लण्डन( संयुक्त अधिराज्य), ५ कार्तिक(बीबीसी) । पद सम्हालेको ४५ दिनमै लिज ट्रसले राजीनामा दिएपछि यतिखेर यूकेले एक वर्षभित्रै तेस्रो प्रधानमन्त्री खोजिरहेको छ।
छ वर्षमा कन्जर्भेटिभ दलका पाँचौँ नेता ब्रिटेनमा सबैभन्दा कम समय पद सम्हालेकी लिज ट्रसको उत्तराधिकारी बन्नेछन्।
अर्को साताको अन्त्यसम्ममा नयाँ नेता छान्ने प्रक्रिया सकिने अपेक्षा गरिएको छ।
यहाँ केही सम्भावित उम्मेदवारबारे चर्चा गरिएको छ।
ऋषि सुनक

पूर्वअर्थमन्त्री सुनक यसअघि गत महिना भएको कन्जर्भेटिभ नेतृत्व छान्ने निर्वाचनमा दोस्रो हुनुभएको थियो।
चुनावी प्रचारप्रसारका क्रममा उहाँले आफ्नी प्रतिस्पर्धीको कर योजनाहरूले यूकेको अर्थतन्त्र बिगार्ने तर्क गर्नुभएको थियो। तर पार्टी सदस्यहरूलाई आश्वस्त पार्न उहाँ विफल हुनुभयो।
आफू प्रधानमन्त्री बन्नका लागि योग्य व्यक्ति भएको पुष्टि गर्ने प्रयासमा उहाँले लिज ट्रसभन्दा २१ हजार मत कम पाउनुभयो।
सुनकका मातापिता पूर्वी अफ्रिकाबाट बेलायत प्रवेश गर्नुभएको भारतीय मूलका हुनुहुन्छ।
साउथम्टनमा जन्मिनुभएएका उहाँले अक्सफर्ड र स्ट्यान्डफर्ड यूनिभर्सिटीमा अध्ययन गर्नुभएको थियो।
सन् २०१५ मा सांसद बन्दा वेस्टमिन्स्टरबाहिर थोरै व्यक्तिले मात्र उहाँलाई चिनेका थिए। तर उहाँ फेब्रुअरी २०२० मा अर्थमन्त्री नियुक्त हुनुभयो।
उहाँले तत्कालै कोरोनाभाइरस महामारीका कारण उत्पन्न चुनौती सामना गर्नुपर्यो।
लकडाउनका बेला अर्थतन्त्रलाई गतिशील राख्ने प्रयासमा उहाँले ठूलो रकम खर्च गर्नुपर्यो। त्यसले उहाँको लोकप्रियता बढायो।
यद्यपि आफ्नी पत्नीसँग सम्बन्धित करको विवादले उहाँको प्रतिष्ठामा ह्रास ल्यायो। त्यसको केही समयमा लकडाउनका नियम उल्लङ्घनन गरेकोमा तोडेकामा हाँले जरिबाना समेत तिर्नुपर्यो।
पेनी मोर्डन्ट

यसअघिको प्रतिस्पर्धामा सहभागी हुँदा पेनी मोर्डन्टले सहकर्मी सांसदहरूबाट बलियो साथ पाउनुभयो। तर उहाँ अन्तिम दुईमा पर्न भने सक्नुभएन।
लिज ट्रसलाई साथ दिएपछि उहाँ हाउस अफ कमन्समा नेत्री र प्रिभी काउन्सिलमा लर्ड प्रेसिडेन्ट नियुक्त हुनुभयो।
त्यसको अर्थ उहाँले नयाँ राजाको राज्यारोहण परिषद्को अध्यक्षता गर्ने अवसर पाउनु भयो।
सन् २०१९ मा मोर्डन्टले यूकेमा प्रथम महिला रक्षामन्त्री बन्नुभएको थियो।
कुनै बेला जलसेनामा जगेडा सैनिक रहनुभएकी र सशस्त्र फौज हेर्ने मन्त्रालयको नेतृत्व गरिसक्नुभएकी मोर्डन्टका लागि त्यो एउटा स्वाभाविक भूमिका पनि थियो।
डेभिड क्यामरनको सरकारमा उहाँ सशस्त्र फौजसम्बन्धी मन्त्री बनेकी हुनुहुन्थ्यो।
बेन वालेस

पार्टीभित्र धेरै शीर्ष टोरी नेताहरू वैचारिक रूपमा विभाजित भइरहँदा रक्षामन्त्री वाले सहकर्मी सांसदहरूका दृष्टिमा विश्वासयोग्य व्यक्तिका रूपमा पर्नुहुन्छ।
तर उहाँ अहिलेसम्म कन्जर्भेटिभ नेतृत्वको निर्वाचनमा उठ्नुभएको छैन।
युक्रेनमा भएको रुसी आक्रमणपछि उहाँप्रति धेरैको चासो बढ्दै गएको छ।
यूकेले सुरुमै किएभलाई अस्त्र र तालिम दिएर सहयोग गर्ने निर्णय गरेको थियो।
ब्रेक्जिटविरुद्ध उहाँको विमति थियो। तर सन् २०१७ मा नेतृत्वमा पुग्ने बोरिस जोनसनको असफल अभियानको नेतृत्व वालेसले नै गर्नुभएको थियो। पछि सन् २०१९ मा वालेसलाई मन्त्री बनाइयो।
राजनीतिमा आउनुअघि उहँले जर्मनी, साइप्रस, बेलिज र नोर्दर्न आयरल्यान्डमा सैनिकका रूपमा काम गर्नुभएको थियो।
केमी बडेनोच

नेतृत्वको यसअघिको प्रतिस्पर्धामा बडेनोच आश्चर्यजनक रूपले आएकी प्रतिस्पर्धी हुनुहुन्थ्यो। उहाँले नजिते पनि त्यस प्रतिस्पर्धाले उहाँको व्यक्तित्व उकास्नमा निकै साथ दियो।
दक्षिणी लन्डनको विम्बल्डनमा जन्मिनुभएकी उहाँ अमेरिका र नाइजिरियामा हुर्किनुभएको हो। उहाँकी आमा मनोविज्ञानकी प्राध्यापक हुनुहुन्थ्यो।
संसद् प्रवेश गर्नुअघि उहाँ एक निजी ब्याङ्क कुट्स र द स्पेक्टेटर म्यागजीनमा काम गर्नुहुन्थ्यो।
सरकारमा अहिलेसम्म उहाँको सबैभन्दा वरिष्ठ भूमिका भनेको लिज ट्रसका लागि अन्तर्राष्ट्रिय व्यापार सम्बन्धी मन्त्रालयको नेतृत्व गर्नु थियो।
सुएला ब्राभर्मन

पूर्वगृहमन्त्री ब्राभर्मनको राजीनामाले लिज ट्रसमाथि दबाव सिर्जना गरेको थियो र त्यसको २४ घण्टाभित्रै उहाँले राजीनामा दिएको घोषणा गर्नुभयो।
उहाँको बहिर्गमन तथ्याङ्क दुरुपयोगसँग सम्बन्धित रहेको स्पष्ट रूपमा देखिन्थ्यो। तर उहाँको क्रुद्ध राजीनामापत्रले आप्रवासनका मामिलामा उहाँको असहमतिलाई देखाएको थियो।
उहाँले सामाजिक मुद्दाहरूमा पार्टीका दक्षिणपन्थी नेताहरूको सहयोग खोज्दै गर्दै आफ्नो सपना आप्रवासीहरूलाई रुवान्डा पठाउने रहेको बताउनुभयो।
बोरिस जोनसनको सरकारमा महान्यायाधिवक्ता र त्यसअघि वकिल रहनुभएकी ब्राभर्मन ब्रेक्जिट समर्थक हुनुहुन्छ।
उहाँ पछिल्लो नेतृत्व प्रतिस्पर्धामा समेत सहभागी भए पनि दोस्रो चरणबाटै बाहिरिनुभएको थियो।
उहाँका मातापिता सन् १९६० को दशकमा केन्या र मरिशसबाट बेलायत प्रवेश गर्नुभएको थियो।
दुवै जनाले स्थानीय राजनीति गर्नुभएको छ। उनकी आमा १६ वर्षसम्म काउन्सिलर हुनुभयो।
उत्तरपश्चिम लन्डनमा जन्मिनुभएकी सुएला ब्राभर्मन बौद्धमार्गी हुनुहुन्छ ।
के बोरिस जोनसनको पुनरागमन होला?

नयाँ नेता चयनका लागि एक साता मात्र बाँकी रहँदा धेरै प्रतिस्पर्धीहरू परिचित अनुहार हुन सक्छन्। त्यसमा केही महिनाअघि मात्र प्रधानमन्त्री पदबाट बाहिरिएका बोरिसजोन पनि पर्न सक्छन्।
मन्त्री तथा सांसदहरूको व्यापक विद्रोहपछि गत जुलाईमा जोनसन पदत्याग गर्न बाध्य हुनुभएको थियो।
प्रधानमन्त्री निवासमा लकडाउनका बेला भएका भोज र अन्य विवादहरूपछि त्यस्तो अवस्था सिर्जना भएको थियो।
यद्यपि अझै पार्टीका साधारण सदस्यहरूको पङ्क्ति र उहाँका साझेदारहरू दुवै संसद्मा हुनुहुन्छ।
लामो समयदेखिकी समर्थक नदिनी डोरिसले जोनसनले सन् २०१९ को चुनावमा ब्रिटिश जनताबाट कार्यादेश पाएको भन्दै उहाँले फर्किनुपर्ने मत राख्नुभएको छ।
त्यसैले टेन डाउनिङ स्ट्रीटमा बोरिस जोनसनको प्रधानमन्त्रीका रूपमा पुनरागमन पनि सम्भव छ।
नयाँ नेता कसरी चयन गरिन्छ ?
नयाँ नेता प्रधानमन्त्री बन्ने भए पनि उनीहरूलाई सर्वसाधारण जनताले मतदान गर्नेछैनन्।
सम्भावित उम्मेदवार हुनका लागि पनि बेग्लै प्रक्रिया छ।

मतपत्रमा नाम पर्नका लागि पहिले उनीहरूले कम्तीमा १०० जना टोरी सांसदहरूको समर्थन जुटाउनुपर्छ।
कुल ३ सय ५७ जना टोरी सांसद भएकाले तीन जनाभन्दा धेरै उम्मेदवार बन्न सक्ने छैनन्।
व्यावहारिक रूपमा दुई उम्मेदवार बन्न सक्छन्। एक मात्र उम्मेदवार भएमा मतदानबिनै पार्टी नेताको चयन हुन सक्छ।
सोमवार यदि एक जना मात्रले १०० जना सांसद्को सीमा पुर्याउन सकेमा उहाँ नयाँ नेता चयन हुनुका साथै अर्को तहको प्रतिस्पर्धामा नगईकन प्रधानमन्त्री बन्नुहुने छ।
एकभन्दा धेरै उम्मेदवार भएमा त्यहाँ कन्जर्भेटिभ सांसद्हरूबीच मतदान हुनेछ।
अन्तिममा यदि दुई जना मात्र उम्मेदवार भएमा अर्थात् मतदानको सङ्केतका आधारमा एक जनाले उम्मेदवारी फिर्ता लिएपछि पार्टी सदस्यहरूबीच विजेता चयनका लागि अनलाइन मतदान हुनेछ।
अक्टोबर २८ का दिन शुक्रवार विजेता घोषणा हुनेछ।


















