Prakash Adhikari December 1, 2022

बेइजिड.(चीन), १५ मंसिर (बीबीसी) । तिआनआनमेन स्क्वायरमा भएका प्रदर्शनपछि सत्तामा पुगेका चिनियाँ पूर्वराष्ट्रपति जियाङ जमिनको ९६ वर्षको उमेरमा निधन भएको छ।

चिनियाँ समय अनुसार बुधवार अपराह्न १२ बजेपछि साङ्घाइमा उहाँको निधन भएको थियो।

जियाङले नेतृत्व गरेको समयमा चीनले व्यापक रूपमा खुलापन अँगालेको थियो र तीव्र गतिमा आर्थिक वृद्धि हासिल गरेको थियो।
कोभिडविरुद्ध प्रतिबन्धहरूलाई लिएर चीनले तिआनआनमेन स्क्वायरमा भए प्रदर्शनयताकै गम्भीरमध्येका प्रदर्शनहरू झेलिरहेका बेला उहाँको निधन भएको छ।

मृत्युको कारण
लूकिमिआ र विभिन्न अङ्गले काम गर्न छोडेका कारण पूर्वनेता जियाङको निधन भएको चिनियाँ कम्युनिस्ट पार्टीले एउटा वक्तव्यमार्फत्‌ जनाएको छ।

पार्टीले उहाँलाई “उच्च सम्मान भएका एक उत्कृष्ट नेता” एवं “लामो समय परीक्षित कम्युनिस्ट लडाकु”का रूपमा चित्रण गरेको छ।

उहाँको सम्मानमा द ग्लोबल टाइम्स र सिन्हुआ समाचारसंस्था सहितका सरकारी सञ्चारमाध्यमहरूले वेबसाइटलाई श्यामश्वेत रङ्गका बनाएका छन्।

सरकारी टेलिभिजन सीसीटीभीले सन् १९८९ मा बेइजिङस्थित तिआनआनमेन स्क्वायरमा भएका रक्तपातपूर्ण प्रदर्शनपछि निर्वाह गरेको भूमिकाका लागि जियाङको प्रशंसा गरेको छ।

उहाँको नेतृत्वकालमा अर्थतन्त्रले फड्को मार्‍यो भने कम्युनिस्ट पार्टीले सत्तामा पकड दह्रो पार्‍यो अनि अन्तर्राष्ट्रिय मञ्चमा शक्तिशाली स्थान बनाउन चीन सफल देखियो।

उहाँको कार्यकालमै सन् १९९७ मा शान्तिपूर्ण रूपमा हङ्‌कङको हस्तान्तरण भयो र सन् २००१ मा चीन विश्व व्यापार सङ्गठनमा प्रवेश गर्‍यो।

देङ र जमिन

देङ र जमिन

जियाङ जमिनको उदय
जियाङ सन् १९८९ को तिआनआनमेन स्क्वायर भएको रक्तपातपूर्ण आन्दोलनपछि चीनका नेता बनेका थिए।

चीनले पश्चिमसँग सम्बन्ध सुधारेर विश्वव्यापी महाशक्ति बन्न सफल भएको र चीनमा एक दशकको तीव्र आर्थिक वृद्धि तथा समृद्धिको नेतृत्व गरेकोमा उहाँलाई सम्झिनेछ।

विश्व व्यापार सङ्गठनमा चीनको प्रवेश र ब्रिटेनबाट चीनलाई हङ्‌कङको हस्तान्तरणजस्ता उल्लेखनीय घटनाका उहाँ साक्षी रहनुभयो।

तिआनआनमेन स्क्वायरको विरोध प्रदर्शनपछि चीनको नेतृत्व गर्न जियाङलाई छनोट गरिएको थियो।

त्यसले व्यापक लोकतन्त्रतर्फको आन्दोलन स्वीकार्य छैन भन्ने सन्देश चिनियाँ जनतामा पुगेको थियो।

संयोग कस्तो परेको छ भने उहाँको मृत्यु पनि तिआनआनमेनपछि चीनमा पहिलो पटक अहिले ठूलो मात्रामा प्रदर्शन भइरहेका बेला भएको छ। त्यहाँ हाल कोभिड प्रतिबन्धनविरुद्ध गम्भीर प्रदर्शनहरू भइरहेका छन्। उहाँलाई धेरैले प्रेमपूर्वक सम्झेका छन्। युवाहरूले त उहाँलाई चीन अझ थप अधिनायकवादी र बन्द समाजमा रूपान्तरित हुँदै गर्दाको बेलाका रङ्गीन मिजासका व्यक्तित्वको रूपमा हेरेका छन्।

जियाङको जन्म
जियाङको जन्म १७ अगस्ट १९२६ मा चीनको पूर्वी तटीय प्रान्त जियाङ्सुको याङ्झाउ सहरमा भएको थियो।

उहाँ हुर्किँदै गर्दा त्यो क्षेत्र जापानी कब्जामा रहेको थियो। अन्ततः उहाँले इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक गर्नुभयो।

कलेज पढ्दा २१ वर्षको उमेरमा उहाँ कम्युनिस्ट पार्टीको सदस्य बन्नुभएको थियो।

उहाँको परिवारको कुनै क्रान्तिकारी विरासत नभएकाले माओत्सेतुङको बारम्बारको सफायाका बेलामा आफ्नो पृष्ठभूमिका कारण उहाँले पीडा भोग्न सक्नुहुन्थ्यो।

तर उहाँले आफ्नो प्रारम्भिक करियरको धेरै वर्ष विदेशमा बिताउनुभयो।

उहाँले मस्कोमा सोभियत कार कारखानामा प्रशिक्षण लिनुभयो र पछि रोमानियामा कूटनीतिज्ञका रूपमा काम गर्नुभयो।

सन् १९८० सम्म उहाँ इलेक्ट्रोनिक्स उद्योग मामिला हेर्ने मन्त्री बन्नुभयो।

त्यसपछि उहाँ साङ्घाईमा पार्टी प्रमुख बन्नुभयो तर त्यस बेलासम्म उहाँले राष्ट्रिय मामिलामा गहिरो छाप छाड्न सक्नुभएन।

वर्तमान राष्ट्रपतिसँग जमिन

वर्तमान राष्ट्रपतिसँग जमिन

ख्यातिको कारण दमन
तिआनआनमेन स्क्वायरको विरोध प्रदर्शनले उहाँलाई ख्याति दिलाएको थियो।

युवा प्रदर्शनकारीहरूले तिआनआनमेन स्क्वायर कब्जा गर्दा त्यसलाई कसरी सम्हाल्ने भन्ने कुरामा राष्ट्रिय नेताहरू अलमलमा पर्दा जियाङले त्यसअघि नै साङ्घाईमा त्यस्तैखाले विरोधको सामना गरिसक्नुभएको थियो।

उहाँले विरोध प्रदर्शनलाई उत्तेजित पारेको महसुस गरिएको अखबार बन्द गरिदिनुभयो र गेटिसबर्ग मन्तव्यको अंश उद्धृत गर्दै विद्यार्थीहरूलाई अङ्ग्रेजीमा सम्बोधन गरेर अवाक बनाइदिनुभयो।

प्रदर्शनहरू बल प्रयोग नगरी शान्त पारिएको थियो र त्यो पाठ तत्कालीन चिनियाँ नेता देङ सियाओपिङले सिक्न सक्नुभएको थिएन।

देङ झगडा गर्ने गुटहरू मध्येबाट उत्तराधिकारी छनोट गर्न बाध्य हुनुभयो।

उहाँले कट्टरपन्थीहरूलाई साथ दिनुभयो उदारवादीहरूलाई हटाएर जियाङलाई कम्युनिस्ट पार्टीको महासचिवको रूपमा नियुक्त गर्नुभयो।

उहाँले जियाङलाई प्रभावकारी रूपमा आफ्नो समर्थक र उत्तराधिकारीको रूपमा चिनाउनुभयो। जियाङको असहमतिको दृष्टिकोण प्रखर थियो।

“लोकतन्त्र र मानवअधिकार दुवै सापेक्षिक अवधारणा हुन्, पूर्ण र सामान्य होइनन्”, उहाँले भन्ने गर्नुहुन्थ्यो। सुरुमा धेरैले उहाँको नेतृत्व क्षमतामाथि प्रश्न उठाएका थिए तर कालान्तरमा उहाँले त्यसलाई गलत साबित गरिदिनुभयो।

अत्यावश्यक सुधारको गति सुस्त हुन सक्छ वा रोकिन सक्छ भन्ने चिन्ताले देङले जियाङको जोसप्रति आपत्ति व्यक्त गर्न थाल्नुभएको थियो।

तर जियाङले आर्थिक सुधारको नयाँ अवधारणलाई समर्थन गरिदिनुभयो। त्यसपछि चीन परम्परागत केन्द्र नियन्त्रित अर्थतन्त्रबाट बाहिर निस्कियो।

पुँजीवादको लागि नयाँ प्रतिबद्धता आए यद्यपि बजार अर्थशास्त्रको एउटा शैली अन्तर्गत त्यहाँ अझै पनि सरकारको नियन्त्रणमा कायम छ।

 ब्रिटेन भ्रमणमा जमिन

ब्रिटेन भ्रमणमा जमिन

राष्ट्रपति पद
सन् १९९३ सम्ममा जियाङले औपचारिक रूपमा राष्ट्रपतिको रूपमा पदभार ग्रहण गरिसक्नुभएको थियो। पहिले नै उहाँ सैन्य आयोगको प्रमुखको रूपमा नियुक्त भइसक्नुभएको थियो।

त्यसको अर्थ उहाँ राज्यका तीनवटै शक्तिशाली कार्यालयहरूमा उपस्थित हुनुहुन्छ भन्ने थियो।

फेब्रुअरी १९९७ मा देङको मृत्यु हुँदासम्म जियाङलाई स्थापित हुनका लागि पर्याप्त समय दिइएको थियो।

उहाँले आफूलाई पार्टीभित्र पनि बलियो बनाउँदै लग्नुभएको थियो र ताइवानप्रति कडा नीति लिनुभएको थियो।

देशभित्र आफ्नो प्रभुत्व स्थापित गरेपछि उहाँले विदेशमा चीनको कद बढाउने काम थाल्नुभयो।

सन् १९९९ मा उहाँले गरेको ब्रिटेन भ्रमण अत्यन्त विवादास्पद भएको थियो।

उहाँले अमेरिकाको पनि धेरै पटक भ्रमण गर्नुभयो र विश्व व्यापार सङ्घमा चीनलाई सामेल गराउनुभयो।

सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएको आतङ्ककारी हमलापछि अमेरिकाले सुरु गरेको ‘आतङ्कवादविरुद्धको लडाइँ’मा उहाँले गरेको प्रस्तावले अमेरिकासँगको मित्रताको झल्को दिन्छ।

उहाँले नोभेम्बर २००२ मा हु जिन्ताओलाई पार्टी प्रमुखको पद दिएपछि नेतृत्वको सङ्क्रमण सुरु भयो। हु मार्च २००३ मा जियाङको उत्तराधिकारी बन्नुभयो।

सेप्टेम्बर २००४ मा जियाङले चीनको सशस्त्र सेनासम्बन्धी आयोगको अध्यक्षको रूपमा आफ्नो अन्तिम प्रमुख राजनीतिक पदबाट राजीनामा दिनुभयो।

अमेरिकी समकक्षीसँग जमिन

अमेरिकी समकक्षीसँग जमिन

अवकाश जीवन
सत्ताबाट पूर्ण रूपमा बाहिरिएपछि उहाँ वर्षौँसम्म सार्वजनिक रूपमा विरलै देखिनुभयो।

उहाँले सन् २००८ मा बेइजिङ ओलम्पिकको उद्घाटन समारोहमा उपस्थिति जनाउनुभएको थियो।

उहाँ चिनियाँ राजनीतिमा प्रभावशाली हुनुहुन्थ्यो र सन् २०१२ मा नेतृत्वको उत्तराधिकारीसम्बन्धी प्रश्नमा भएको बहसका बेला पुनः प्रभावशाली देखिनुभयो।

श्रीमती र दुई छोराहरूका साथ रहनुभएका उहाँ अन्तिम पटक सन् २०१९ मा सार्वजनिक रूपमा देखा पर्नुभयो।

त्यसबेला उनी जनवादी गणतन्त्र चीन स्थापनाको ७०औँ वार्षिक उत्सवमा सहभागी हुनुभयो।

गत अक्टोबरमा कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशनमा उहाँको अनुपस्थिति उहाँँ अस्वस्थ रहेको सङ्केतका रूपमा हेरिएको थियो।

 

Share Now

Leave a comment.