दमक(झापा), ७ मङ्सिर । झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा विजयी हुनुभएको छ।
कांग्रेस महामन्त्री शर्मा ३९ हजार ६ सय २४ मत ल्याएर विजयी हुनुभएको हो।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का अग्नि खरेलले २५ हजार ३ सय ४९ मत पाउनुभएको छ। खरेलभन्दा १४ हजार २ सय ७५ मत बढी ल्याएर शर्मा विजयी हुनुभएको हो।
२०७० मा एमालेका नेता रबिन कोइराला र २०७४ सालमा वाम गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका नेकपा (माओवादी केन्द्र)का राम कार्कीसँग शर्मा पराजित हुनुभएको थियो।
विश्वको उदय
कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा प्रखर वक्ता र साहित्यकार पनि हुनुहुन्छ । विद्यार्थी जीवनदेखि नै अरुसँग सहकार्य र मेलमिलापको वातावरण बनाउन खप्पिस नेता शर्माको यही गुणले अहिलेको विजय चुम्न सफलता मिलेको हो ।
झापाको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनपछि हुने अस्वस्थ राजनीतिलाई अन्त्य गर्दै शर्माले अन्य विचार राख्ने विद्यार्थी नेतालाई स्वागत गरेपछि क्याम्पसको वातावरण नै बदलियो । आपसी विवाद नहुँदा क्याम्पसमा पढ्ने वातावरण पनि सहज बन्यो । स्ववियु सभापति हुँदा शर्माले बसालेको सौहार्दताको वातावरण पछि पनि कायम रह्यो ।
कांग्रेसको राजनीतिमा धेरै उतारचढाव भोग्दै अगाडि बढ्नुभएका शर्मामा आफू हारे पनि विजयी हुनेलाई माला लगाएर बधाइ दिने संस्कार छ । कांग्रेसको जिल्ला सभापति वा संविधान सभाको निर्वाचनमा पराजित हुँदा होस्, उहाँ ‘हार र जीत’ लाई सहजरूपमा लिने नेता पनि हुनुहुन्छ ।
शर्मा विद्यालय एकाइ सभापतिदेखि नेविसंघको केन्द्रीय सभापतिको जिम्मेवारीसम्म पुग्ने कमै नेतामध्ये एक हुनुहुन्छ ।
उहाँ २०५७ मा नेविसङ्घको सभापति निर्वाचित हुनुभयो । कार्यकाल पूरा हुनुअघि नै महाधिवेशन गराउने नेविसङ्घको पहिलो सभापतिको श्रेयसमेत शर्मालाई जान्छ ।
अरुको दुःखमा सधैं साथ र सहयोग गर्ने बानीले उहाँलाई यस पटकको निर्वाचनमा विजयी हुन धेरै सहयोग पुगेको हुनुपर्छ । पार्टी सभापति शेरबहादुर देउवाले उहाँलाई पार्टी प्रवक्ताको जिम्मेवारी दिएपछि उहाँ आफ्नो कुशलता देखाउन सफल हुनुभयो ।
उहाँ कांग्रेसको केन्द्रीय सदस्य हुँदै निर्वाचित महामन्त्रीको जिम्मेवारीमा हुनुहुन्छ ।
शर्माको सङ्घीय संसद् प्रवेश भने नयाँ हो ।


















