Prakash Adhikari October 23, 2022

भरतपुर(चितवन), ६ कार्तिक । नेपाली कांग्रेसकी दानी नेतृ पूर्व सांसद मैयादेवी श्रेष्ठको ९५ वर्षका उमेरमा आज बिहान निधन भएको छ ।

पछिल्लो समय निमोनियाबाट अस्वस्थ भई नेपाली काङ्ग्रेसकी वरिष्ठ नेतृ श्रेष्ठ यही कात्तिक ४ गतेदेखि चितवन मेडिकल कलेजको अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । उहाँ अविवाहित हुनुहुन्थ्यो ।

वरिष्ठ समाजसेवी श्रेष्ठमा श्वासप्रश्वासको समस्या देखिएको थियो । उहाँलाई गत असोज २५ गते सो अस्पताल भर्ना गरिएकामा पाँच दिनपछि घर लगिएको थियो । पुनः उहाँको स्वास्थ्य अवस्था जटिल भएपछि सो अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा पूर्व सांसद श्रेष्ठको आज बिहान निधन भएको उहाँका धर्मपुत्र टङ्कनाथ पौडेलले जानकारी दिनुभयो ।

नेपाल आमा सम्मानबाट सम्मानित पूर्व सांसद श्रेष्ठ यहाँ स्थित मैयादेवी कन्या क्याम्पसको संरक्षक हुनुहुन्छ । धर्मपुत्र पौडेलका अनुसार दानीका रूपमा परिचित श्रेष्ठले हालसम्म दान गरेका सम्पत्ति रु एक अर्बभन्दा माथिको रहेको छ ।
विसं १९८५ असोज ५ गते फूलपातीका दिन तनहुँको बन्दीपुरमा श्रेष्ठको जन्म भएको थियो ।

आज बिहान ९ः३० बजेबाट १०ः३० बजेसम्म उहाँको पार्थिव शरीरलाई काँग्रेसको पार्टी कार्यालय कमलनगरमा राखिने र यसपछि उहाँ संरक्षक रहेको मैयादेवी कन्या क्याम्पसमा केही बेर राखेर दिउँसो १ बजे देवघाट लगिने काँग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिनुभयो ।

नोपली कांग्रेस चितवनले एक शोक वक्तव्य जारी गर्दै पार्टीका आजका सबै कार्यक्रम स्थगन गरी शोक मनाउने जनाएको छ ।

Share Now

Leave a comment.