काठमाडौँ, ८ कार्तिक । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ ।
गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्त्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।
गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ ।
नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले जानकारी दिनुभएको छ ।
औँसीका दिन बिहान गाईपूजा गर्ने र साँझ लक्ष्मीपूजा गर्नुपर्ने विधि भए पनि तिथिको घटबढका कारण यो वर्ष दुई दिन परेको छ।
सोमबार अपराह्न नै औँसी तिथि लागेपछि साँझ लक्ष्मीपूजा गरिएको छ।
सोमबार २७ घडी १५ पला अर्थात् अपराह्न ५ बजेर ४ मिनेटमा औँसी लागेको हो। मंगलबार २५ घडी ५७ पला अर्थात् अपराह्न ४ बजेर ३३ मिनेटसम्म औँसी रहने पञ्चांग निर्णायक विकास समितिले जनाएको छ। ।
वनजंगलका औषधियुक्त घाँसपात खाएर अमृतरूपी दूध दिने भएकाले सनातन हिन्दु समाजमा गाईलाई आमाकै रूप मानिएको छ। गाईबाट प्राप्त हुने पदार्थ पञ्चगव्य (दूध, दही, घ्यू, गहुँत र गोबर) का रूपमा धार्मिक कार्यमा शुद्धिका लागि प्रयोग गरिन्छ। यस्तैगाईदानको ठूलो महत्त्व छ। देवकार्य वा पितृकार्य गर्दा गोदान नगरी शुद्ध भएको मानिँदैन।
कृषिकर्ममा गाईबाट प्राप्त हुने गोबर र गोमूत्रलाई मलका रूपमा प्रयोग गरिन्छ।
वैदिक सनातन हिन्दु धर्मावलम्बीले गर्ने प्रत्येक कर्ममा गाईदान गर्ने विधि छ । पछिल्लो समय गाईको अभावमा पैसा राखेर गाईको अभावमा भनी सङ्कल्प पढिन्छ । गाईलाई गौमाताका रूपमा सम्मान पनि गरिन्छ । गाईलाई सम्मानका साथ राष्ट्रिय जनावरका रूपमा राखिएको छ ।
आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षा बन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास समेत रहेको छ ।


















