Prakash Adhikari October 22, 2022

काठमाडौं । सत्ता गठबन्धनको शीर्ष नेताको चुनावी अभियान सुरु भएको छ । शुक्रबार पोखरा बुटवलमा संयुक्त प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गरेर यो अभियानलाई गठबन्धनले गति दिएको हो ।

पोखराको भेलालाई सम्बोधन गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनमा शंका पैदा हुने काम नगर्न नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो।

कांग्रेस सभापति एवम् प्रधानमन्त्री देउवाले गठबन्धन आजको आवश्यकता भएको भन्दै शंका पैदा गर्ने, मतभिन्नता ल्याउने कुनै पनि काम नगर्न आग्रह गर्नुभयो । ‘कुनै पार्टीको बहुमत आउन सक्दैन, त्यसैले पार्टीहरू मिल्नुपरेको छ’, उहाँले भन्नुभयो, ‘गठबन्धनका साथीहरूलाई शंका पैदा गर्ने, मतभिन्नता ल्याउने कुनै पनि काम नगरौं ।’

प्रधामनमन्त्री देउवाले आगामी चुनावपछि गठबन्धनको सरकार बन्यो भने सबैले ठाउँ पाउने पनि आश्वासन दिनुभयो । उहाँले भन्नुभयो, ‘हाम्राबीचमा सबै पार्टीका साथीहरूले कसैले टिकट पाउनुभएन होला, कतिले पाउनुभयो होला । सबै पार्टीमा त्यस्तै छ । सबैको पालो आउँछ । गठबन्धनको सरकार बन्यो भने सयौं ठाउँ हुन्छन् ।’

इमान्दारीपूर्वक मतदान गर्न प्रचण्डको अपिल

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ४ मंसिरमा हुने चुनावमा आफ्नो पार्टीलाई मात्र भोट हाल्छु भन्ने अडान नलिन सत्ता गठबन्धनका नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

‘हसिया हथौडालाई रूखमा, रूखलाई हसिया हथौडामा र कलमलाई मत हाल्न गाह्रो भएको महसुस गरेको सुन्ने गरेका छौँ’, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘गठबन्धन गर्दा नै सबै चुनाव चिह्न स्वीकार गरेका हौँ । आफ्नो पार्टीलाई मात्र भोट हाल्छु भन्नु आत्मघाती हुनेछ ।’

संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धन गरेको भन्दै प्रचण्डले यसको लाभ पनि दलहरूले पाएको बताउनुभयो ।

‘स्थानीय तहको निर्वाचनमा सबभन्दा बढी काँग्रेसले लाभ लिएको छ भने अरूले पनि लिएका छन् । तर सोचेजस्तो भएन’, उहाँले भन्नुभयो, ‘गठबन्धनलाई भोट हाल्दिन भन्दा पाप पलाउन सक्छ, पाप धुरीबाट कराउँछ ।’

भैरहवामा पनि कार्यक्रम

गठबन्धनका शीर्ष नेताहरुले लुम्बिनी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई रुपन्देहीमा पनि संबोधन गरेका छन् ।

कार्यक्रमलाई संबोधन गर्दै प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताको वलिदानबाट आएको लोकतन्त्र नै खतरामा परेपछि कम्युनिस्टहरूलाई पनि साथ लिएर देश बचाउन गठबन्त्रन गर्नुपरेको बताउनुभयो ।

उहाँले गठबन्धन चुनाव जित्नका लागि चुनावसम्मका लागि मात्र नभएर देश र व्यवस्था बचाउनका लागि वर्षौंसम्म रहने दाबी गर्नुभयो ।

उहाँले पवित्र उद्देश्यले गठबन्धन गरिएकाले गठबन्धन पार्टीभित्र शंका उपशंका नगर्न र सबैलाई मतदान गर्न आग्रह गर्नुभयो ।

“गठबन्धन दलभित्र शंका–उपशंका वा बहानाबाजी चल्दैन । जो जो उम्मेदवार उठ्नुभएको छ जिताउनुपर्छ”, देउवाले भन्नुभयो, “गठबन्धन दलभित्र एक–अर्कालाई विश्वास दिलाउने गरी काम गर्नुपर्छ ।”

कार्यक्रममा देउवाले अझै केही वर्ष गठबन्धन आवश्यक रहेको र यसलाई बचाउन विश्वास कायम राख्नुपर्ने दोहोर्‍याउनुभयो ।अझै केही वर्षसम्म नेपालमा समावेशिता, संविधान र गणतन्त्र बचाउन गठबन्धन आवश्यक छ । देउवाले भन्नुभयो, “गठबन्धनको खिलाफमा एउटा तागत लागिरहेको छ, भन्न थालिसके राजावादी तागत नै राष्ट्रवादी हो रे । यसलाई गलत साबित गर्नुपर्ने छ ।”

कांग्रेस सभापति देउवाले जनताको घरघरमा पुगेर गठबन्धनको पक्षमा जनमत सिर्जना गर्न पनि कार्यत्रर्ताहरूलाई निर्देशन दिनुभएको थियो ।

प्रशिक्षणमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले यस पटकको निर्वाचनको विशेष अर्थ र महत्त्व रहेको बताए । दुईतिहाइको सरकार ध्वस्त पारेर देशलाई अराजकता र अस्थिरतातिर धकेल्ने र लोकतन्त्र सिध्याउने प्रयास भएपछि गठबन्धन गर्नुपरेको बताउनुभयो।

उहाँले दुईतिहाइ प्राप्त सरकारले देश र जनताको पक्षमा काम गर्न छोडेर सुनियोजित रूपमा भ्रष्टाचार र कोभिडको चरम संक्रमणको बेलामासमेत त्यही कोभिडको उपकरण र औषधिमाथि भ्रष्टाचार गर्न थालेपछि जनताको रक्षा गर्न पनि गठबन्धन बनेको बताउनुभयो ।

‘भ्रष्टाचार नियन्त्रण गरौं, सुशासन कायम गरौं भन्दा उल्टै हामीलाई काम गर्न दिएनन् भन्ने आरोप लगाइयो,’ दाहालले भन्नुभयो, ‘भ्रष्टाचारको विरोध गर्दा उल्टै सार्वभौम सत्ता नै समाप्त गर्ने प्रयास भएपछि त्यसबाट देश, संविधान र लोकत्न्त्र जोगाउन हामीले यो गठबन्धन बनाएका हौं ।’ पाँच दलीय गठबन्धन नबनेको भए गणतन्त्र उल्टिने निश्चित भएको पनि उहाँले दावी गर्नुभयो ।

‘त्यो खतरा अझै जारी छ,’ दाहालले भन्नुभयो, ‘त्यसैले त्यसलाई परास्त गर्ने मंसिर ४ को निर्वाचनले नै हो ।’ उहाँले आफूभित्रको हरेक असन्तुष्टिलाई बिर्सेर लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराउन अपिल गर्नुभयो ।

कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले यो चुनावमा मुलुकमा दुई गठबन्धन होइन अग्रगामी र प्रतिगमन पक्षधरबीचको प्रतिस्पर्धा भएको बताउनुभयो । ‘हामीले अग्रगमन पक्षधरको नेतृत्व गर्दै लोकतान्त्रिक गठबन्धन गरेका छौं,’ उहाँले भन्नुभया, ‘त्यसलाई जिताउन हरेक किसिमका प्रयास गर्नुहोला ।’

कार्यक्रमलाई संबोधन गर्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संविधान क्षतविक्षत गरेर संविधानलाई समाप्त पार्ने प्रयास भएपछि गठबन्धन गरेर अघि बढेको बताउनुभयो ।

‘हामीले जोखिम नउठाएको भए, प्रतिकार नगरेको भए आज संविधान नै क्षतविक्षत हुने थियो, लोकतन्त्र खल्बलिने थियो,’ उहाँले भन्नुभयो, ‘हामीले त्यही संविधान रक्षा गर्न यो जोखिम मोलेका थियौं । आज यो लोकतान्त्रिक गठबन्धन त्यही जोखिमको निरन्तरता हो ।’

प्रशिक्षण कार्यक्रममा एमाले छोडेर गठबन्धनको समर्थनमा स्वतन्त्रबाट रूपन्देही क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा उम्मेदवार बनेका वामपन्थी नेता घनश्याम भुसाल पनि उपस्थित हुनुुहुन्थ्यो । नेता नेपालले भुसाल प्रति ब्यंग्य गर्दै केपी ओलीलाई सुधार्न नसकेपछि अहिले छोडेर गठबन्धनमै आएको बताउनुभयो । ‘घनश्यामजीले साबुन पानीले धोएर सुधार गर्ने प्रयत्न गर्नुभयो तर सक्नु भएन, उहाँले मात्र होइन कसैले पनि सुधार्न सक्दैन,’ नेता नेपालले भन्नुभयो, ‘त्यो प्रयास मैले र कमरेड प्रचण्डले पहिल्यै गरेका थियौं ।’

कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणले सहमति, सहकार्य र एकताले नै संविधान जारी भएको उल्लेख गर्दै त्यही संविधानको रक्षाका लागि अहिले पनि पाँच दल सहमति, सहकार्य र एकताका साथ अघि बढेको बताउनुभयो ।

‘गठबन्धनभित्रको आवश्यकता र एकताले नै संविधानको रक्षा गर्नेछ,’ उहाँले भन्नुभयो, ‘त्यसैले तपाइँहरूको लगनशिलता, क्रियाशिलता र दृढता संविधानको रक्षाका लागि मंसिर ४ गतेको चुनावमा देखिनु जरुरी छ ।’

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका कार्यवाहक अध्यक्ष रेश्मीराज नेपाली, लोसपाका लुम्बिनी प्रदेश अध्यक्ष सन्तोष पाण्डेय लगायतले सम्बोधन गर्नुभएको थियो ।

 

Share Now

Leave a comment.