गृह तथा सञ्चार मन्त्रालयका सूचना अधिकारी नाजो राम भगतले जानकारी दिनुभयो ।
उहाँका अनुसार मधेश प्रदेश सरकारले गत चैत् १८ गते राजपत्रमा प्रकाशित गरेको सूचनामै पैगम्बर मोहम्मदको जन्मदिनमा सार्वजनिक विदा दिने उल्लेख थियो ।


















