काठमाडौं, ९ कार्तिक । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का लागि समानुपातिकतर्फ दलहरुबाट पेश भएका मध्ये ५ सय ५० जनाको उम्मेद्वारी रद्द भएको छ ।
निर्वाचन आयोगमा पेस भएका बन्दसूचीमा नाममा परेका दाबी विरोधको जाँचबुझ, जरिवाना नतिरेका, लाभको पदमा रहेका र कालोसूचीमा रहेका व्यक्तिको उम्मेद्वारी रद्द भएको आयोगले जनाएको छ ।
यही कात्तिक ८ गतेको आयोग र उक्त प्रणालीको मुख्य निर्वाचन अधिकृतको कार्यालयको निर्णयबाट ती नाम बन्दसूचीबाट हटाइएको हो । उक्त प्रणालीतर्फ ६ हजार ४सय ५७ जना उम्मेदवार रहेकामध्ये निर्वाचन कानुन तथा निर्वाचन आचारसंहिता बमोजिम तोकिएको जरिवाना नबुझाउने ३ सय ६९, उम्मेदवारका सम्बन्धमा परेको दाबी विरोध उपर जाँचबुझबाट गरी ५ सय ४८ र समानुपातिक निर्वाचन प्रणालीतर्फको मुख्य निर्वाचन अधिकृतको कार्यालयको निर्णयबाट लाभको पदमा बहाल रहेका एक र कालोसूचीमा रहेका एक गरी कूल ५ सय ५० व्यक्तिको नाम सम्बन्धित दलले पेस गरेको बन्दसूचीबाट हटाइएकोे छ ।
प्रतिनिधिसभाको समानुपातिकतर्फ बन्दसूचीबाट हटेका २०३ जना उम्मेदवारको नामावली हेर्न तल क्लिक गर्नुहोस्ः
प्रतिनिधिसभाको समानुपातिकतर्फ बन्दसूचीबाट हटेका २०३ जना उम्मेदवार
प्रतिनिधिसभा सदस्य वा प्रदेशसभा सदस्यका लागि दलहरूले पेस गरेको बन्दसूचीमा समावेश भएका उम्मेदवारको सम्बन्धमा जाँचबुझ गर्दा दाबी विरोधमा उजुरी नपरेका कतिपय व्यक्तिले स्थानीय तह सदस्य निर्वाचन २०७९ मा उम्मेदवार भई निर्वाचन खर्चको विवरण पेस नगरेको पाइएको र २०७९ कात्तिक पाँच गतेभित्र तोकिएको जरिवाना बुझाउने मौका प्रदान भएकोमा सो अवधिभित्र समेत जरिवाना नबुझाउने ३ सय ६९ जनाको नाम सम्बन्धित दलले पेस गरेको बन्दसूचीबाट हटाउने निर्णय भएको हो ।
प्रदेशसभाको समानुपातिकतर्फ बन्दसूचीबाट हटेका ३ सय ४७ जना उम्मेदवारको नामावली हेर्न तल क्लिक गर्नुहोस्ः
प्रदेशसभाको समानुपातिकतर्फ बन्दसूचीबाट हटेका ३ सय ४७ जना उम्मेदवार
यस्तै बन्दसूचीमा समावेश रहेकामध्ये २०७९ असोज २ गतेसम्म २५ वर्ष उमेर नपुगेका प्रतिनिधिसभा सदस्यतर्फ २३ र प्रदेशसभा सदस्यतर्फ २९ गरी ५२, दोहोरो उम्मेदवारी परेका ६६, महिला पुरूषको विवरण फरक परेका ३७, कुनै गाउँपालिका वा नगरपालिकाको मतदाता नामावलीमा नाम नभएका प्रतिनिधिसभातर्फका ६, सम्बन्धित प्रदेशभित्रको मतदाता नामावलीमा नाम नभएका प्रदेशसभातर्फका १२ र आवश्यक कागज प्रमाण पेस नभएका ६ जनाको नाम पनि सम्बन्धित दलले पेस गरेको बन्दसूचीबाट हटाइको छ ।


















