Prakash Adhikari December 5, 2022

चरिकोट(दोलखा) । दोलखाबाट प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका गंगा कार्की निर्वाचित हुनुुभएको छ भने प्रदेश (ख)मा नेपाली कांग्रेसका कुन्दनराज काफ्ले ।

माओवादी केन्द्रका कार्की ५ सय १८ मत अन्तरले एमालेका बालकृष्ण शिवाकोटीलाई पराजित गर्दै प्रतिनिधि सभामा निर्वाचित हुनुभएको हो ।

कार्कीले ३६ हजार ९ सय ९५ मत पाउँदा उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ३६ हजार ४ सय ७७ मत पाउनुभएको छ ।

कार्कीको जितसँगै माओवादी केन्द्रले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १८ सिट पुर्याएको छ ।

मंसिर ४ गतेको निर्वाचनमा बढी मत खसेका दोलखाका १० क्षेत्रमा मंसिर १५ गते पुनः निर्वाचन भएको थियो ।

प्रदेश सभामा काफ्ले र केसी निर्वाचित

दोलखाको प्रदेश सभा (क) बाट भने नेपाली कांग्रेसका उम्मेदवार कुन्दनराज काफ्ले निर्वाचित हुनुभएको छ । कांग्रेस केन्द्रीय सदस्य काफ्ले, नेकपा एमालेका उम्मेदवार नरबहादुर श्रेष्ठलाई ७ हजार ८ सय ७५ मत अन्तरले पछि पार्दै निर्वाचित हुनुभएको हो । उहाँले २३ हजार २ सय३१ मत पाउनुभएको छ । नेकपा एमालेका श्रेष्ठले मत १५ हजार ३ सय ५६ मत पाउनुभएको छ ।

प्रदेश सभा २ मा नेकपा एमालेका उम्मेदवार भरतबहादुर केसी निर्वाचित हुनुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाका अनुसार केसी १९ हजार ४ सय १४ मत प्राप्त गरी प्रदेश सभा सदस्य निर्वाचित हुनुभएको छ भने निकटत प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बर्मा लामाले १७ हजार ५ सय ९५ मत पाउनुभएको छ ।

 

 

Share Now

Leave a comment.